अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स

काठमाडौं : सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पुरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् । कम उमेरका चालकले सवारी साधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो ।

सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । उनले भने, ‘मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।’ चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताए । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन ।

सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ । संघीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरुले ऐन बनाइरहेका छन् । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशले संघीय ऐनभन्दा पहिले नै नयाँ संविधानुसार ऐन बनाइसकेका छन् । वाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया