प्रसूति भवन अलपत्र

जाजरकोट : जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माणको काम सात वर्षदेखि अलपत्र छ । भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम अलपत्र छोडेको हो । समयमै भवन नबन्दा गाउँमै सुरक्षित प्रसूति सेवा दिन नसकिएको स्वास्थ्य चौकीले जनाएको छ ।

सुरक्षित प्रसूति सेवाको अभावमा यहाँका गर्भवतीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । निर्माण कामप्रति सरकारी उदासिनताका कारण प्रसूति भवन समयमै निर्माण नभएको स्थानीयको गुनासो छ । काम नगर्ने निर्माण कम्पनी र निर्माण व्यवसायीलाई गृह मन्त्रालय तथा स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन ।

‘नत निर्माणको काम अघि बढेको छ, न निर्माण व्यवसायीलाई कारबाही नै भएको छ,’ स्थानीय राजबहादुर शाहीले भने, ‘एउटा व्यक्तिले काम नगर्दा सवै नागरिकले दुःख पाइरहेका छौं । कामचोर ठेकेदारलाई सरकारले किन कारबाही गर्न सक्दैन ? ’ सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०६९÷०७० मा ठेक्का गरी भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई दिएको थियो ।


२०६९ बैशाख ७ मा सम्झौता भइ २०७० कात्तिक ६ गते सक्ने सम्झौता भएको थियो । सम्झौता अवधि सकिएकै करिब ६ वर्ष पुगिसक्यो । भवन निर्माणले भने पूर्णता पाउन सकेको छैन । एक करोड ५० लाख लागतको उक्त भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो । निर्माणको जिम्मा लिएका ठेकेदार बीचमै काम छाडेर फरार भएपछि आधा बनेको भवनमा घाँस उम्रिसकेको छ । काम गराउने कार्यालयले पनि भवन अलपत्र पर्नुको कारण खोज्न सकेको छैन ।

स्थानीयले पटक–पटक काम अघि बढाउन दबाब दिए पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले ठेकेदारलाई काम गराउन सकेको छैन । भवन अभावका कारण सुरक्षित प्रसूति सेवामा समस्या भएपछि मजकोटवासीले ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । स्थानीय प्रकाश शाहीकाअनुसार भवन निर्माणको काम १० प्रतिशत मात्रै भएको देखिन्छ । भवन डिभिजन कार्यालय सुर्खेतले व्यवसायीलाई पटक–पटक ताकेता गरे पनि सम्पर्कमा नआएको जनाएको छ ।



ताजा समाचार