नयाँ नक्सा जारी गर्न नेकपाको निर्देशन

काठमाडौं  : नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्नसमेत सरकारलाई भनेको छ ।

केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्थामन्त्री समेत रहेकी नेकपा केन्द्रीय सदस्य पदमा अर्यालले यसबारेमा काम भइरहेको जानकारी गराएकी छन् ।

भारतले नेपाली भूमिसमेत समेटेर बनाएको नक्सा अश्वीकार गर्ने सरकारको निर्णयलाई बैठकले स्वागत गरेको र नेपालको पनि राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्न नेकपाले भनेको छ ।

त्यस्तै नेपाल ट्रष्टको गोकर्ण लगायतका जग्गा यति होल्डिङ्सलाई लिजमा दिएको सन्दर्भमा प्रश्न उठेपछि बैठकले ट्रष्टको देशभरको जग्गाको यथार्थ जानकारी मागेको हो । यतिलाई दिइएको कुरामात्र बाहिर आए पनि अरुले पनि धेरै सम्पत्ति लिजमा लिएको हुनाले यथार्थ विवरण मागिएको केन्द्रीय सदस्य विशाल भट्टराईले बताए ।

ट्रष्टको सम्पत्ति क कसलाई कुन सरकारको पालामा कसरी लिजमा दिएको हो सबै विवरण स्वेतपत्रमार्फत सार्वजनिक गर्न ट्रष्टका अध्यक्षसमेत रहेका नेता ईश्वर पोखरेललाई निर्देशन दिएको जानकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गराएका छन् ।

तपाईको प्रतिक्रिया