कयौं रातहरु गाडीमै सुतेर विताएँ : कमल खड्का

सुर्खेतमा युवा व्यवसायीको सूचीमा कमल खड्का ‘जुनी’ को नाम अग्रस्थानमा छ । व्यवसायमा सफलता पाउँन सजिलो छैन । अथक मेहनत र निरन्तरता दिएमा सफलता टाढा पनि छैन । यसरी नै उनले पनि धेरै संघर्षसँग जुधेका छन् । खाने र लाउने उमेरमै उनले अभिभावक गुमाए । कयौं रातहरु त उनले गाडीको स्टे«रिङ्गमै बिताए । साविकको छिउडी पुसाकोट–१ दैलेखमा जन्मिएका उनले कर्मभूमीको रुपमा सुर्खेतलाई चुने । सुर्खेतमा जमेर व्यवसायमा अगाडि बढीरहेका उनले आफ्नो जीवन भोगाइ र संघर्षको कथा आजको जम्काभेटमा यसरी साँटे :
कमल खड्का ‘जुनी’
अध्यक्ष, देउती नागरिक यातायात प्रालि

कलिलैमा संघर्ष

सुर्खेतको इगरव्रिज बोर्डिङ स्कुलबाट अक्षर चिनेका खड्काले कक्षा पाँचसम्म नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाडाँस्कुलमा पढे । बाँकी एसएलसी वीरेन्द्रनगरकै जन माविमा पढे ।

१५ वर्षको उमेरमा खड्काले आमा गुमाए । आमा गुमाएको दुई वर्षअघि मात्रै उनले आफ्नो दाजु गुमाई सकेका थिए । आमा र दाजु गुमाउँदा जुनीका दुखका दिन शुरु भए । जिन्दगीमा पढेर राम्रो जागिर खाउँला भन्ने सोचेका जुनीका सपना चकनाचुर भयो ।

चाहेर पनि थप केही गर्ने आँट उनमा आएन । भविष्यको मार्गदर्शक बन्नलाई प्रयाप्त रकम पनि त थिएन । जिम्मेवारीले कलिलो उमेरमै संघर्षसँंग जुध्न बाध्य बनाएपछि पढाईमा भने ब्रेक लाग्यो ।

पैसा गन्न पाउँदा गाडीमा काम गर्न थाले

सुर्खेतदेखी बाहिरका जिल्लामा पुग्न ऊबेला विस्तारै सडक छिचोलिदै थिए । गाडी लाइनमा विदाको समयमा हिँड्ने जुनीलाई गाडीप्रति लगाव भयो ।

‘असिम भण्डारीको ना १ ख ९५२९ नम्बरको गाडीमा कहिलेकाँही हिड्थेँ’ ति दिन सम्झना गरे, ‘गाडीमा हिँड्दा पैसा गन्न पाइने, राम्रो खाना खान पाइने र यात्रुले गाडीका स्टाफलाई राम्रो व्यवहार गर्ने शैलीले गाडीमै हिँड्न मोहित गरायो ।’

गाडीमा लाग्ने प्रेरणा असिम भण्डारीबाट पाएका जुनीले उनकै गाडीमा कन्डक्टरको काम गर्ने जिम्मेवारी पाए । सुर्खेत–दैलेख रुटमा केहीवर्ष उनै भण्डारीसँग जुनीले काम गरे । २०५९ सालपछि श्रेष्ठ इम्पोरियमको गाडीमा हिँडे । त्यहीँबेला उनले सवारी चालक अनुमतिपत्र निकालेर बससमेत चलाए ।

‘एक वर्षसम्म सुर्खेत–चुप्रा रुटमा बस चलाएँ’ खड्काले भने, ‘जीउनका लागि योबाहेक अन्य विकल्प थिएन, सशस्त्र द्वन्द्वका कारण अर्को छुट्टै काम गर्न हिम्मत नि त आउथेन ।’ २०६१ मा उनका भिनाजु (सुदर्शन श्रेष्ठ) सहितको टिमले सुर्खेतमा पहिलो पटक मध्यपश्चिमाञ्चल माइक्रो यातायात समिति भित्रयाए ।

त्यहीँ समितिमा उनले भिनाजुको भे १ ज २४४ को हाइस गाडी चलाए । सुर्खेत–नेपालगञ्ज रुटमा जुनीले गाडी चलाउँथे । पारिवारिक घुमघामका लागि पाल्पा जाँदै गर्दा जुनीले चलाएको हाइस गाडी दुर्घटना भयो । भाग्यबस गाडीमा क्षती पुगे पनि उनीसहित परिवारका सदस्यहरुलाई केही भएन । तीन महिनासम्म जुनीले गाडी चलाएनन् ।

तर पछि पुनः भिनाजुले नयाँ हाइस किनेपछि जुनीले फेरी गाडी चलाउन शुरु गरे । उनले दैनिक नेपालगञ्ज रुटमा तीन ट्रिप गर्थे । कयौं रात गाडीमै सुत्थे । विहान नहुँदै पुनः उहीँ दैनिकी शुरुहुन्थ्यो ।

प्रेमिकाले छुटाइन् गाडीको स्टेरिङ्

नेपालगञ्ज रुटमा उनी गाडी चलाउँथे । सुर्खेत आउने क्रममा कोहलपुरमा अन्य समितिका पदाधिकारीहरुसँग ठूलै हानाहान सम्मको झगडा भयो । जुनी कुटिरहेको दृष्य उनकी प्रेमिका विनिता तन्डुकारले नियाली रहेकी थिइन् । गाडी लाइनमा हुने यस्ता घटना जुनीले कयौं पटक झेलीसकेका थिए ।

तर उनीप्रति नै भएको त्यस्तो पहिलो दृष्य विनितालाई मन परेन । यात्राको क्रममा विनिताले जुनीलाई सम्झाइन् । जुनीले पनि जिन्दगीको गोरेटोमा अझैँ कयौं माइल यात्रा गर्न बाँकी नै रहेको मनमनै सम्झीए । ‘विवाह गर्नुछ, घर व्यवहार चलाउनु छ । दिनहुँ गाडी लाइनमै कति विवाद झेल्ने । अब केही सोच्नुपर्छ भन्ने ज्ञान मिल्यो’ जुनीले भने, ‘उनकै आग्रहमा मैले गाडीको स्ट्रेरिङ्ग छाडे ।


तर गाडी नचलाए पनि यातायात क्षेत्रमै काम गर्ने सोच भने त्यागेन ।’ गाडी लाइनमै धेरै सिकेका जुनीले यातायात क्षेत्रमै काम गर्ने उदेश्यले मध्यपश्चिमाञ्चल माइक्रो यातायात समितिको सहसचिवमा प्रवेश गरे । एक कार्यकाल उनले सहसचिव भएर चलाए । पछि त्यहीँ समितिमा सचिवको जिम्मेवारी सम्हालेर एक वर्ष काम गरे । समितिले राम्रो गर्दै गइरहेको बेला समिति विलय भयो ।

अन्तत : २०६७ सालमा जुनीले गाडीको स्ट्रेरिङ्ग चलाउन छुटाउने उनै विनितासँग नै विवाह गरे । ‘यातायात क्षेत्र यो बेला जस्तो सहज थिएन । सीमित व्यक्तिहरुका कारण नयाँ समिति खोल्न पापड बेल्नु पथ्र्यो’ जुनीले थपे, ‘माइक्रो समिति विलय भए पनि २०६९ सालमा सुर्खेतमै पहिलो पटक सुर्खेत यातायात प्रालि सञ्चालनमा ल्यायौं ।

म त्यो प्रालिको सल्लाहकारमा रहेर काम गरेँ ।’ एक वर्षसम्म सुर्खेत यातायातले ऊबेला हंगामा नै मच्चायो । विस्तारै त्यो प्रालि पनि अरु नै समितिहरुमा विलय भयो । सुर्खेतमा नयाँ यातायात सञ्चालन गर्दा टिक्न नदिने कारणहरु केलाउन थाले । नयाँ समिति कसरी खोल्ने र त्यसलाई दिगो बनाउने उपायबारे विभिन्न व्यक्तिहरुबाट सुझाव लिनै एकवर्ष लाग्यो ।

देउती नागरिकको जन्म

यातायातमै बसेर मर्यादित संस्था बनाउन सकिन्छ भन्ने हेतुले २०७२ सालमा देउती नागरिक यातायात प्रालि सञ्चालन गर्ने निधो गरे । तीन ओटा माइक्रो गाडीबाट जुनीसहितको टिमले सेवा शुरु ग¥यो । विस्तारै प्रालिले आकार लियो । अहिले ६२ ओटा गाडी पुगेका छन् ।

सुर्खेतदेखी दैलेख, बावियाचौर, जाजरकोट, नेपालगञ्जसम्म सेवा दिइरहेको जुनी बताउँछन् । प्रालिलाई यो उचाइँसम्म ल्याउन सचिव रमेश खड्का, कोषाध्यक्ष ओमप्रकाश तिवारी, सदस्यहरु पदमदेव गिरी, टोपबहादुर महतरा, साजन केशी लगायतको अहम भूमिका छ । यात्रुहरुको मागअनुसारको सेवा प्रवाह गर्न सुदर्शन श्रेष्ठ, महेन्द्र शाही र प्रमोद हमालबाट सल्लाह लिइरहेको जुनीको कथन छ ।

‘सानैमा अभिभावक गुमाएँ । किनेरै खानुपथ्र्यो । त्यो अवस्थामा मलाई गाडी लाइनले नै बाँच्न सिकायो’ जुनीले थपे, ‘दवाब र थिचोमिचो नसहने र गाडी क्षेत्रका सबै कर्मचारीहरु समान हुन् र उनीहरुकै निम्ती काम गर्नुपर्छ भन्ने स्वभावकै कारण सबैको साथ पाएको छु ।’

भोलीको योजना

देउती नागरिक यातायात प्रालिलाई नै व्यवस्थित र मर्यादित यातायात बनाउने राणनीतिमा जुनी छन् । सुर्खेत–काठमाडौं रुटमा सञ्चालन गर्दै आएका बसहरु अझ थप सुविधासम्पन्न थप्ने तयारीमा लागेका जुनीले प्रालिमा आवद्ध व्यवसायीहरुले तिर्नुपर्ने कर प्रालि स्वंयम्ले तिर्दै आएको बताउँछन् ।

आफ्नो प्रालिमा आवद्ध सवारी चालक, सहचालक र अन्य कर्मचारीहरुका छोराछोरीहरुलाई निःशुल्क पढाउनका लागि स्कुल सञ्चालनको तयारीमा जुनी होमिएका छन् । सबै व्यवसायीहरु समान हुन् भन्ने नबुझ्दा सम्म यातायातलाई व्यवस्थित बनाउन नसिकने बताउने जुनीले कसैको भावनामाथि खेलवाड नगरेर प्रालिलाई अब्बल बनाउने मार्गमा अग्रसर रहेको उल्लेख गरे ।

‘जिन्दगीमा चुनौतीसँग जुध्दै आएँ । बरु ज्यान दिन तयार हुन्छु, तर अत्याचार टुलुटुलु हेरेर बस्न सक्दिन’ जुनी भन्छन, ‘सत्मार्गमा हिँड्न विचलन मनमा नभए जिन्दगीमा थुप्रै चुनौती पार गर्न गाह्रो छैन । तर जुनसुकै पेशा व्यवसायमा आवद्ध भए पनि कामप्रतिको लगाव भने छाड्नु हुँदैन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार