छिन्चु–जाजरकोट सडकमा टाइमकार्ड

सुर्खेत :सवारी दुर्घटना घटनाउन कर्णालीका छिन्चु–जाजरकोटसडक खण्डमा टाइमकार्ड लागु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट, सल्यान र सुर्खेतले टाइमकार्ड लागु गरेका हुन् । तीन जिल्लाको सहकार्यमा पहिलो पटक सुर्खेत–जाजरकोट सडक खण्डमा टाईम कार्ड लागू भएको हो ।

कच्ची र साँघुरो सडकमा तिब्र गतिका कारण सवारी दुर्घटना बढेको निश्कर्ष निकाल्दै टाइमकार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार तोकिएका समयभन्दा छिटो पुगे ५ सयदेखि १ हजारसम्म जरिवाना तोकिएको छ ।

‘खच्ची र साँघुरा सडकमा तिब्र गतिकै कारण धेरै दुर्घटना भएका छन्’ डीएसपी श्रेष्ठले भन्छन् ‘अबदेखि तोकिएको समयभन्दा छिटो पुग्ने गाडीले जरिवाना तिर्नुपर्नेछ ।’ टामइकार्ड लागु भएसँगै अबदेखि कच्ची सडकमा ९ किलोमिटरको दुरी पार गर्न १ घण्टा लगाउनुपर्ने देखिएको छ । टाइमकार्ड अनुसार जाजरकोटको रिम्नादेखि होलुखोलासम्म ९ किलोमिटरको दुरीपार गर्न १ घण्टा लाग्ने छ ।

त्यस्तै होलुखोलादेखि खलंगा बसपार्कसम्म ६ किलोमिटर ४५ मिनेट, खलंगाबसपार्कदेखि मटेलासम्म ९ किलोमिटरमा ३० मिनेट, मटेलादेखि कुदुसम्मको ५ किलोमिटर २५ मिनेट र कुदुदेखि छेडाचौरसम्म २२ किलोमिटरमा १ घण्टा २० मिनेटको समय तय गरिएको छ । यस्तै जाजरकोटको छेडाचौरदेखि सुर्खेतको राकमसम्म २४ किलोमिटर १ घण्टा ३० मिनेट, राकमदेखि सल्यानको सल्लिबजारसम्म ३ किलोमिटर १० मिनेट, सल्लिबजारदेखि सुर्खेतको बोटेचौरसम्म २३ किलोमिटर १ घण्टा ३० मिनेटको समय तोकिएको छ ।

तपाईको प्रतिक्रिया