‘देउता मान्छौं, छाउपडी प्रथा मान्दैनौं’

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिकाका स्थानीय मष्टो देवताका धामीले छाउपडी प्रथा नमान्ने प्रतिबद्धता जनाएका छन् । खाँडाचक्र नगरपालिकाले छाउपडी प्रथाविरुद्ध धामिझाँक्रीलाई सचेतना कार्यक्रममा स्थानीय मष्टो देवताका धामीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

छाउपडी प्रथाका मुख्य गडका रुपमा मानिने देउताका धामी र गाउँका ठालुले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका छन् । उनीहरुको एउटै स्वर छ,’ अब हामी छाउपडी प्रथा मान्दैनौं ।’ ‘देवता मान्छौं, छाउपडी प्रथा मान्दैनौँ । महिनावारी भएकी छोरी, बुहारीलाई घरमै राख्छौँ । पहिले विभेद गरियो । अब गर्दैनौँ ।

खाँडाचक्र नगरपालिका ७ पिलीका धामी हंसबहादुर मल्लले भने,’ छाउपडीविरुद्धको अभियानमा हाम्रो पनि सक्रिय सहभागीता हुन्छ । छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा सचेतना जोगाउँछौँ ।’ यस्तै स्थानीय धामी लिला पाण्डेले छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने बताए । उनले भने,’ म आफैं देउताको धामी हुँ ।

तर तपाईँहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैँ लिन्छु । घरभित्र महिनावारी भएकी महिलालाई राखेर देवतालाई घण्ट चढाउनु परे, खसी काट्नु परे पनि म कहाँ आउनु होला । तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस् ।

यसअघि गाउँमा परम्परागत सोच र पुरानो रितिअनुसार चले पनि हालै आएको कानुनले नमान्ने भएपछि सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि सुरक्षित हुने भएकाले गाउँका सबै स्थानीयलाई छाउ बार्ने प्रथा नमान्न सल्लाह दिने धामी पाण्डेले बताए । खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले छाउपडी प्रथा न्यूनीकरणमा नगरपालिकाले छाउगोठसँगै छाउ सोच पनि भत्काउने अभियान सुरु गरेको बताए ।

उनले भने, ’गाउँमा प्राय देउताका डरले नै महिला छाउ गोठमा बस्ने गरेका छन् । जसलाई निरुत्साहित गर्ने छाउगोठ र छाउ सोच भत्काउने अभियानमा धामीको साथ खोजेका छौ ।’ ‘खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टले स्थानीय ठालु धामीलगायतका सरोकारवालाको सक्रियतामा खाँडाचक्र नगरपालिकालाई छाउपडी प्रथामुक्त नगरपालिका बनाउने जोड दिइन् ।

तपाईको प्रतिक्रिया