सुर्खेत : बुलबुले ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुले तालको बारेमा नसुन्ने र एकपटक अवलोकन गर्नका लागि इच्छा नराख्ने कमै होलान् । तर चर्चाअनुसार भौत्तिक पूर्वाधार र संरक्षण नहुँदा पर्यटक एकपटक पुगेपछि पुनः अवलोकनका लागि पुग्ने आँट गर्न सक्दैनन् ।
अब भने बुलबुले तालको स्वरुप नै परिवर्तन हुन लागेको छ । अर्थात ताललाई फराकिलो बनाउने काम जारी छ । ताललाई विस्तार गरेर नियमित रुपमा डुंगा संचालनको तयारी भइरहेको छ । यही लक्ष्य अनुसार यतिबेला बुलबुले तालको विस्तारका लागि धमाधम काम भइरहेको हो । तालको विस्तार गरेर बुलबुले उद्यानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको हो ।
वगतमा पनि बुलबुले तालमा बाह्य र आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न पटकपटक डुंगा सञ्चालन गरियो । तर नियमित डुंगा सञ्चालन नहुनु र मुहानमा रहेका धाराहरुमा नुहाउनेको भीडले बुलबुले उद्यानमा घुम्न पुग्ने पर्यटक आकर्षित गर्न सकेन । नुहाएको र कपडा धोएको पानीले ताल फोहोर बन्यो । यसले समग्र उद्यानको स्वरुप नै कुरुप बनायो । यही अवस्थाका कारण अपेक्षाअनुसार पर्यटक नआएपछि हिजोआज यसको संरक्षण गर्न थालिएको हो । सरकारी प्रयासबाट पछिल्लो समय बुलबुले ताल र उद्यानले पनि आफ्नो स्वरुप बदल्ने संकेत देखिएका छन् ।
कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनलायले साविकको ताललाई विस्तार गरेर प्रमुख पर्यटकीय गन्तव्य बनाउने कामलाई यतिवेला तीव्रता दिएको छ । बुलबुले क्षेत्रको विकास गर्ने र बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ताल विस्तारको काम भइरहेको हो । ताललाई फराकिलो बनाएर नियमित डुंगा सञ्चालन गर्ने उदेश्यले विस्तारको काम जारी छ । साढे दुइ विगाह क्षेत्रफलमा फैलिएको ताल अब झण्डै दोब्बर ठूलो बन्नेछ ।
बुलबुले तालको गुरुयोजनाअनुसार ताललाई अब झण्डै चार विगाह क्षेत्रफमा विस्तार गर्न लागिएको छ । बुलबुले उद्यानलाई थप व्यवस्थित गर्नका लागि अहिले ताल विस्तारको काम जारी छ । विस्तारै उद्यान क्षेत्रमा अन्य कार्यहरु अघि बढाइने निर्देशनालयले जनाएको छ । तालको विस्तार पुरा भएपछि डुंगा नियमित संचालन गरेर पर्यटकको आकर्षणको केन्द्र बनाइने निर्देशनालयका सूचना अधिकारी शिखर चपाइँले जानकारी दिए । बुलबुले ताल विस्तार गर्ने जिम्मा अमर मजदुर जेभीले लिएको छ । २०७६ असार १७ गते तालको विस्तार गर्नेगरी सम्झौता भएको थियो ।
ताल विस्तारका लागि एक करोड ८० लाख ४९ हजार दुईसय पाँच रुपैयाँमा ठेक्का सम्झौता भएको छ । झण्डै ३२ विगाह क्षेत्रफल जग्गामा फैलिएको बुलबुले उद्यान क्षेत्रको वरिपरी पर्खाल निर्माणको काम भने सम्पन्न भएको छ । यस्तै उद्यानत्रि शौचालय र बगैचालाई व्यवस्थित गर्ने काम भने जारी छ ।
उत्तरी जलाधारको संरक्षण
सुर्खेत उपत्यकामा घर निर्माण बढ्दो छ । शहरिकरणसँगै पानीका मूहानहरु सुकदै गएका छन् । अहिले नै खानेपानीको अभाव बढ्दै गएको छ । उपत्यकामा खानेपानीको विकल्पमा भूमिगत पानीको प्रयोग भइरहेको छ । तर भूमिगत पानी पनि सबै स्थानमा उपलब्ध छैन ।
यही समस्या समाधानका लागि उपत्यकामा भूमिगत पानीको संरक्षण गर्न उत्तरी जलाधार क्षेत्रको संरक्षण गर्न लागिएको हो । ‘सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रको संरक्षण नभए भूमिगत पानी नै सुक्ने खत्तरा हुन्छ’ प्रदेशको वन तथा वातावरण निर्देशनालयका सूचना अधिकारी शिखर चपाइँले भने, ‘उत्तरी जलाधारको संरक्षण गर्न एक करोड बजेट विनियोजन गरिएको छ ।’
उपत्यकाको उत्तरी क्षेत्रमा रहेको जंगल संरक्षण गरेर भूमिगत पानीको स्रोतलाई जोगाउने प्रयास भइरहेको हो । भूमिगत पानी सुकेमा बुलबुले तालको भविष्य नै जोखिममा रहेकाले उत्तरी जलाधारको संरक्षण अत्यावश्यक रहेको चपाइँको भनाइ छ । उत्तरी जलाधारमा मुख्यगरी उपत्यकातर्फ भएर बग्ने खोलामा तटवन्धन र सुख्खा क्षेत्रमा लामो समयसम्म पानी रोकीराख्न तालहरु निर्माण गर्ने लगायतका कामहरु सञ्चालन गरिने छन् ।
अहिले बुलबुले उद्यानको पूर्व, पश्चिम र दक्षिणमा बस्ती विस्तारको क्रम बढ्दो छ । वीरेन्द्रनगर नगरपालिकाले भूउपयोग गुरुयोजना बनाइरहेकाले लागू भएमा ताल संरक्षणमा टेवा पुग्ने निर्देशनालयको भनाइ छ । निर्देशनालयले उत्तरी जलाधारको संरक्षण विना निकास खोलामा मात्रै विकास गर्दा मानविय र धनजनको ठूलो क्षती हुनसक्ने जनाएको छ ।
अब छुट्टै स्नानगृह बनाइने
बुलबुले उद्यानभित्र ताल क्षेत्रमा रहेका धारामा अचेल कपडा धुने र नुहाउनेको भीड हुन्छ । सार्वजनिक स्थलमा मानिसहरुले कपडा धुने र नुहाउनेक्रम बढेपछि यहाँ घुम्न आउने पर्यटक पनि खिन्न हुने गरेका छन् । तर अब नुहाउनका लागि उद्यानभित्र छुट्टै स्नानगृह निर्माण गरिनेछ ।
यसका लागि आवश्यक तयारी भइरहेको निर्देशनालयले जनाएको छ । बुलबुलेमा रहेका धारालाई व्यवस्थित गर्ने र स्नानगृहका लागि छुट्टै भवन बनाउने गृहकार्यमा वन तथा वातावरण निर्देशनालय जुटेको हो । ‘प्रमुख पर्यटकीय गन्तव्यको रुपमा बुलबुलेलाई विकास गर्न ताल विस्तारको काम जारी छ’ सूचना अधिकारी चपाइँले भने, ‘ताल विस्तार लगत्तै छुट्टै स्नानगृह बनाउन निर्देशनालये थप गृहकार्य अघि बढाउँदैछ ।’
‘बुलबुलेको मुख्य मुहानमा रहेका दुवै तर्फका धारालाई आकर्षण बनाउन अध्ययन गरिरहेका छौं’ चपाइँले भने, ‘डीप बोरिङ्गमार्फत पानी निकालेर भए पनि महिला र पुरुषका लागि अलग्गै स्थानमा नुहाउनका लागि उचित व्यवस्थापन गर्नेछौं ।’ उद्यानको विकासका लागि तत्कालिन सुर्खेत उपत्यका नगर विकास समितिले तयार गरेको गुरुयोजनानुसार बुलबुलेमा थप विकास गर्ने लक्ष्य निर्देशनालयको रहेको सूचना अधिकारी चपाइँले बताए ।
युग संवाददाता । । २९ माघ २०७६, बुधबार १४:१३