सल्यान : धेरै पढेर डाक्टर, इन्जिनियर र अधिकृत बन्नुपर्छ भनेर गाउँघरदेखि शहर बजारसम्म अभिभावकले आफ्ना छोराछोरीलाई भन्ने गर्छन् । कतिपय शिक्षित भनिएकाहरू स्वरोजगार हुनेभन्दा विदेशमा गएर तल्लो स्तरको काम गर्न तयार हुन्छन् ।
तर यसबीचमा यस्ता युवा पनि छन् जसले स्नातकोत्तरसम्म पढेर पनि मूर्ति बनाउने पेशालाई निरन्तरता दिएर मनग्ये आम्दानी गरी रहेका छन् । सल्यानको बागचौर नगरपालिका ९ मा जन्मिएका टोपेन्द्र डाँगीले मूर्ति बनाउने पेशालाई व्यावसायिक बनाएका छन् । सरस्वती पूजाका बेला उनलाई मूर्ति बनाउन र शिलालेख बनाउन भ्याइ–नभ्याई छ ।
जिल्लामा शिलालेख लेख्ने उनी एक मात्र मूर्तिकार हुन् । बागचौरमा उनले टोपेन्द्र कला केन्द्र खोली काम गर्दै आइरहेका छन् । मासिक ५० हजार आम्दानी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर गरेका डाँगीले मूर्ति र शिलालेखबाट मासिक ५० हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । उनले भने, ‘सल्यानमा मूर्ति र शिलालेख बनाउने म मात्रै हो । विभिन्न विद्यालय सार्वजनिक स्थलमा मूर्ति बनाउन धेरै ठाउँबाट माग हुने गरेको छ ।’
बिहान ७ बजेदेखि राति अबेरसम्म मूर्ति बनाउनमै व्यस्त रहने गरेको उनले बताए । आफनो दैनिकी अधिकांश समय मूर्ति बनाउनमै जाने गरेको उनको भनाइ छ ।
मूर्ति, आर्ट र शिलालेखबाट सबै खर्च कटाएर वार्षिक ६ लाख बढी हुने गरेको बताउँदै उनले एउटा मूर्ति १५ हजारदेखि ५० हजारसम्म बिक्री हुने गरेको बताए । उनले भने, ’मूर्तिको साइजअनुसार १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको छु ।
’ दुईजनालाई रोजगारी स्वदेशमा रोजगारी नपाएको भन्दै धेरै युवा विदेश पलायन भइरहेको अवस्थामा डाँगीले दुई जनालाई रोजगारी दिएका छन् । आफू स्वरोजगार हुनुका साथै दुई जनालाई रोजगारी दिएको उनको भनाइ छ । पेसा व्यवसाय सानो ठूलो नहुने बताउँदै उनले सामान्य खालको पेसा व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ ।
युग संवाददाता । । १७ माघ २०७६, शुक्रबार १२:१४