सम्पादकीय : सडक निर्माणमा वेथिति
विकास सकारात्मक परिवर्तन हो । मानव सभ्यताको विकाससँगै भौतिक विकासले पनि गति लियो । आज मानवको मेहनत, अनुसन्धान र रुचीका कारण भौतिक निर्माण र विकासले फड्को नै मारेको छ ।
विश्वका धेरै देशहरुले भौतिक विकासमा किर्तिमानी नै कामय गरिरहेका छन् । यही पृथ्वीको एउटा देश नेपाल विकासमा वामे सर्दै छ । अर्थात भौतिक विकासमा पाइला चाल्दै गरेको छ नेपाल । राजनीतिक रुपमा धेरै प्रगति गरेको भए पनि नेपालमा विकास निर्माणमा पनि अपेक्षाकृत प्रगति हुन सकेको छैन । राजनीतिक परिवर्तनसँगै विकास र समृद्धिको पनि बहस चल्छ ।
तर हालसम्म विकासले पनि लय समात्न सकेको छैन । हाल स्थानीय, प्रदेश र संघीय सरकार सक्रिय छन् । त्यसमा पनि स्थानीय सरकार जनताको नजिकको सरकार हुन् । स्थानीय सरकारको गठनसँगै विकास र निर्माणले प्रगति हुने अपेक्षा नागरिकमा अहिले पनि छ । तर हाल विकासका नाममा जे वेथिति भएका छन्, तिनले विकासको सपना पनि तुहिने आशंका बढाएको छ ।
आज हरेक टोल गाउँमा विकास भनेकै सडक ठान्ने गरिएको छ । सडक खन्ने नाममा जनप्रतिनिधिको मनलाग्दी छ । आफ्नै स्वार्थ र बलमा जथाभावी सडकहरु खनिएका छन् । विकासको विधि र प्रक्रिया हुन्छ । प्रक्रिया मिचेर गरिएको विकासले विनास निम्त्याउँछ । अहिले स्थानीय तहमा यही भइरहेको छ । आवश्यकता भन्दा पनि स्वार्थमा डाँडामा डोजर चलेका छन् । वातावरणिय प्रभाव मुल्याकंन नै नगरी सडक खन्ने काम भइरहेको छ । यसले एकातिर जनताबाट संकलन भएको कर बेकामे बनेको छ । अर्कोतर्फ न खनिएका ति सडकमा गाडी नै गुडेका छन् ।
बरु जथाभावी खनिएका सडकका कारण पहिरो र बाढीको समस्या पैदा भएको छ । बस्ती नै विस्तापित भइरहेका छन् । यसतर्फ स्थानीय तहका जनप्रतिनिधिको ध्यान पुग्न सकेको छैन । बरु उनीहरुबीच सडक खन्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यो विकासका नाममा भएको दुर्भाग्य हो । अहिले कर्णालीका अधिकांश स्थानीय तहमा जनप्रतिनिधिको बलमिच्याईले करोडौं रकम खर्च गरी सडक निएका छन् । तर मापदण्ड विपरीत खनिएका यी सडकमा भने गाडी गुड्दैनन् ।
सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणिय प्रभाव मुल्यांकन (ईआइए) प्रक्रियानै धमाधम खनिरहेका छन् । ग्रामीण सडक निर्माणको नाममा जनप्रतिनिधिको कमाउधन्दा सुरु गरेकै कारण बनेका सडक दिगो नभएको गुनासो स्थानीयहरुको छ । अधिकांश सडक जनप्रतिनिधिले नै ठेक्का लिने र बिना प्राविधिक डोजर चालकलाई सडक निर्माणको जिम्मेवारी सुम्पिनेक्रम कर्णालीका पालिकाहरुमा बढ्दो छ ।
जसका कारण खेतियोग्य जमिन सडकमा परिणत भएका छन् भने सडककै कारण भू–क्षयको संत्रास छ । सडकहरु डोजर चालकले आफुलाई सहज हुने गरी निर्माण गर्दै आएका छन् । जसले गर्दासवारी आवतजावतमा समेत सकस हुने गरेको छ । सडक निर्माणमा भइरहेको वेथिति रोक्न आवश्यक छ । सडक निर्माण हुनुपर्छ । तर ति दिगोपना र आवश्यकताका आधारमा निर्माण गरिनु पर्दछ । व्यत्तिगत लाभका लागि विकासका नाममा सडक नै खन्ने प्रचलन नियन्त्रण हुन आवश्यक छ ।
