नगरपालिकाले बजार अनुगमन नगरेकोमा स्थानीयबासीको गुनासो

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमन गरेको स्थानीयले गुनासो छन् । इन्सेक कर्णाली प्रदेशले आइतबार आयोजना गरेको खाद्य अधिकार विषयक सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् ।

नगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन पारित गरे पनि प्रभावकारी रुपमा बजार व्यवस्थापन र अनुगमन नगरेको गुनासो थियो । नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरुले म्याद नाघेका खाद्य वस्तु र मिसावट गरिएका अखाद्य बस्तु तथा अव्यवस्थित बजारको कारण वीरेन्द्रनगरमा रहेका होटेल र रेष्टुरेण्टहरुमा धुँवा धुलो मिसिएको खाना नास्ता उपभोग गर्न बाध्य हुनु परेको उल्लेख गरेका थिए ।


कार्यक्रममा नागरिक सरोकार केन्द्रका अध्यक्ष पीताम्बर ढकालले उपभोक्ताहरुको हितका लागि आवश्यक कानुन निमार्ण र कार्यान्वयन गर्ने दायित्व राज्यको भएको उल्लेख गरे । उनले उपभोक्ताहरुको हितका लागि नागरिक संघसंस्थाहरुले पनि सचेतिकरण अभियान सञ्चालन गर्नुपर्नेमा प्रमुख ढकालले जोड दिए । कृषि विज्ञ छविलाल पौडेलले सबैभन्दा बढी कुपोषित भएका बालबालिकाहरु कर्णाली प्रदेशमा रहेको बताउँदै विषादीयुक्त खाद्य सेवनलाई निराकरण गर्नुपर्नेमा जोड दिए ।

हेल्भेटासका प्रमोद भारी कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने नीतिलाई सहयोग गर्ने बताए । वीरेन्द्रनगर नपा ११ का अध्यक्ष नन्दलाल शर्माले नपाले पारित गरेको ऐनलाई अक्षरस कार्यान्वयन गर्ने बताए । मानव अधिकार समूहका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, नागरिक संस्थाका प्रतिनिधी, कृषक, अधिकारकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



ताजा समाचार