सन्दीपको टिम मेलबर्नको चौंथो किजत

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा चौंथो जित निकालेको छ ।

सिड्नीमा बिहिबार भएको खेलमा घरेलु टिम सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्दै मेलबर्नले चौंथो जित निकालेको हो । सिड्नीले दिएको १ सय ४३ रनको लक्ष्य मेलबर्नले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

मेलबर्नको जितमा निक लार्किनले ६५ तथा मार्कुस स्टोनिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । सिड्नीका डानिल सामले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

सिड्नीका लागि एलेक्स रोसले ४० तथा म्याथ्यु गिल्केशले २८ रन बनाए । मेलबर्नका हरिस राउफले ३ विकेट लिए । सिड्नीविरुद्धको खेल भने सन्दीपले गुमाएका छन् । चोट बोकेका कारण सन्दीपले सिड्नीविरुद्धको खेल गुमाएका हुन् ।

यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् । जितसँगै मेलबर्नले ५ खेलमा ८ अंक जोडेको छ । र, मेलबर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ७ अंक जोडेको सिड्नी तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया