करोडभन्दा बढी खर्च गर्दा पनि बिजुली आएन

जुम्ला : जुम्लाको हिमा लघु जलविद्युत आयोजनमा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएपनि भौतिक प्रगति निकै कमजोर देखिएको छ । लाखौं‌ रुपैयाँ खर्चिएपनि अहिलेसम्म आयोजनाको १० प्रतिशत काममात्र सकिएको छ ।

२०७१ सालदेखि नै ३५ किलोवाट क्षमताको यो आयोजना निर्माण थालिएपनि अहिलेसम्म स्थानीयले बत्ती बाल्न पाएका छैनन्न् । कामको गति हेर्दा बर्षौंसम्म पनि आयोजना निर्माण पूरा नहुने देखिन्छ । जुम्लामा रहेको क्याप्टा नामक संस्थाले २०७१ सालदेखि कनका सुन्दरी गाँउपालिका वडा नम्बर ५ लौडीसिमा यो आयोजना निर्माण थालेको थियो ।

सो संस्थाले साविकको बिराट गाविसको लुड्कु, लार्ज र गोचौरमा पर्ने वडा नम्बर ४, ५ र ७ मा रहेका ५०० बन्दा बढी घर परिवारलाई विद्युत सुविधा दिने भन्दै प्रत्येक घरधुरीबाट २ हजार रुपैयाँका दरले तीन लाख १५ हजार नौ सय रुपैयाँ समेत संकलन गरेको थियो । बिजुलीबत्ती कुरिरहेका स्थानीयको वस्ती । यतिमात्रै होइन, एक एनजीओले लघुजलविद्युत निर्माण गर्ने भन्दै रकम मागेपछि साविकको विराट गाविसबाट २० लाख, सोही गाविसको ५ र ६ वडा बाट १८ लाख, संसद कोषबाट १७ लाख रुपैयाँ समेत उपलब्ध गराइएको थियो ।

कनका सुन्दरी गाउँपालिकाले आर्थिक बर्ष २०७५र०७६ मा यही आयोजनाका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको थियो। कामै नभएपनि यो आयोजनाले अहिलेसम्म १ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम खर्चेको हिसाब देखाएको छ । आयोजना बनाउन भन्दै क्याप्टाले काठमाडौंस्थित एजी पावर कम्पनीलाई आवश्यक सामग्रीका लागि भुक्तानी भन्दै ४३ लाख रुपैयाँ रकम समेत दिएको थियो ।

तर अहिलेसम्म खर्च भएको भनिएको १ करोड ३५ लाख रुपैयाँबाट नहर (कुलो) बनाउने, केही मेशिन औजार उपकरण खरिद गर्ने, बस्तीमा तार र पोलको लाइन तान्ने काममात्र भएको छ । आयोजना निर्माणको महत्वपूर्ण काम हुनै बाँकी छ। ढिलाइबारे सोध्दा उक्त आयोजनामा पटक–पटक कोषाध्यक्ष बनेका जगबहादुर शाहीले कुनै प्रतिक्रिया दिनै मान्दैनन् ‌।

स्थानीय सरकार र जनप्रतिनिधिहरुको गैरजिम्मवारी र लापरवाहीका कारण आयोजना बनाउने बजेट नै स्वाहा भएपछि स्थानीय दुस्खी छन् ‌। अलपत्र अवस्था रहेको आयोजनाका लागि बनाइएको नहर । तर स्थानीय सरकारका प्रतिनिधिहरुले भने आफ्नो पालामा आयोजनाको काम निकै अघि बढेको दाबी गर्छन्‌। आयोजना निर्माणमा भएको प्रगति प्रतिवेदन बिनै गाउँपालिका अध्यक्ष नरबिर रावतले ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका छन्‌ र भुक्तानी समेत गरिसकेका छन्न् ।

आयोजना कुरेर बसेका स्थानीयले जनप्रतिनिधिहरुको लापरवाही र कमजोरीकै कारण आयोजना नै नबन्ने जोखिम बढेको बताउन थालेका छन् ‌। आयोजनना निर्माण गर्ने भन्दै ६ वर्ष अघि ल्याइएको सामान अहिले पनि खुला आकाशमुनि राखिएको छ । पावरहाउसमै प्रयोग गर्नुपर्ने सामानहरु खुला ठाउँमा राख्दा जेनेटर, तार, बोल्ट र अन्य सामानहरु खिइँदै गएका छन्न् ।

कतिपय उपकरण त खिया लागेर प्रयोगमै ल्याउन नमिल्ने अवस्थामा पुगेका छन् । आयोजना नबन्ने, तर आयोजनाकै लागि भएको बजेट सिध्याउने र नयाँ बजेट खर्चने प्रवृत्ति दोहोरिएकाले यो लघुजलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको स्थानीयवासीले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया