बारेकोटमा खाद्यान्‍न अभाव

जाजरकोट : जिल्लाको बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । बारेकोट गाउँपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल सकिँदा गाउँपालिकामा खाद्यन्न अभाव भएको हो । डिपोमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा चामल ढुवानी नगर्दा खाद्य संकट भएको हो ।

बारेकोट क्षेत्र कर्णालीका जुम्ला र डोल्पासँग सिमाना जोडिएको जिल्लाकै दुर्गम गाउँपालिका हो । यहाँ बर्षेनी खाद्य संकट हुने गर्दछ । खाद्य संकट टार्न सरकारले यो वर्ष दुई हजार पाँच सय क्विन्टल चालमको कोटा निर्धारण गरेको छ ।

सडक सञ्जालले नछोएपछि यहाँ घोडा र खच्चडबाट चामल ढुवानी हुन्छ । गाउँपालिका उपाध्यक्ष ओमा शाहीले स्थानीय पसलमा उपलब्ध चालम संस्थानको भन्दा दोब्बर महंगो हुँदा स्थानीय किनेर खानसक्ने स्थितिमा नभएको बताइन् ।

गाउँपालिकामा यातायात सुविधा नहुँदा ढुवानीका लागि घोडा खच्चड प्रयोग गर्दा मूल्य बढी पर्ने भएकाले ठेकेदारले चामल ढुवानी नगरेका हुन् । चामल ढुवानीको जिम्मा लिएका एनवी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले खाद्य संस्थानबाट चार सय ५४ क्विन्टल चामल बुझेर लगेका छन् ।

खाद्य संस्थान जाजरकोट शाखाका निमित्त प्रमुख रामप्रसाद पौडेलले ढुवानीको जिम्मा लिएका ठेकेदारलाई बारम्वार ताकेका गरिरहेको बताउँछन् । प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकमा ठेकेदारलाई कारवाहीका लागि छलफल भएको छ ।

अन्तिम मौका दिने र यो महिनाभित्र चामल ढुवानी नभए ठेकेदारलाई कारवाही गर्न प्रक्रिया अघि बढाउने निर्णय भएको छ । ढुवानीको जिम्मा लिएको एनवी विल्डर्सले असारभित्र सबै चामल ढुवानी गर्ने गरी ठेक्का सम्झौता भएकाले सोही अनुसार चामल ढुवानी गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया