सम्पमदकीय : बुलबुलेको संरक्षण

सरकारले अहिले नेपाल भ्रमण वर्षको सुरुवात गरेको छ । भ्रमण वर्षको मुख्य उदेश्य भनेकै पर्यटक भित्राउने हो । नेपालमा पर्यटन उद्योगको सम्भावना धेरै छ ।औद्योगिकरण र बस्तु उत्पादनमा भन्दा नेपालले पर्यटकीय गतिविधिबाट बढी लाभ लिन सक्ने अवस्था छ ।

प्राकृतिक स्रोत र पर्यटकीय स्थलहरु धेरै छन् । तर तिनको विस्तार र संरक्षण हुन सकेको अवस्था छैन । आवश्यक पर्यटकीय पूर्वाधार र पर्यटकमैत्री वातावरण नहुँदा पर्यटन क्षेत्रले अपेक्षा अनुसार प्रगति गर्न सकेको छैन । पर्यटकीय दृष्टीले कर्णालीमा धेरै सम्भावना छन् । यहाँ पर्यटकलाई लोभ्याउने धेरै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरु पनि छन् ।

त्यसमा पनि सुर्खेतमा रहेको बुलबुले ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुले तालको बारेमा नसुन्ने र एकपटक अवलोकन गर्नका लागि इच्छा नराख्ने सायद कमै होलान् । तर चर्चाअनुसार भौत्तिक पूर्वाधार र संरक्षण नहुँदा पर्यटक एकपटक पुगेपछि पुनः अवलोकनका लागि पुग्ने आँट गर्न सक्दैनन् । जति चर्चा छ, त्यति पूर्वाधारको विकास नहुनु र संरक्षण अभावमा हालसम्म बुलबुलेले पर्यटकलाई आकर्षित गर्न भने सकिरहेको छैन ।

बुलबुलेको संरक्षण, विकास र प्रचारका लागि सरकारी प्रयासहरु कमजोर भए । यसैको परिणाम यसबाट पाउनुपर्ने लाभ हासिल गर्न नसकिएको अवस्था अहिले पनि छ । प्रमुख पर्यटकीय गन्तव्य भनिए पनि बुलबुलेमा स्थानीयले कपडा धुने र नुहाउने थलो बनेको छ । कतिपयले बुलबुले उद्यानभित्र वनभोज खाने गरेका छन् । जिल्ला बाहिरबाट आउनेहरुले बुलबुलेको बारेमा फरक कल्पना गर्छन् । तर जब उद्यानभित्र पुग्छन् कल्पना गरेअनुसारको भेटाउँदैनन् ।


यसकारण धेरैको गुनासो हुन्थ्यो, बुलबुले सोचजस्तो रहेनछ । तर पछिल्लो समय भने बुलबुले तालको स्वरुप नै परिवर्तन हुन लागेको छ । अर्थात् ताललाई फराकिलो बनाउन थालिएको छ । ताललाई विस्तार गरेर नियमित रुपमा डुंगा संचालनको तयारी पनि भइरहेको छ । यही लक्ष्य अनुसार यतिबेला बुलबुले तालको विस्तारका लागि धमाधम काम भइरहेको छ । विगतमा पनि तालमा पटकपटक डुंगा सञ्चालन नगरिएको पनि होइन ।

तर नियमित डुंगा सञ्चालन नहुनु र मुहानमा रहेका धाराहरुमा नुहाउनेको भीडले बुलबुले उद्यानमा घुम्न पुग्ने पर्यटकलाई आकर्षित गर्न सकेन । विशेषगरी नुहाएको र कपडा धोएको पानीले ताल फोहोर बन्ने गरेको छ । यसले समग्र उद्यानको स्वरुप नै कुरुप देखाउँछ । यसैकारण पनि अपेक्षाअनुसार पर्यटक आउँदैनन् । सरकारी प्रयासबाट पछिल्लो समय बुलबुले ताल र उद्यानले पनि आफ्नो स्वरुप बदल्ने संकेत देखिएका छन् । यो सकारात्मक पक्ष हो । प्रदेशको मुख्य पर्यटकीय स्थल बुलबुलेको संरक्षण र विकासमा अब ढिलाइ गरिनु हुँदैन ।

अहिले उद्यानलाई पर्खालले घेरिएको छ । यतिले मात्र यसको संरक्षण हुन सक्दैन । उद्यानको वरपर नीजि घरहरु निर्माण हुनेक्रम बढेको छ । यसले कतै भूमिगत पानीको स्रोत सुकेर बुलबुलेको तालको अस्तिव नै संकटमा पर्ने हो की भन्ने चिन्ता पनि बढेको छ । यसकारण बुलबुले ताललाई विस्तार गरेर मात्र हुँदैन, यहाँ पानीको स्रोतलाई दिर्घकालसम्म रहन दिनका लागि आवश्यक संरक्षण पनि आवश्यक छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार