होटलप्रति राज्यको दृष्टिकोण बदलिनु पर्दछ : तर्कबहादुर शाही सञ्चालक, भ्याली भ्यू होटल

दैलेखस्थित साविकको विशाला गाविसमा जन्मिएका तर्कबहादुर शाही सानैदेखि मेहनति थिए । स्कुले जीवनदेखि नै अरुभन्दा पृथक काम गर्ने भावना शाहीमा जाग्थ्यो । सानो उमेरमै भारतसम्म पुग्ने अवसर पनि उनले पाए । फूपुहरु भारतमै बस्ने गरेकाले उनले केही वर्ष भारतमै बिताए । होटल व्यवसायी संघ सुर्खेतका पूर्व अध्यक्षसमेत रहेका शाही होटल क्षेत्रमा अब्बल पहिचान बनाएका छन् । यीनै शाहीको अगुवाइमा गढीमा स्टे–होटल भ्याली भ्यू सञ्चालन गरेका थिए । जुम्लामा रारासम्म पुग्ने पर्यटक लक्षित होटल सञ्चालन गर्ने तयारी गरिरहेका शाहीसँग गरिएको कुराकानीको सम्पादित अंशः–
तर्कबहादुर शाही सञ्चालक,
भ्याली भ्यू होटल

दाजुको प्रेरणा

एसएलसीपछि उनले सुर्खेतमै दाजु पदमबहादुर शाहीको प्रेरणाले होटलमा प्रवेश गरे । एउटा होटल सञ्चालन गर्न र त्यहाँ पाल्ने ग्राहकलाई कसरी सेवा दिनुपर्छ भन्ने ज्ञान युवास्थाको मस्तिष्कमा उनले दिनहुँ ठोक्काउथे ।

‘होटलमा काम गर्नेहरुको काम नियाल्थे, होटल व्यवस्थापन र गेष्टहरुको रुम सजाउनु पर्ने हरेक काममा मेरो ध्यान हुन्थ्यो’ भ्याली भ्यू होटलका सञ्चालक शाही भन्छन्, ‘दाजु (पदमबहादुर शाही) ले सञ्चालन गरेको होटल कै कारण आज यो स्थानमा पुग्ने अवसर पाएँ । मलाई तर्क शाहीभन्दा पनि भ्याली भ्यू माइला भनेर अधिकांशले चिन्ने गरेका छन् ।’

होटल यात्रा

देशमा सशस्त्र द्वन्द्वको अवशानपछि अवसर र सम्भावनाहरु चुलिन थाले । द्वन्द्वको प्रभावले होला वीरेन्द्रनगरमा जनघनत्व पनि ह्वात्तै बढेको थियो । सुर्खेतदेखि बाहिर जाँदा ठूला होटलहरु सञ्चालन गरेको देख्दा उनमा लाग्थ्यो वीरेन्द्रनगरमा पनि एउटा होटल खोलु । दाजुसँगै होटलमा गरेको काम र बाहिर घुम्दाको अनुभव र सिकाइलाई व्यवहारमा लागु गर्न होटल सञ्चालनको तयारीमा जुटे उनी ।

‘दाजुसँग मात्रै कति काम गर्नु आफू पनि केही गर्नुपर्छ भन्ने भावना जाग्यो र २०६२ सालमा भ्याली भ्यू होटल पाँच लाख ५० हजार लगानीबाट सञ्चालनमा ल्याए’ शाही भन्छन्, ‘प्रेरणासँगै बाध्यताले होटलमा भविष्य बनाउने बाटो चुन्यो । जेहोस् ग्राहकहरुलाई पूर्ण सन्तुष्टि गराउँदै होटलमै दिनहरु वेतित भइरहेका छन् ।’
वीरेन्द्रनगरमा होटल सञ्चालन गरेपछि उनलाई स्थापित हुन सक्दैन की भन्ने त्रास सधै खड्कीन्थ्यो ।

किनकी वर्षौदेखि होटलमै स्थापित भएकाहरुसँग प्रतिस्पर्धा गर्न उत्तिकै चुनौती थियो । हिम्मत हारिन् दिनहु ग्राहकहरुको रुमदेखि खानपानको अवस्थाबारे एक–एक रिपोर्ट लिन्थे र होटलमा पाल्ने ग्राहकहरुलाई पुनः फर्कने वातावरण बनाउने गरेको शाही बताउँछन् । ‘ग्राहकको चाहना बुझेरै होला होटलमा राम्रै हुँदै गयो, विस्तारै ग्राहकहरुको चाप बढ्न थाल्यो’ शाहीले विगत सम्झिए, ‘झण्डै १३ वर्षअघि होटलमा बस्नु पर्छ भन्ने मानसिकता थिएन । तर ग्राहकहरुलाई एक पटक सेवा दिए फेरी फर्काउने वातावरण बनाउनु नै मलाई चुनौती थियो ।’

पाँच लाखबाट शुरु गरेको भ्याली भ्यू होटलको अहिलेको लगानी दुई करोड ५० लाख पुगेको छ । २९ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अझै हाटेललाई सुविधा सम्पन्न बनाउन होटलको व्यवस्थापनमा खटिरहेको शाही बताउँछन् । परिवारदेखि सबैको साथले होटलमा थप लगानी गर्ने शाहस जुटेको उनको कथन छ ।

स्टे होटलको यात्रा

वीरेन्द्रनगरदेखि १३ किलोमिटरको दुरीमा पर्ने गढीलाई सुर्खेतको नगरकोट भनिन्छ । जाडोभन्दा गर्मी सिजनमा चिसो हावापानी हुने भएकाले कयौं नागरिक डाँडातिर उक्लिन्छन् । गढीबाट छर्लङ्गै देखिने वीरेन्द्रनगर उपत्यका, भ्यालीभन्दा चिसो र शान्त वातावरण र त्यहाँसम्म पुग्ने अधिकांश पर्यटकहरुले होटलको अभाव खड्किएको भावना बुझेरै गढीमा होटल खोल्ने शाहीले निधो गरे ।

यति मात्रै हैन ठूला हल भएका होटलहरु वीरेन्द्रनगर उपत्यकामा नभएकै कारण अधिकांश कार्यक्रम नेपालगञ्जमा हुँदा उनले महोत्वाकांक्षी योजना बनाएर गढीमै स्टे होटल भ्याली भ्यूको अवधारणा बनाए । उनको यो योजनामा वीरेन्द्रनगरकै लिलाराम आचार्य र ऐनबहादुर शाहीले सहमति जनाए ।

अन्ततः झण्डै सात करोडको लागतमा गढीमा ठूलो हलसहितको हेलिकोप्टर ल्याण्ड गर्ने होटल सञ्चालनमा ल्याए । ‘गढीमा होटल स्थापना गर्नुको प्रमुख उद्देश्य गढीलाई पर्यटकीय गन्तव्य बनाउनु हो’ शाही भन्छन्, ‘गर्मी छल्न डाडामा पुग्नेले कम्तीमा नगरकोटको झल्को महशुस गरुन् र गुराँसेसम्मको शान्त वातावरणमा रमाउँदा खोजेको होटल सेवा लिन पाउन भनेर सञ्चालनमा ल्याएका हौं ।’

गढीमा स्थापना भएको स्टे होटल सञ्चालन नआउँदै विदाको सदुपयोग गर्नेहरु पुग्न थालिसकेका छन् । यति मात्रै हैन, रारा पुग्ने अधिकांश पर्यटक एक पटक वास यही होटलमा बसेर गन्तव्य हानिन्छन् । स्टे होटलले स्थानीयसहित २० जनालाई रोजगारी दिएको शाहीको भनाइ छ ।

जुम्लामा रारा स्टे भ्याली

जुम्लाको चन्दनाथ नगरपालिकाको खल्लाचौरमा रारा स्टे भ्याली भ्यू रिसोर्ट प्रालि सञ्चालन गर्ने तयारीमा छन् । जुम्लामा अत्याधुनिक सुविधासहित सेवा सञ्चालन गर्न लागेको शाहीको भनाइ छ । होटलमा साउना वाथसहित सेमिनार हल, एसीसहितका कोठा रहनेछन् ।

‘रारा पुग्ने पर्यटकलाई जुम्लामै सबै सेवा दिन होटल सञ्चालन गरेका हौं’ शाही भन्छन्, ‘सुुरुमा २५ कोठासहित आगामी बैशाखमा होटल सञ्चालन गर्ने तयारीमा जुटेका छौं ।’ झण्डै १० कठ्ठा क्षेत्रफल रहेको होटल सञ्चालन गर्न करिव सात करोड खर्च हुने शाही बताउँछन् ।

राज्यप्रति गुनासो

जोखिम मोलेरै गढीमा होटल सञ्चालन गरेका शाहीले राज्यप्रति गुनासो पोखेँ । पश्चिम क्षेत्रमा शहरभन्दा बाहिर लगानी गर्नमा राज्यलाई नीजि क्षेत्रले सहयोग नगरेकोमा उनको दुखेसो छ ।

‘गढीमा करोडौंको लगानीमा होटल सञ्चानल ग¥यौं । त्यसको सुरक्षादेखि राज्यबाट पाउनु पर्ने आधारभूत सहयोग नपाउँदा हामी दुखिद् छौं’ शाही भन्छन्, ‘दक्ष जनशक्तिदेखि अन्य सेवा सुविधा उपलव्ध गराइदिने वातावरण राज्यले नबनाउँदा यस क्षेत्रको निजी क्षेत्र माथि उठ्न सकेको छैन् ।’

होटल सञ्चालनमा राज्यले नै निश्चित मापदण्ड ल्याउनु पर्ने कथन उनको छ । ‘होटलमा सर्च गरेर हुँदैन् । कतिपयले होटललाई गलत प्रयोग गरेका होलान्’ शाही भन्छन,  ‘होटलको मापदण्ड तोकेर राज्यले पेशा व्यवसायलाई प्रवद्र्धन गर्ने प्याकेज ल्याए मात्रै कर्णालीको विकासमा टेवा पुग्छ ।’ कामप्रतिको लगाव र स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले उनी होटल व्यवसायलाई उचाईमा पु¥याउँदै बादशाहका रुपमा उभिन थालेका छन् ।

शाही भन्छन्, ‘आफ्नै भूमि अवसरको खानी हो । यही श्रम गरे ढिला चाँडो राम्रो आम्दानी लिन सकिन्छ । लागेको कामप्रति लगाव भए खाडी जानै पर्दैन् । तर मनमा विचलन र अस्थिरता भने रहनुहुँदैन् ।’

तपाईको प्रतिक्रिया