परिवारको चाहना इन्जिनियर थियो : म व्यवसायमा लागे

लक्ष्मण कंडेल
महासचिव, सुर्खेत उद्योग बाणिज्य संघ
व्यवसायलाई दिगो बनाउन अथक मेहनतसँगै निरन्तरता पनि जरुरी हुन्छ । जोकोही सहजै व्यापारलाई गन्तव्यमा पु¥याउन सक्दैनन् । लगाव, निरन्तरता र झुकावले मात्रै व्यवसायमा सफलता हात लाग्छ । त्यस्तै व्यवसायमा सफल भएको एक व्यक्तित्व हुन् लक्ष्मण कँडेल । गुल्मीमा जन्मिए पनि उनको व्यवसायिक कर्मथलो भने सुर्खेत हो । हाल सुर्खेत उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका उनै लक्ष्मण क“डेलको संघर्ष र मेहनतको चर्चा आजको जम्काभेटमा ।

बाल्यकालका दिन

संघर्षले मानवलाई पहिचान दिन्छ । संघर्षले बनाइ दिएइको पहिचानले मात्रै मानवलाई आत्मसन्तुष्टि दिलाउँछ । गुल्मीको छत्रकोट गाउँपालिका–३ मा २०२९ सालमा जन्मिएका कँडेलले गाउँकै शारदा निमावि श्रीङ्गामा अक्षर चिने । कक्षा दुईसम्म गाउँमै पढे पनि बाँकी कक्षा ३, ४ र ५ भने पाल्पाको दरवार हाइस्कुलमा मामाघरमा बसेर पढे ।
‘मामा शिक्षक हुनुहुन्थ्यो’ कँडेलले भने, ‘पढाइको वेश बलियोहोस् भन्ने हेतुले पाल्पा गएको थिएँ । तर बाँकी एसएलसीसम्मको पढाइ पूरा गर्न फेरी श्रीङ्गाको जनता माध्यमिक विद्यालयमा फर्किएँ ।’ २०४७ सालमा एसएलसी उर्तिण गरेका कँडेल आइएड तहको पढाइ भने रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंबाट पूरा गरे ।

काठमाडौंको बसाइले जीन्दगीको सार्थक दौडाइ पहिल्याउन शुरु गरिसकेको थियो । गाउँमा अचल सम्पत्ती अथाह भए पनि पढाइलाई गन्तव्यमा लैजान नगद नहुँदा काठमाडौ बस्न सहज थिएन । आइएड पास गरे, विएड पढ्न आरआर क्याम्पसमै भर्ना भए । तर पढाइ पूरा गर्न नसकेको कँडेल बताउँछन् । आइएड पढ्दापढ्दै कँडेलको क्याम्पस यात्रामा पूर्णविराम लाग्यो ।

ट्याक्टरमा चढेर साथीसँगै भागेँ

गाउँमा २०४२ सालतिर सदरमुकाम जोड्ने सडक बनि सकेको थियो । स्कुल जाँदा सडकमा ट्याक्टर कुदेको देख्दा मैले पनि त्यस्तै चालक बन्ने सपना बुन्थेँ । ‘६ कक्षामा पढ्दै थिएँ, शुक्रवारको दिन थियो ।

माघे संक्रान्तिमा लाग्ने रिडी मेला हेर्न त्यहीँ ट्याक्टरमा चढेर भाग्यौं’ उनले आफ्नो विगत सम्झे, ‘साथीकै उक्साहटमा म पनि घरमा थाहा नदिएर भागेँ । तीनदिन मेलामै भुलेर त्यसपछि बुटवल हानिए ।’ बुटलवमा कँडेल र उनीसँगै भागेका साथी ट्रकमा हेल्परको काममा लागि सकेका थिए ।

तीनदिन ट्रकमा काम गरेका थिए । छोरा भागेको खवर थाहा पाएपछि उनका बुवा खोज्दै बुटवल पुग्नुभयो । ट्रकमा काम गरिरहेको अवस्थामा बुवाले भेटाएपछि गुल्मी लगेर फेरी उनी पढ्न थाले ।

चाउचाउ कम्पनीबाट व्यवसायिक यात्रा

स्कुलमा पढ्दा नै व्यवसाय गर्नुपर्छ भन्ने सोच मनमा थियो । तर घरपरिवारको चाहना छोरो इन्जिनियर भइदेओस् भन्ने थियो । आफ्नो मनमा भने व्यवसाय गर्ने र गाडी चलाउने रहर थियो ।

बीएडको पढाइ पूरा गर्नुभन्दा जागिर खाएर पैसा कमाउने योजना बनाएँ । अन्तिम लक्ष्य भनेकै पैसा कमाएर व्यवसाय शुरु गर्नुथियो । पोखरामा मामाको रम्बा चाउचाउको कम्पनी थियो ।

मामासँगै काम गर्ने निधो गरेँ । २०५२ सालमा मामाले मलाई पश्चिमक्षेत्र हेर्नेगरी इन्चार्ज बनाएर कोहलपुर पठाउनुभयो । त्योबेला मैले धनगढी, सुर्खेत र कोहलपुर हेर्थेँ । कयौं संघर्षपछि रम्बा चाउचाउको थुप्रै ठाउँमा डिलर स्थापना गरेरै छाडेँ ।

एक वर्षको अथक मेहनतले मलाई जिम्मेवारी वोध बनायो । व्यवसाय कसरी गर्ने भन्ने कौशलता त्यतिबेला सिक्ने अवसर पाएँ । झण्डै एकवर्ष काम गरेपछि रम्बा चाउचाउ कम्पनी छाडँे । पहिलोपटक मैले एकलाख २० हजार रुपैयाँ बचाउन सफल भएँ ।

२०५५ सालतिर बुटवलमा शेयरमा इट्टाभट्टाको काम शुरु गरेँ । व्यवसाय राम्रो हुँदै गयो । बुटवल र लुम्बिनीमा आफ्नै लगानीबाट जग्गा जोडेँ । दुई वर्षको अवधिमा झण्डै सात लाख रुपैयाँ इट्टाभट्टाबाट कमाएँ ।

कसरी भयो सुर्खेत प्रवेश ?


चाउचाउ कम्पनीमा काम गर्दा डिलर स्थापना गर्ने र पश्चिमको व्यवसायमा बुझ्ने अवसर पाएको थिएँ । २०५३ सालमा सुर्खेत आउँदा झण्डै ३३ वटा मोटरसाईकल मात्रै सुर्खेत उपत्यकामा थिए ।

बन्दै गरेको सुर्खेतमा मोटरसाईल सम्वन्धी व्यवसाय गर्दा ठिकै होला भन्ने पूर्वानुमान गरेँ । यहाँको वस्तुस्थिति बुझ्दा मोटरसाईलक विग्रेपछि बनाउने वर्कसप थिएन । बुटवलमा ईट्टाभट्टाको लगानी झिकेर म व्यवसायकै लागि सुर्खेत हानिएँ ।

शुरुमा मोटरसाईलकको वर्कसप सञ्चालन गर्ने गृहकार्य शुरु गरेेँ । २०५६ साल माघबाट पूर्णरुपमा भाञ्जाको नामबाट असिम अटो वर्कसप व्यवसाय सञ्चालनमा ल्याएँ । ‘त्यो बेला एकलाख भारुबाट व्यवसाय आरम्भ गरेको हुँ । सुर्खेतमा व्यवसाय गर्न निकै चुनौती थियो । सबै पाटपुर्जा भारतबाटै ल्याउनुपर्ने बाध्यता थियो । तै पनि व्यवसाय गर्न आँटेपछि टिकाउनुपर्ने बाध्यता थियो ।

सुर्खेतमा व्यवसायलाई दिगो बनाउन भारतको दिल्ली पुगेर पार्टसका सामग्री ल्याउनु पथ्र्यो । विस्तारै सुर्खेतमा शुन्यबाट थालनी गरेको व्यवसायले गति लियो । मानव बस्तीको चापसँगै मोटरसाईलकको माग बढ्न सक्छ भन्दै यामाहा मोटरसाईकलको डिलर शुरु गर्ने योजना बनाएँ । २०५७ सालमा सुर्खेतमै यामाहा मोटरसाईकलको शोरुम सञ्चालनमा ल्याउन सफल भएँ ।

सुर्खेतसम्म बाइक ढुवानी गर्ने साधन थिएनन् । नेपालगञ्जबाटै मोटरसाईकल चलाएर ल्याउँदै बेच्नुपथ्र्यो । मोटरसाईकल चढ्ने बानी खासै नागरिकहरुमा थिएन ।
हामीले समूह बनाए रुपैयाँ संकलन गर्दै पालैपालो ढुकुटीमार्फत मोटरसाईकल किनेर चढाउन थाल्यौं ।

विस्तारै माग बढ्न थालेपछि रुपैयाँ अग्रिम उठाएर माग पूरा गर्दै गएँ । कम्पनीले कम्तीमा एकसय मोटरसाईकल बेच्ने लक्ष्य दियो । त्यो मैले सात महिनामै पूरा गरेपछि कम्पनीले नै घुम्न पहिलोपटक मलाई जापान पठायो ।

मेहनतले दिलायो विदेश भ्रमण

जापान जानुअघि यामाहासँग बनाएको साख फर्किदा थिएन ।  चाहे पनि यामाहसँग काम गर्ने सम्भावना थिएन । केहीवर्ष नेपालगञ्जमै बजाज कम्पनीसँग काम गरँे । सुर्खेतमा फेरी २०६० सालमा उपशाखा स्थापना गरेर बजाज कम्पनीका मोटरसाईकल विक्री गर्न थालेँ ।

शुन्यबाट शुरु गरेको व्यवसाय भए पनि त्यही व्यवसाय यसअघि नै गरिसकेको थिएँ । कम्पनी मात्रै फरक भए पनि विस्तारै बजाज कम्पनीको मोटरसाईकल विक्रीको लक्ष्य बढ्दै गयो । अन्ततः बजाज कम्पनीले सुर्खेतमै शोरुम सञ्चालन गर्न २०६६ सालमा डिलरको अधिकार पाएँ ।

६ वर्षसम्म संघर्ष गरेपछि २०६६ सालमै मैले बजाजको लक्ष्यभन्दा बढी मोटरसाईकल विक्री गर्न सफल भएँ । बजाजले नै परिवारलाई घुम्न बेलायत पठायो । बेलायतको बजार, अटो सेल्सका विधि लगायतका बारेमा थुप्रै ज्ञान बेलायत गएपछि जान्ने अवसर पाएँ । बजाज कम्पनीले नै हालसम्म ६५ बढी राष्ट्रमा घुम्न पठाइ सकेको छ । यो अवसरमा उनले कयौं व्यवसायीक ज्ञान हासिल गरिसकेका छन् ।

व्यवसाय र समाजसेवा सँगसँगै

असिम अटो पार्टसका सञ्चालक कँडेल हाल सुर्खेत उद्योग बाणिज्य संघका महासचिव हुन् । उज्वल बहुउदेश्यीय सहकारी संस्थाको सचिव, लायन्स क्लवअफ बुलबुलेको सदस्य लगायतका विभिन्न संस्थाहरुसहित उनी सामाजिक कार्यहरुमासमेत अग्रसर छन् ।

कमाउनु मात्रै ठूलो हैन, मुनाफाको केही हिस्सा सामाजिक हितमा लगाउँदा व्यवसायीक सन्तुष्टि मिल्ने उनले बुझेका छन् । सुर्खेत उद्योग बाणिज्य संघको जिम्मेवारी पाएपछि व्यवसायलाई अगाडी बढाउन श्रीमती शोभा कँडेललेको पूर्ण साथ छ । सामाजिक कार्य तथा संघको जिम्मेवारीमा श्रीमान् होमिएपछि मोटरसाईकल तथा अटो रिक्साको व्यवसायलाई अघि बढाउँदै आएकी छन् ।

हाल कर्णाली प्रदेशमा बजाजले मोटरसाईकलको झण्डै ६८ तथा अटोको ७२ प्रशितशत हिस्सा ओगटेको छ । विदेश होमिनुभन्दा अटोमार्फत स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको कँडेलको भनाइ छ । कर्णालीमा बजाजका आधिकारिक सर्भिस प्वाइन्ट १० ओटा छन् । निकट भविष्यमै चार बढी स्थानमा सर्भिस प्वाइन्ट थप्ने तयारी गरिरहेको छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार