खाडामा ठडियो जलेको बस्ती

कालिकोट : आगलागीबाट खण्डहर बनेको कालिकोटको खाडागाउँमा बस्ती निर्माण भएको छ । अघिल्लो वर्ष आगलागीमा खरानी भएको बस्ती पुर्ननिर्माण भएको हो ।
अघिल्लो वर्ष पुस ८ गते राती भएको भिषण आगलागीबाट यहाँको गाउँ नै खरानी बनेको थियो ।

पलाता गाँउपालिका वडा नं. १ खाडागाँउमा ३२ घर जलेर खरानी भएका थिए । घर जलेपछि स्थानीयहरु छिमेकी र आफन्तको शरणमा थिए । प्रदेश सरकार र बिभिन्न स्थातीय तहको सहयोगमा २६ वटा घरहरु पुननिर्माण भएका छन् ।  आगलागीले खरानी भएको खाडामा भुकम्पप्रतिरोधि नमुना घरहरु बनेका हुन् । घरमा जस्ता पाता पनि लगाइएको छ । यसअघि खरले छाएका घरमा आगोले खाएको थियो ।

आगलागी भएको एकवर्ष वितेसँगै बस्ती पनि ठडिएको हो । पलाता गाँउपालिकाले निर्माण गरेको युवा विकास कार्यदलको टालीले निर्धारित समयमा नै बस्ती निर्माण कार्य सम्पन्न गरेको हो । बिष्णुऋषि न्यौपानेले आगलागीले खरानी भएको खाडागाउँमा बस्ती पुर्ननिर्माण भएपछि गाँउको स्वरुप नै बदलिएको बताए । उनले आफुहरुले घर जलेपछि छिमेकीको घरमा आश्रय लिएर एकबर्ष बिताएको पीडा पनि सुनाए ।

अव नमुना घरमा बस्न पाउने भएपछि निकै खुसी लागेको उनको भनाइ छ । आगलागी पीडित कुसराज न्यौपानेले आफुहरुले कष्टकर दिनहरु पार गरेको बताए । उनले गाँउमा सबैको सहयोगले खान तथा बासस्थानको जोहो भए पनि बस्ती नै पुर्ननिर्माण भएपछि आफ्ना दुखका दिनहरु फेरीएको महसुस भएको बताए । अर्का आगलागीपीडित दिप न्यौपाने घर बनेपछि पनि खुसी छन् ।

उनको गाँउको बीचमा रहेको दुइतले खरले छाएको घर खरानी भएको थियो । गोठका गाइबस्तु पनि जलेका थिए । घर जलेपछि उनले छिमेकीको गोठमा बसरे एकबर्ष कटाएका हुन् । तर अब उनी यही फागुन १ गतेबाट आफ्नै घरमा बस्ने भएका छन् । उनको पनि पहिलेको भन्दा राम्रो घर निर्माण भएको छ । पलाता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले प्रदेश सरकारको सहयोगमा बनेका २६ वटा नमुना घरहरु निर्माण भएपछि स्थानीयलाई हस्तान्तरण गरिने बताए ।

उनले खाडामा जलेका ३२ घरहरु मध्ये ६ जनाको परिवार तराईतिर बसाई सरेर गएकाले २६ वटा परिवारको लागि मात्र घरहरु निर्माण गरिएको बताए । खाडामा नमुना बस्ती निर्माणका लागि गाँउपालिकाको निर्माण कार्यदलमा आबद्ध एकसय जना युवाहरु र अन्य क्षेत्रबाट ३० जना मिस्त्री लगाएर बस्ती पुर्ननिर्माणको काम पुरा गरेको बताए । उनकाअनुसार खाडाको बस्ती पुर्ननिर्माणका लागि प्रदेश सरकारले प्रतिपरिवार पाँच लाख, इन्द्रेणी टिमबाट २४ लाख र जिल्लाका अन्य स्थानीय तहले पनि आर्थिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया