अमेरिकामाथि नेपालको कीर्तिमानी जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वा्धिक छिटो लक्ष्य पुरा गर्दै कीर्तिमानी जित निकालेको छ । विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो । नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए ।

अमेरिकाका केन्जिगेले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । अमेरिकाले बनाएको यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वा्धिक कम स्कोरको बराबर हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो । यस्तै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षीलाई सबैभन्दा कम बलमा अलआउट गर्ने कीर्तिमान पनि बनाएको छ ।

अमेरिकालाई ७२ बलमा अलआउट गरेर नेपालले कीर्तिमान रचेको हो । नेपाली स्पिनर बलर चम्किएपछि अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो । यस्तै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुशन भारीले ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया