सम्पादकीय : अन्धविश्वास तोडौं

 

कर्णाली र सुदुरपश्चिमका जिल्लामा एउटा कुप्रथा छ । यही कुप्रथाका कारण महिला र किशोरीहरुले अकालमै ज्यान गुमाइरहेका छन् ।

महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । तर समाजमा अहिले पनि यसलाई बार्ने चलन छ । अर्थात महिनावारीलाई नछुने गरिन्छ । धार्मिक अन्धविश्वासका कारण महिनावारीको समयमा महिलालाई घरभित्र बस्न दिइदैन ।

महिला र किशोरीहरु रजश्वला भएको समयमा घरदेखि टाढा रहेको गोठमा सुताउने गरिन्छ । देउता रिसाउने र अनर्थ हुने भ्रमका कारण महिलालाई महिनावारीको समयमा छाउगोठमा सुताउने गरिन्छ । घरदेखि टाढा एकान्तमा रहेका छाउगोठहरु असुरक्षित हुन्छन् ।

जहाँ सुताइका धेरै महिलाहरुले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । अर्कोतर्फ छाउगोठमा सुतेकै कारण किशोरीहरुमाथि बलात्कारका घटनाहरु पनि भएका छन् । वर्षौदखि कायमै रहेका यो कुप्रथा अन्त्यका लागि धेरै प्रयासहरु भएका छन् । तर यसको मुख्य जड भनेको धार्मिक अन्धविश्वास नै देखिएको छ । महिनावारीलाई देउतासँग जोडेर हेरिएका कारण महिनावारीको बेलामा घरभित्र सुन्त नदिने, आँगनमा समेत टेक्न नदिने, दुध र दही खान नदिने र शुभकार्यमा सहभागि हुन नदिने प्रचलन छ ।

यसले गर्दा कतिपय शिक्षित व्यक्तिहरु पनि यसको शिकार भइरहेका छन् । छाउपडी कुप्रथाका कारण धेरै महिलाहरुको ज्यान गुमेको छ । गोठमा सुतेको बेलामा सर्पको टोकाई, जंगली जनावरको आक्रमण र चिसोका कारण पनि महिलाहरुको मृत्यु हुने गरेको छ । कतिपयको गोठमै सुतेको अवस्थामा निस्सासिएर पनि ज्यान जाने गरेको हो । गोठमा एक्लै सुतेको अवस्थामा धेरै महिला र किशोरीहरुमाथि बलात्कारका घटनाहरु भइरहेका छन् ।

ज्यान नै जाने अवस्था आएपछि यसलाई कानुनी रपमा अपराध मानिएको छ । छाउगोठमा सुताउने र सुत्न बाध्य पार्नेलाई कानूनी सजायको पनि व्यवस्था छ । तर यसविरुद्ध उजुरी नै नपर्ने भएका कारण यो कानून कार्यान्वयनमा जटिलता थपिएको छ । पछिल्लो समय गृहमन्त्रालयको निर्देशनमा देशभरका छाउगोठ भत्काउने अभियान थालिएको छ । ज्यानमारा छाउगोठहरु भत्काउन जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले अभियान शुरु गरेका छन् ।

प्रहरी परिचालन गरेरै छाउगोठहरु भत्काउने तयारी भइरहेको छ । विगतमा पनि केही गैरसरकारी संस्थाहरुको पहलमा गाउँमा रहेका छाउगोठहरु भत्काइएका थिए । तर ति छाउगोठहरु पुनर्निमार्ण भएका छन् । यसपटक पनि सरकारले भत्काउने तयारी थालेको छ । छाउगोठ भत्काउनै पर्दछ । तर अब गोठहरु भत्काउँदैमा समस्याको समाधान हुने देखिदैन । यसका लागि अब समाजमा जरा गाढेर रहेको अन्धविश्वास नै तोड्न आवश्यक छ ।

धार्मिक मान्यतासँग यसलाई जोडिएकाले गोठ भत्काएर मात्र परिवर्तन सम्भव देखिदैन । यसका लागि धार्मिक अगुवाहरुलाई नै महिनावारीबारे बुझाउन आवश्यक छ । देउता रिसाउँछन् भन्ने गलत मान्यतालाई तोड्न सकेमा मात्र यो कुप्रथा अन्त्य हुने देखिन्छ । यसकारण पनि अब धार्मिक अन्धविश्वासलाई तोड्नका लागि धामी र पुजारीहरुलाई नै यसबारे ज्ञान दिलाउनेतर्फ शक्ति खर्च गरिनुपर्दछ । जब धामी र पुजारीहरु नै छाउपडीविरुद्ध लाग्नेछन्, तबमात्र यो कुप्रथा अन्त्य हुने सम्भव छ ।

तपाईको प्रतिक्रिया