सुत्केरी उद्दारमा हेलिकप्टरको दुरुपयोग

कालिकोट : जिल्लामा आपतकालिन अवस्थामा हेलिकप्टरमार्फत सुत्केरी उद्दार गर्ने राष्ट्रपति उत्थान कार्यक्रमको व्यापक दुरुपयोग भएको स्वास्थ्यकर्मीले नै बताएका छन् । जिल्लामा गत साउनयता उद्दार गरिएका ४ वटा सुत्केरीमा ३ वटा सुत्केरीलाई उद्दार गर्नै नपर्ने अवस्थामा उद्दार गरिएको स्वास्थ्यकर्मीको दावी छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा कार्यरत डा. विज्ञान प्रजापतीले जिल्लामै सुत्केरी हुनसक्ने सामान्य सुत्केरीलाई पनि हेलिकप्टरमार्फत सुर्खेत लगिएको बताए । उनले भने, ‘कहाँ कसरी हेलिकप्टर आएर सुत्केरीलाई लैजान्छ थाहै छैन् । गाउँमा सुत्केरीको अवस्था जटिल भएपछि पहिले जिल्लामा जानकारी हुनुपर्छ । त्यसो हुँदैन । गाउँमा हेलिकप्टर मागाइसकेपछि मन्त्रालयबाट खबर पाइन्छ ।’

उनले जिल्लाबाट हेलिकप्टरमार्फत उद्दार गरिएका गत साउन महिना यता ४ जना सुत्केरीमध्ये एकजना त सुत्केरी नै नभएको र ३ जनामध्ये एकजना मात्र वास्तविक समस्या भएर उद्दार गरिएको बताए । रास्कोट नगरपालिका स्वास्थ्य संयोजक हंशराज बरालका अनुसार गत कार्तिक २१ गते रास्कोट नगरपालिका १ निवासी २५ वर्षीया रत्ना शाहीलाई हेलिकप्टरमार्फत उद्दार गरी प्रदेश अस्पताल पु‍¥याएर आमा र बच्चाको ज्यान बचाइयो ।

उनको बच्चा उल्टो, नाबी अगाडि देखिएको र लामो समय व्यथा लागेकाले आकास्मिक उद्दार गर्नु परेको हो । डाक्टर विज्ञान प्रजापतीले भने, ‘ती रास्कोट नगरपालिका १ की रत्ना शाहीबाहेक अरु तीनजना महिलालाई उद्दार नै गर्नुपर्ने अवस्था थिएन । डाक्टर प्रजापतीकाअनुसार गत शुक्रबार मात्र जिल्लाको नरहरीनाथ गाउँपालिका ७ निवासी

भरत बटालाकी पत्नी २१ वर्षीया शान्ति बुढा बटालाको हेलिकप्टरद्वार उद्दार गरियो । उनीलाई सामान्य सुत्केरी व्यथा लागेको थियो । उनलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत पु‍¥यायो । त्यहाँ उनले सामान्य अवस्थामा शिशुलाई जन्म दिइन् । उनलाई जिल्लामै सुत्केरी गराउन सकिने अवस्था थियो । जिल्लामा खबर नै नगरी हेलिकप्टर मगाएर सुर्खेत लगियो । यस्तै, गत मंसिरमा पलाँता गाउँपालिका ७ की पवित्रा बम ४ महिना ९ दिनकी गर्भवती थिइन् ।


उनी दाउरा लिन वन गएको समयमा एक्‍कासी रक्तश्राव भयो । उनलाई स्वास्थ्य चौकीमा ल्याइयो । उपचार गरियो । सुधार भइसकेपछि हेलिकप्टर मगाएर सुर्खेत लगियो । यस्तै गत असोज महिनामा सान्नीत्रिवेणी गाउँपालिका ५ की स्वसिता शाहीलाई बर्थिङ सेन्टरमा बच्चा जन्मिहाल्छ भन्दा भन्दै स्ववास्थ्यकर्मीलाई दबाब दिएर रिफर गर्न लगाइयो । तर, गत पुस २ गते नरहरीनाथ गाउँपालिका ९ की पावर्ती दर्जी सुत्केरी हुन नसकेरै ज्यान गयो ।

उनलाई स्वास्थ्य चौकी लालुले जिल्ला अस्पताल लिनका लागि रिफर गरेपनि घरपरिवारले पैसा छैन बढी खर्च हुन्छ भनेर घरमै राखे । दुई दिनपछि सुत्केरी हुन नसकेर ज्यान गयो । कसैले हेलिकप्टरबाट उद्दार गर्नका लागि पहल गरिदिएन् । यस्तै यही माघ ११ गते पलाँता गाँउपालिका ३ की पिरना रोकायाको अवस्था पनि निकै जटिल थियो । बच्चा उल्टो भएकाले हेलिकप्टरबाट उद्दारका लागि पहल गरियो । अघिल्लो दिन नररहरीनाथ गाउँपालिकाकी सामान्य सुत्केरीका लागि हेलिकप्टर लगेकाकाले भोली पल्ट भन्ने बित्तिकै हेलिकप्टर आएन् । हेलिकप्टर नआएपछि स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज संकर बरालले सुत्केरीको अवस्था जटिल भएकाले जिल्ला अस्पताल लैजान आग्रह गरे ।

तर आफन्तले बरु बच्चा जेसुकै होला आमालाई बच्चाइदिनुस् । हामी कही लैजादैनौं भनेपछि शनिबार राती सुत्केरी भइन । बच्चा बचेन । आमालाई बचाइयो । स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज बरालले भने, धन्न आमालाई बचाइयो ।’जिल्ला स्वास्थ्य सेवा कार्यालयमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत सुत्केरी महिलाको उद्दार गर्ने लक्ष्य लिएपनि कालिकोटमा सदुपयोग नभएको बताए ।
उनले भने,’ जिल्लामा दिन सकिने सेवाकै लागि राज्यको खर्चले सुत्केरी महिलालाई किन बाहिर लिन जरुरी थिएन । वास्तविक समस्या परेका महिलाको उद्दार हुनुपर्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार