हिमपात रोकिएपछि जडिबुटी ढुवानी गर्न खच्चडलाई भ्याइनभ्याई

हुम्ला : जडिबुटी जिल्ला बाहिर निकासी हुन थालेपछि गाउँबाट सदरमुकाम सिमकोटसम्म जडिबुटी ढुवानी गर्न खच्चड व्‍यवसायीलाई भ्याइनभ्याइ भएको छ । लामो समय हिमपातपछि मौसममा सुधार आउँदा रोकिएको जडिबुटी ब्यापारीहरुले जिल्ला बाहिर ढुवानी गर्न थालेपछि गाउँ गाउँमा रहेको जडिबुटी सिमकोट ढुवानी गर्न थालिदा खच्चड व्‍यवसायीलाई कामको चटारो थपिएको हो ।

हिमपात कै कारण डेढ महिनासम्म काम गर्न नपाएका खच्चड व्‍यवसायीहरुले व्‍यापारीहरुको जडिबुटी जिल्ला बाहिर निकासी हुन थालेपछि गाउँगाउँबाट जडिबुटी ढुवानी गर्न भ्याइ नभ्याइ भएको खच्चड व्‍यवसायी भीमबहादुर शाहीले बताए । एक पटकमा एक वटा खच्चडले सत्तरी देखि असी केजीसम्म जडिबुटी ढुवानी गर्न सक्छन् ।
सात वटा खच्चड भएका शाहीले दैनिक साढे पाँच क्वीन्टलसम्म जुडिबुटी ढुवानी गर्ने गरिन्छ । जडिबुटी ढुवानी गर्ने दूरी हेरिप्रति केजी पन्ध्र रुपियाँ देखि सत्तरी रुपियाँसम्म पर्ने गरेको छ ।

अहिले दैनिक चौबीस हजार रुपियाँ खच्चडबाट जडिबुटी ढुवानी गरेर कमाइ हुने गरेको शाहीले बताए । एघार वटा खच्चड भएका जय बहादुर रोकायाको पनि लामो समय हिमपात पछि जडिबुटी ढुवानी गरेर कमाई सुरु भएको छ । डेढदेखि दुई महिनासम्म खच्चड पाल्ने काम मात्र भएपनि अहिले भने दैनिक बत्तीस हजार कमाई हुने गरेको उनले बताए ।

हिमपात पछि बाटोमा जमेको हिउँ पग्लिदा जडिबुटी ढुवानी गर्न सहज भएको र कमाई पनि राम्रो हुने गरेको उनले बताए । शाही र रोकाया दुई जना खच्चड ब्यबसायीले मात्र होईन एक दर्जन भन्दा बढी खच्चड व्यवसायीले हाल जडिबुटी ढुवानीको काम गर्दै आएका छन् । बिहान देखि बेलुकासम्म प्रतिदिन पचास साठी क्वीन्टल जडिबुटी सिमकोटमा ढुवानी हुने गरेको जडिबुटी ब्यापारी संघका अध्यक्ष राम बहादुर भण्डारीले बताए ।

उनका अनुसार हिमपात पछि मौसममा सुधार आउँदा जिल्ला बाहिर जडिबुटी ढुवानी कार्य सुरु हुँदा गाउँ गाउँमा रहेको पुरानो जडिबुटी ढुवानी गर्न खच्चड ब्यबसायीलाई भ्याई नभ्याई भएको छ । गाउँमा रहेको जटामासी, कुट्की र सेताक चिनी ढुवानी भइरहेको हो । बल्ल बल्ल जिल्लाबाट जडिबुटी निकासीका लागि बाटो खुलेपछि घाटामा गएका जडिबुटी ब्यापारीलाई राहत भएको छ भने जिल्लाका खच्चड ब्यबसायीले रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया