जाजरकोट–जुम्ला सडक अधुरै

जाजरकोट : जाजरकोटलाई जुम्लासँग जोड्ने तीनवटा सडकको निर्माण कार्य अलपत्र परेको छ। निर्माण थालिएको १२ वर्ष बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कार्य आधा पनि पूरा हुन सकेको छैन । पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेको हो ।

खलंगा–पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष बित्यो । ८० किलोमिटरको जाजरकोट–जुम्ला जोड्ने यो रणनीतिक महत्वको सडक ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । यो सडकमा हालसम्म २५ करोड रुयैयाँ खर्च भएको छ। यस्तै ९० किलोमिटर लामो जाजरकोट–छेडा–चाँदे–जुम्ला जोड्ने सडकको ३५ किलोमिटर मात्र निर्माण भएको छ ।

यो सडकमा हालसम्म ३० करोड खर्च भइसकेको छ । यति धेरै रकम खर्च हुँदा पनि बनेको सडकमा गाडी गुड्नसक्ने अवस्था छैन। त्यस्तै एकसय ४० किलोमिटर लामो जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको काम पनि ३० किलोमिटर मात्र ट्र्याक खुलेको छ । २० करोड रुपैयाँ खर्च भइसकेको सो सडकको निर्माण कार्य हाल ठप्प छ ।

जाजरकोट–जुम्ला जोड्ने तीनवटा रणनीतिक सडकको निर्माण सुस्त छ । उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएका छन्। बजेट अभाव र सम्बन्धित निकायको लापरबाहीले सडक निर्माणमा ढिलो भएको हो । सडक निर्माणपछि जुम्ला र जाजजरकोटको व्यापारिक सम्बन्ध पनि बढ्नेछ ।

साथै हाल २३२ किलोमिटर रहेको सुर्खेत जुम्ला सडकको यात्रा पनि जाजरकोटबाट हुँदा छोटिने छ । हालको कर्णाली राजमार्गबाट भन्दा जुम्लादेखि सुर्खेत तथा नेपालगन्ज पुग्न जाजरकोटदेखिको दूरी छोटो हुनेछ। जुम्ला जोड्ने रणनीतिक मार्गहरू प्रदेश सरकारमातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इन्जिनियर कुशल भुषालले बताए ।

संघीय सरकारले निर्माण गरिरहेका यी सडकको बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा रणनीतिक सडकको बजेट हालसम्म प्राप्त नभएको उनले जानकारी दिए । डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक निर्माणको जिम्मा थियो । संघीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिएको छ ।

कुनै सडकमा मनोमानीे सर्भे तथा रेखांकन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाल–वाल, ढल निकास र ग्राभेललगायतका काम नहुँदा वर्षौंदेखि निर्माणधीन सडकमा घाँस उम्रिसकेको छ । ट्¥याक खोल्ने कार्य नै अलपत्र हुँदा वर्षौंदेखि मोटरबाटो चढ्ने सपना बुनेका स्थानीय चिन्तित भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । जुम्ला जोड्ने तीनवटै रणनीतिक सडकको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्माले बताए ।

तपाईको प्रतिक्रिया