बराहतालको दक्षिणी क्षेत्रमा चितुवा आतंक : हँसियाले हानेपछि महिलाको ज्यान बच्यो !

ओम शाही

सर्खेत : सुर्खेतको बराहताल गाउँपालिको दक्षिणी क्षेत्र अर्थात् बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक दिनानु दिन बढ्दै गएको छ । चितुवा आंतक बढेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

चितुवाको आक्रमणबाट बिहिबार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–३ नरसिङ्गकाँडाकी ५४ वर्षीया अमृता बराल गम्भीर घाइते भएकी छिन् । घर नजिकै बारीमा घाँस काट्न गएको बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले खुट्टामा टोकेपछि बराल घाइते भएको स्वथानीय शिक्षक टिकाराम भण्डारीले जानकारी दिए । ज्यानै लिनेगरी आक्रमण गरेको चितुवालाई हँसियाले हानेपछि चितुवा भागेको घाइतेका आफन्तले जनाएका छन् ।

घाईते बराललाई उपचारका लागि कोहलपुर लगिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यस्तै, गत सोमबार सोही वडामा पर्ने लेखगाउँकी ४५ वर्षीया चन्द्रकला नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । गत असोजमा पनि चितुवाको आक्रमबाट एक बालक घाइते भएका थिए । हिस्रक जंगीली जनावरको आक्रमणबाट स्थानीयले जनधनको क्षति व्यहोर्नु परेको छ । गाउँ मै पसेर चितुवाले आतंक मच्चाउन थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोलीसहित नेपाली सेना त्यसतर्फ पठाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अरुणनाथ बरालले जानकारी दिए । पछिल्लो समय निकुञ्ज क्षेत्रमा पाटे बाघ, जंगली हात्ती र चितुवालगायतका जंगली जनावरले आक्रमण गर्न थालेपछि स्थानीयल हैरानीले खेप्नु परेको छ ।

गाउँमै पसेर जंगली जनावरले आक्रमण गर्छन, खेतवारी, घाँस दाउराका लागि घरबाटर बाहिर निस्कदा पनि शकुसल घर फर्कर्ने टुङ्गो हुँदैन हिंस्रक जनावरको आक्रमणबाट कतिपयले अकाल मै ज्यान गुमाइसके स्थानीय प्रेमबहादुर शाही दुखेसो पोखे । सर्वसाधारणको ज्यानै लिनेगरी जाइलाग्ने जंगली जनावरका गतिविधी बेलैमा नियन्त्रण गर्नुपर्ने उनले बताए ।

शान्त गाउँबस्ती मै दिनप्रतिदिन जनावर आक्रमणका घटना बढ्दै गएकाले यसलाई रोक्न सम्बन्धित निकाय अझ गम्भिर बन्न जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया