सुर्खेत :
घटना : १
गएको जेठ ३० गते वीरेन्द्रनगरको यरीचोकमा अटोरिक्साको ठक्करबाट नगरपालिका –२ का वडा सचिव नारायणदेव गिरीको मृत्यु भयो । फोरलेन सडक अन्तर्गत मूलपानीबाट यरीचोकतर्फ जाँदै गरेको भे १ ह ३८७४ नम्बरको अटोरिक्साले भे ७ प १८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भीर घाइते भए ।
घटना लगत्तै उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पु¥याइयो । तर उपचार हुन नपाउँदै डाक्टरले गिरीलाई मृत घोषणा गरे ।
घटना : २
यही माघ ४ गते दैलेखका शेखर गिरीको पनि मोटरसाइकल दुर्घटनामै मृत्युभयो । फोरलेन सडक अन्तर्गत मंगलगढीबाट बाङ्गेसिमलतर्फ जाँदैगर्दा रेडियो नेपालको पुल नजिक उनी दुर्घटनामा परे । मोटरसाइकल दुर्घटनामा परेका गिरीको घटनास्थलमै मृत्युभयो ।
घटना : ३
यस्तै यही माघ १४ गते टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षिय केशर सिंहको मृत्युभयो । मंगलगढीचौकतर्फ आउँदै गरेको भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईलाई ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्युभयो ।
फोरलेन सडकमै तीव्र गतिमा रहेको टिप्परले वीरेन्द्रनगर–४ गौतम चोकमा मोटरसाइकललाई ठक्कर दिँदा सिंहको शरिर नै क्षदविच्क्षद भयो ।
घटना : ४
यही माघ १७ गते ट्रक र ट्याक्टर आपसमा ठोक्किँदा ट्याक्टर चालक जुनीचाँदे गाउँपालिका–७ जाजरकोटका प्रेम कार्कीको मृत्युभयो । फोरलेन सडक अन्तर्गत सुब्बाकुनाबाट मंगलगडी चोकतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टर र विपरित दिशातर्फ जाँदै गरेको लु १ ख ७६७० नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।
उल्लेखित घटना फोरलेन सडकमा भएका केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै धुलियाबिटदेखि बाँङ्गेसिमसम्मको सडक स्तरोन्नती गरिएको छ । सडकको स्तरोन्नती गरेर फोरलेन बनाइए पनि दुर्घटनाको क्रम भने बढेको छ । सडकमा स्पिड ब्रेकर छैनन् । सवारी साधन फोरलेन सडकमा तीव्र गतीमा गुड्छन् । जसकाकारण फोरलेनमा सवारी दुर्घटना बढ्न थालेका छन् ।
पछिल्लो समय फोरलेन सडक ज्यानमारा बन्दै गएको छ । तर ट्राफिक नागरिकमा ट्राफिक जनचेतना भने छैन् । जसले गर्दा साना तथा ठूला सवारी दुर्घटा दिनप्रतिदिन पढ्न थालेका छन् । सचेत नागरिकले नै ट्राफिक नियमको पालन नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतको बुझाइ छ ।
३३ दुर्घटनामा २५ जनाको मृत्यु
सुर्खेतमा पछिल्लो सात महिनामा ३३ वटा सवारी साधन दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्ष २०७६÷०७७ को सात महिनामा ३३ वटा दुर्घटना भएका हुन् ।
साउनदेखि माघको १८ गतेसम्म साना ठूला गरी ३३ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जनाए । प्रहरीका अनुसार साउनमा तीन वटा सवारी दुर्घटनामा तीन जनाकै मृत्यु भएको छ ।
भदौमा नौ दुर्घटनामा एकजना, असोजमा सात दुर्घटनामा ६ जना, कार्तिकमा दुई दुर्घटनामा एकजना, मंसिरमा तीन दुर्घटना दुईजना, पुसमा दुई दुर्घटनामा एकजना र माघ महिनामा सात वटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना गम्भिर र ६० जना सामान्य घाइते भएका छन् । त्यस्तै सवारी दुर्घटनामा चार वटा पशु चौपाया पनि मरेका छन् ।
साढे ६ हजारलाई कारबाही
ट्राफिक प्रहरीको कारबाहीमा पर्नेहरुको तथ्याङ्क हेर्दा अधिकांश चालकले माद्यक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने गरेका छन् । ट्राफिक नियमको पालना नगरी गाडी चलाउँदा सुर्खेतमा चालु आर्थिक वर्षको सात महिनामा साढे ६ हजार बढी चालक कारबाहीमा परेका छन् ।
तथ्याङ्क अनुसार साउनदेखि माघ १८ गतेसम्म ६ हजार ६ सय २६ जना चालक कारबाहीमा परेका छन् । प्रहरीले पटक–पटक ट्राफिक जनचेतना फैलाउँदा पनि कारबाही पर्नेको संख्या घटेको छैन । कारबाहीमा पर्नेको तथ्याङ्कलाई हेर्ने हो भने अधिकांश चालकले ट्राफिक नियमको पालन गर्दैनन भन्ने प्रष्ट हुन्छ ।
कारबाहीमा परेका मध्ये ६ सय १३ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ । कारबाहीमापर्ने अधिकांश सचेत नागरिक नै रहेको प्रहरी बताउँछ ।
‘डिजाइन नै ट्राफिक नियम विपरित’
फोरलेन सडकमा दुर्घटना बढ्नुको अर्काे कारण सडकको गलत डिजाइन पनि हो । फोरलेनको डिजाइन नै ट्राफिक नियम विपरित भएको प्रहरीको भनाइ छ । पैदय यात्रुका लागि खाली भाग नछोड्नु, सडक बीचभागमा ब्रेकर नराखिनु र ठाउँठाउँमा सवारी क्रस (मोड्ने) भाग छोड्नु ट्राफिक नियम विपरित भएको प्रहरीको ठम्याई छ ।
‘मनपरी रुपमा ठाउँठाउँमा खालि स्थान छोडिएको छ, बटुवाले बाटो काट्ने चिन्ह समेत छैन’ सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उदयसिंह सिजापति भन्छन्, ‘इन्जिनियरको दृष्टिकोणले फोरलेनको डिजाइन राम्रो होला, तर ट्राफिक नियम विपरित छ ।’ फोरलेनमा आवश्यकता विनै सवारी मोड्ने ठाउँ राखिदा दुर्घटना झन् बढेको प्रहरीको बुझाई छ ।
‘सचेत नागरिकले नै ट्राफिक नियमको पालन गर्दैनन्, सबैलाई छिटो पुग्ने हतार हुन्छ, खाली ठाउँ देख्यो कि बाटो क्रस गरिहाल्छन्’ उनी भन्छन्, ‘सानो मोडमै सवारी क्रस गर्ने ठाउँ राखिनु ट्राफिक नियम विपरितछ, जसकाकारण फोरलेनमा दुर्घटना बढेका छन् ।’ त्यस्तै मापसे गरेर सवारी चलाउनु, बटुवाले मनपरी रुपमा बाटो काट्नु र दक्ष नभएरै सवारी चलाउँदा समेत दुर्घटना बढेको प्रहरीको निष्कर्ष छ ।
पैदल यात्रुलाई पनि सास्ती
फोरलेन सडकले सवारी साधनलाई सहज भए पनि पैदल यात्रुलाई भने सास्ती भएको छ । सडकको दायाँबाँया पैदल यात्रु हिँड्ने ठाउँ छैन । सडकको सबै भागमा सवारी साधन गुड्दा पैदल यात्रुलाई सास्ती भएको हो ।
पैदल यात्रुका लागि छुट्टै ठाउँ नछुट्याउँदा सडकको सबै भागमा सवारी गुड्दै आएका छन् । दिन प्रतिदिन सवारीको पढ्दो चाप र छिटो गन्तव्यमा पुग्ने हतारका कारण सडकको सबै भागमा सवारी गुड्दै आएका छन् । पैदल यात्रुले मनपरी रुपमा बाटो काट्दासमेत दुर्घटना बढेको प्रहरीको भनाइ छ ।
युग संवाददाता । । २३ माघ २०७६, बिहीबार १५:०४