राम्रा कामलाई निरन्तरता दिनुपर्छ : प्रदेश प्रमुख कलौनी

सुर्खेत : प्रदेश सरकारले अघि सारेका राम्रा कार्यक्रमलाई निरन्तरता दिन कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आग्रह गरेका छन् । प्रदेश सरकार गठन भएको दुईवर्ष पुगको अवसरमा शनिबार आयोजितकार्यक्रममा उनले राम्रा कार्यक्रमलाई निरन्तरता दिएर समयमै बजेट खर्च गर्नगरी कार्ययोजना बनाउन आग्रह गरेका हुन् ।

उनले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबैको सुझाव लिन सके कार्यान्वयनमा सजिलो हुने बताए । प्रदेश प्रमुख कलौनीले प्रदेश संरचना नौलो भएकाले साधन स्रोत, भौतिक पूर्वाधार र आवश्यक कानून अभावका कारण केही बिलम्ब हुनु स्वभाविक भएको उल्लेख गरे । ‘आफ्नो जग आफै खडा गर्दै अघि बढ्नु परेको छ, यस्तो अवस्थामा सोचेजस्तो काम गर्न सकिँदैन्,’ उनले भने, ‘प्रदेश सरकारले जिल्ला–जिल्लामा आफ्ना संरचनाहरु स्थापना गरेर जनताको अपेक्षाप्रति गाम्र्भियता देखाएको छ, जुन प्रशंसनीय छ ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले ‘समृद्ध कर्णाली : सुखारी कर्णालीबासी’ बनाउने दीर्घकालिन सोचलाई सार्थक तुल्याउन सामाजिक सुरक्षा, पूर्वाधार विकास र सुशासनका आधारहरु निर्माण गरेको जानकारी दिए । उनले कर्णालीको विकास मोडल अन्य प्रदेशभन्दा फरक हुन आवश्यक रहेको भन्दै विज्ञ समूह लगायतका सरोकारवालाको सुुझावका आधारमा योजना निर्माण तथा कार्यान्वयन भइरहेको बताए ।

‘कर्णालीको विकास प्रदेश सरकारको लगानीबाट मात्र सम्भव छैन्, यसका लागि निजी लगानीकर्ता एवं विकास साझेदारहरुको लगानी भित्र्यउन चाहान्छौं,’ उनले
भने, ‘ठूला आयोजनाहरुको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि विदेशी निर्माण कम्पनीहरुलाई नेपाल सरकारमार्फत अनुरोध गरेका छौं ।’
प्रदेश सरकारले दुई वर्षको अवधिमा कानूनी, सांगठनिक संरचना निर्माण एवं जनशक्ति व्यवस्थापन गरिसकेकाले बाँकी तीन वर्ष पूर्वाधार निर्माणमा केन्द्रीत हुने मुख्यमन्त्री शाहीको भनाइ छ ।

२०७४ फागुन ३ गते नियुक्त भएका मुख्यमन्त्री शाहीले फागुन ६ गते मन्त्रिमण्डल गठन गरेका थिए । समारोहमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रदेश सरकारले सङ्घीय व्यवस्थाको जग हाल्ने काम गरेको बताए । उनले सरकारलाई आवश्यक पर्ने कानून निर्माण गर्ने, सरकारका कामको निगरानी गरेर एवं सल्लाह–सुझाव दिएर सरकारलाई प्रदेशसभाले सहयोग गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया