प्रदेश सभाको हिउँदे अधिवेशन सुरु : ‘काम गर्न सकेनौं, लाजमर्दो भयो’

सुर्खेत : कर्णाली प्रदेश सभाको हिउँदे अधिवशेन शुक्रबारबाट सुरु भएको छ । बजेट अधिवेशन सकिएको झण्डै चार महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरेपछि बैठक सुरु भएको हो ।

लामो समयपछि सुरु भएको पाँचौ अधिवेशनको पहिलो बैठक औपचारिकतामै सिमित भयो । कानून निर्माणको मुख्य थलो मानिने संसद बैठकको पहिलो दिन नै विधेयकमाथि छलफल नहुँदा औपचारिकता पुरा गर्न मात्रै बैठक बसेको पुष्टि भएको छ । हिउँदे अधिवेशनको पहिलो पठकमै तीन जना सांसदले धारणा राखे लगत्तै अर्काे महिनासम्मको लागि स्थगित भएको छ ।

दोस्रो बैठक आगामी फाुगन १ गतेसम्मका लागि स्थतिग भएको हो । उसो त कर्णाली प्रदेशका सांसदहरुले पनि निर्वाचित भएको दुईवर्ष उपलब्धिमूलक काम गर्न नसकेको स्वीकार गरेका छन् । पहिलो बैठकलाई सम्बोधन गर्दै सांसदहरुले दुई वर्षसम्म उपलब्धीपूर्ण काम गर्न नसकेको स्वीकार गरेका हुन् । संघीयतासँगै कर्णालीका नागरिकले विकास र परिवर्तनका लागि ठूलो अपेक्षा गरे पनि केही गर्न नसकेको स्वीकार गरेका छन् ।

सांसदहरु जिल्ला र निर्वाचत क्षेत्र पुग्दा विकास निर्माणका सन्दर्भमा जनताले पटक–पटक प्रश्न उठाउने गरेको भन्दै लाजमर्दाे अवस्था आएको उल्लेख गरे । लामो समयसम्म संसद बैठक स्थगित हुनु, विकास निर्माणमा भ्रष्टाचार मौलाउँदै जानु, दुई वर्षसम्म प्रदेशको राजधानी र नामाकरण बाहेक उपलब्धिपूर्ण काम गर्न नसकेको बताएका छन् । नीति तथा कार्यक्रममा लोकप्रिय बजेट ल्याउने तर कार्यान्वयन पक्षमा असफल भएको उल्लेख गरेका हुन् ।

दाजुभाइलाइलाई नै उपभोक्ता समिति गठन गर्ने र काम नगरेरै बजेट खर्चने परिपाटीले जनताको प्रतिनिधि हुन नसकेको स्विकार गरे । पहिले कर्णालीलाई कतिले सरापेको प्रदेश भनेपनि अहिले जनप्रतिनिधिले सरापको अनुभूति भएको अभिव्यक्ति दिएका छन् । सांसद शोशिला शाहीले जनप्रतिनिधि रसरकारको दुई वर्षसम्म जनतामा निशासा फैलाएको बताइन । ‘लोकतन्त्रका नाममा लुटतन्त्र बच्चिएको छ, अनुदानका कार्यक्रमहरु नेता कार्यकर्ता पाल्ने माध्यम बन्यो’ शाहीले भनिन् ‘अर्का पटक नीति तथा कार्यक्रमको सट्टा बेतिथी र भ्रष्टाचार कार्यक्रम ल्याउनुपर्ने अवस्था देखिन्छ ।’


भत्ता खानकै लागि संसदमा आएजस्तो भयो

जीवनबहादुर शाही
नेता, कांग्रेस संसदीय दल

संसद बैठक औपचारिक रुपमा सुरु र अन्त्य हुने परिपाटीका कारण सांसदले भत्ता खानकै लागि संसदमा आएजस्तो हुन थालेको बताउन थालेका छन् । ‘दुई वर्ष भयो, संसदीय समितिलाई पूर्णता दिन सकेका छैनौं’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘अपेक्षाअनुसार काम नहुँदा भत्ता खानलाई मात्र संसदमा आएजस्तो भयो ।’

सरकारले बजेट कार्यान्वयन गर्न नसक्नु र संसदीय समितिले पूर्णता नपाउनुले सिंगो संसदको नै बदनामी भएको उनको तर्क थियो । ‘विकास निर्माणमा हुने ढिलासुस्ती र भ्रष्टाचार रोकिएको छैन, उपभोक्ता समितिलाई दिने बजेट दुरुपयोग भएको छ’ उनले भने, ‘हामी जनताका जनप्रतिनिधि हुन सकेनौं, पहिले सतिले सरापेको भन्थ्यौं तर अहिले आफ्नै कारणले सरापेको हौं कि जस्तो भइसक्यो ।’

सरकारले उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु पर्दैन भनिरहँदा रुखाखोकीको औषधि नपाएर १६ जना हुम्लावासीको मृत्यु भएको उनले बताए । ‘विकास निर्माण पुरानै अवस्थामा छ, जनताहरु औषधि नपाएर मरिरहेका छन्, साचिकैभन्दा सांसदको लाजमर्दाे अवस्था भइसक्यो’ उनले थपे ‘साँचिक्कै भन्दा दुई वर्षसम्म हामीले केही गर्न सकेनौं ।’

चौबाटोमा औंला ठड्याउन थाले

यामलाल कँडेल
नेकपा सांसद

सरकार र संसदको गतिविधिले जनतामा निराशा फैलिएको बताउँदै सांसद यामलाल कँडेलले सरकारलाई निराशा फैलाउने छुट नभएको बताए । सत्तारुढ दलको सांसद भएका कारण मतदातामा निराशा फैलाउन नहुने तर्क उनले गरे ।

‘जनताको पक्षमा कानून निर्माण गर्ने थलो संसद नै प्रभावकारी बन्न सकेको छैन, चौबाटो र दोबाटोमा संसद र सरकारप्रति नागरिकका गुनासा मात्रै सुनिन्छन्’ कँडेलले भने ‘विज्ञ समूह सहितको सरकारले निराशा छर्न थालेको छ, दुई वर्षसम्म प्रदेशको नाम र राजधानी तोक्ने बाहेक अन्य गर्व गर्ने काम गर्न सकेका छैनौं ।’

संसदको मर्यादा र भूमिका बढाउँदै सरकारकोे समिक्षा गर्नुपर्ने समय आएको उनको भनाइ छ ।



ताजा समाचार