सल्यान : भौगोलिक विकटता र छरिएको वस्तीमा विकास निर्माण गर्न समस्या देखिएको छ । एक्लो घर भएका ठाउँमा विकासका सबै पूर्वाधार निर्माण गर्न समस्या हुने गरेको जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।
बस्तीदेखि टाढा भएका घरहरु विकासको मुल प्रवाहमा जोडिन सकिरहेका छैनन् । भौगोलिक विकटता र छरिएको वस्ती अहिले जनप्रतिनिधिहरुलाई चुनौती बनेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । दार्मा गाउँपालिकाको भदाले खोला, मालिका, नुवागाउँ, रतिखोला, दुलखर्क लगायतका गाउँहरुमा विकासका सबै पूर्वाधार लैजान समस्या हुने गरेको उनको भनाइ छ ।
उनले भने, ‘विकास निर्माणका पूर्वाधार तयार गर्न ठूलो धनराशि खर्चगर्नु पर्ने अवस्था रहेको छ ।’ ती क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्यचौकी र शैक्षिक भवन निर्माण गर्न कठिन छ । अध्यक्ष केसी भन्छन्, ‘एकीकृत वस्ती विकासका लागि विस्तृत कार्ययोजना बनाइरहेका छौं । साथै, कर्णाली प्रदेश सरकार मा पनि प्रस्ताव गरिएको छ ।’
छरिएर रहेका वस्तीमा विकासका पूर्वाधार लैजान समस्या रहेको कुमाख गाउँपालिकी अध्यक्ष दिलमाया बुढाले बताइन् ।
एकीकृत वस्तीमा हजार र लाखमा हुने विकास छरिएका वस्तीमा करोड रुपैयाँमा खर्चनु पर्छ । उनले भनिन्, ‘जहाँ सडक त्यहाँ वस्तीको अवधारणा अनुसार कार्यक्रम अघि बढाइरहेका छौं ।’ त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी पनि वस्ती ढाटा रहेकाले विकास निर्माणमा कडिनाइ भएका बताउँछन् । नागरिकले फोन र भेटघाटका क्रममा विकास माग्ने गरे पनि भौगोलिक कठिनाइले तत्काल सम्भव नभएको डाँगीले बताए ।
उनले भने, ‘त्यस क्षेत्रका जनता पनि पालिकावासी नै हुन् । विकासमा काखापाखा गर्न मिलेन तर विकास गर्न निकै सकस छ ।’ गाउँपालिकाको खज्जर, चाख्ले, सुगीखर्कमा विकास गर्न कठिन रहेको उनको भनाइ छ ।
युग संवाददाता । । १७ पुष २०७६, बिहीबार १०:०५