‘भ्रष्टाचारको नयाँ शैलीले नियन्त्रणमा चुनौति’ : कर्णाली प्रदेश प्रमुख कलौनी

सुर्खेत : भ्रष्टाचारमा देखा परेका नयाँ रुप र शैलीका कारण यसलाई नियन्त्रण गर्न चुनौति थपिएको कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँ–नयाँ उपायहरु एवं प्रविधिको प्रयोग गर्दा नियन्त्रणमा चुनौति देखापरेको बताएका हुन् ।

पछिल्लो समय आयोगको सक्रियता प्रशंसनीय रहेको प्रदेश प्रमुख कलौनीले बताए । आयोगले आफ्नो निष्पक्षता, क्रियाशिलता अझ बढाउन रचनात्मक र प्रविधिमैत्री बन्नुपर्ने बताउँदै उनले भ्रष्टाचारजन्य कार्यमा देखापर्ने अनेक रुप र शैलीलाई निस्तेज पार्न आयोगले राज्यका सबै निकाय, सर्वसाधारण समेत सक्रिय हुने अवस्था सिर्जना गर्न सुझाव दिए । भ्रष्टाचार हुनै नदिन आयोगले प्रर्वद्धनात्मक र निरोधात्मक कार्य गर्न पनि उनको आग्रह थियो । अख्तियारको सक्रियताले नै भ्रष्टाचार निवारणमा टेवा पुग्ने विचार व्यक्त गरे ।

भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । आयोगको सक्रियता प्रंशसायोग्य रहेको बताउँदै शाहीले प्रविधिको उच्चतम प्रयोग गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्न र नागरिक सचेतना पनि अभिवृद्धि गर्ने कार्यक्रमको सञ्चालन गर्न आग्रह गरे । मुख्यमन्त्री शाहीले आफ्नो स्वार्थ पुरा नभएपछि दुःख दिनलाई अख्तियारमा मुद्दा हाल्ने प्रवृतिलाई निरुत्साहन गर्नुपर्ने बताए ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेश सरकार नीतिगत भ्रष्टाचार हुन नदिन सजग रहेको बताइन् । अख्तियारको काम–कारबाहीलाई प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त केसीले गरिन् । अख्तियार स्थापना दिवसका अवसरमा आरंग नेपालले
‘बयान’ नामक नाटक मञ्चन गरेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया