वीरेन्द्रनगरले बाँड्न थाल्यो सेनेटरी प्याड

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका महिलालाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्न थालेको छ । नगरभित्रका किशोरी तथा महिलालाई निशुल्क रुपमा प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको हो ।

नगरपालिकाले नगरभित्रका महिनावारी हुने उमेरका किशोरी तथा महिलालाई निशुल्क सेनेटरी प्याड वितरण गर्न थालेको हो । वडा नम्बर १६ को सानीलेक स्वास्थ्य चौकीबाट निशुल्क प्याड वितरण अभियान सुरु गरिएको हो । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा महिला र किशोरीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ ।

यही समस्या समाधान गर्न र सुरक्षित महिनावारीका लागि निशुल्क रुपमा सेनेटरी प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ चालु आर्थिक वर्षका लागि नगरपालिकाले प्याड वितरण गर्न १५ लाख बजेट विनियोजन गरेको छ । आगामी वर्ष यसलाई बृद्धि गरिने नगरपालिकाले जानकारी दिएको हो । नगरका १६ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड निशुल्क वितरण हुन थालेको नगरपालिकाको भनाइ छ ।

महिनावारी हुने उमेरका छात्रा र महिला सबैलाई निशुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर देशकै पहिलो नगरपालिका बनेको उपप्रमुख मोहनमाया ढकालले दाबी बताइन् ।
उपप्रमुख ढकालले भनिन्,‘अब नगरभित्र महिनावारी हुने उमेरका किशोरी र महिलाले निशुल्क रुपमा सेनेटरी प्याड पाउनेछन्, एक जनालाई मासिक एक प्याकेटका दरले उपलब्ध गराउने छौं ।’

प्याड स्वास्थ्य संस्थामा आफै उपस्थित भएर लिनुपर्ने नियम बनाएको छ । यसले किशोरी र महिलाहरु महिनामा कम्तिमा एकपटक स्वास्थ्यकर्मीको पहुँचमा हुने र उनीहरुको मासिक रुपमा स्वास्थ्य परिक्षण पनि गरिने नगरपालिकाले जनाएको छ । मर्यादित र सुरक्षित महिनावारीका लागि यो कार्यक्रम सुरु गरिएको भन्दै नगरपालिकाले चाँडै नगरलाई छाउगोठमुक्त घोषणा गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया