उद्योगविना कर्णालीको आर्थिक समृद्धि असम्भव : अध्यक्ष राणा

सुर्खेत : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योगहरुको विकासविना कर्णाली प्रदेशको आर्थिक समृद्धि असम्भव रहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष राणाले कर्णालीको आर्थिक समृद्धिका लागि उद्योगक्षेत्रको विकास आवश्यक रहेको बताइन् ।

‘औद्योगिक क्षेत्रको विकासविना कुनै पनि क्षेत्रको आर्थिक समृद्धि सम्भव छैन’ उनले भनिन्, ‘कर्णालीमा जडिबुटी उद्योग र पर्यटन क्षेत्रबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’ कर्णालीमा जडिबुटी र पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको उल्लेख गर्दै राणाले पर्यटकीय क्षेत्रको पूर्वाधार र महंगीलाई कम गर्न सकिएमात्रै पर्यटकहरु आउने बताइन् । भौगोलिक विकटता, हवाई क्षेत्रको महंगीकै कारण कर्णालीमा आउन चाहने विदेशी पर्यटकहरु पनि अन्य क्षेत्रमा जानबाध्य हुने राणाको भनाइ छ ।

त्यस्तै अर्काे प्रशङ्गमा अध्यक्ष राणाले बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभिनुपर्ने धारणा राखिन् । कर्णाली प्रदेशको प्रवेशद्वारा नै बाँके र बर्दिया भएको उल्लेख गर्दै उनले कर्णालीको औद्योगिक क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको उनको भनाइ छ । त्यस्तै उद्योग वाणिज्य संघका केन्दीय सदस्य निरक केसीले कर्णालीको आर्थिक विकासमा प्रदेश सरकार र नीजि क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया