काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सुरक्षा जाँच गरी जनतालाई सिंहदरबार छिर्न दिनुपर्ने बताएकी छन् ।
पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै उनले राष्ट्रिय परिचय पत्र (नागरिकता) देखाएपछि सुरक्षा चेकजाँच गरेर सिंहदरबार छिर्न दिनुपर्ने बताइन् । बुधबार प्रतिनिधिसभा संसदको शून्य समयमा बोल्दै चौधरीले भनिन्, ‘देशको केन्द्र सिंहदरबारभित्र जनताले काम गर्नुपर्ने र भेट गर्नुपर्ने छ। तर भित्रबाट पास दिनुपर्ने अनिवार्य व्यवस्था छ ।
पास लिने गर्दा धेरै समय जान्छ ।’ उनले दिनको दुई घण्टाका लागि भए पनि जनतालाई सिंहदरबार प्रवेश गर्न दिइनुपर्ने बताइन् । ‘दिनको दुई घण्टा राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गराएर जनतालाई सिंहदरबार प्रवेशको व्यवस्था मिलाउनुपर्छ,’ उनले भनिन्, ‘सिंहदरबार मेरो हो भन्ने अनुभूति पनि गराउँछ ।’
युग संवाददाता । । १ फाल्गुन २०७६, बिहीबार १३:३३