टिप्परले ज्यान लिएपछि सुर्खेतमा आन्दोलन उग्र, बालकको दाँतनै झ¥यो

ओम शाही/दिनेश बुढा/नविन सुवेदी

सुर्खेत : मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शन उग्र बनेको छ । विहीबार बिहान वीरेन्द्र चोकमा प्रहरीको छोडुवा लट्ठी लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा दैलेखका ११ वर्षीय बालकलाइ छोडुवा लट्ठी लाग्दा उनको ओठ काटिएको छ भने दाँत पनि झरेको छ ।

सयौंको संख्यामा आन्दोलनकारी सडकमा आएका छन् । टिप्पर चालक र मालिक हरि बिसीलाई जन्मकैद हुनुपर्ने माग राख्दै पीडित परिवार आन्दोलनमा उत्रिएका हुन् । अहिले सुर्खेतमा सवारी साधन ठप्प पारिएको छ । पसलहरु बन्द गरिएका छन् । प्रहरी धरपकडमा उत्रिएको छ भने केही प्रदर्शनकारीलाई वीरेन्द्रचोकबाट नियन्त्रणमा लिएको छ ।

मंगलबार प्रहरीले बल प्रयोग गरी शव उठाएपछि स्थिति तनावग्रस्त बनेको हो । मृतकका केही आफन्तले शव उठाउने र दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रशासनसँग सहमति गरेका थिए । तर केही आफन्तले भने आमा कालिकोट र बुबा भारतबाट नआएसम्मका लागि शव नउठाउने अडान लिएका थिए । आफन्तले शव उठाउने सहमति गरिसकेको भन्दै प्रहरीले बल प्रयोग गरेर घटनास्थलबाट शव उठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बालबालिकालाई सडकमा नआउन आग्रह गरेका छन् । ‘भीड अनियन्त्रित भएको छ । हामीले घर भित्रै बस्न आग्रह गरेका थियौं’ उनले भने, ‘पेट्रोल नै बोकेर हिँडिरहेको भीडलाई नियन्त्रणमा लिँदा त्यस्तो भएको होला ।बालबालिकामाथि आक्रमण गर्नेहाम्रो कुनै मनसाय होइन । आफ्ना बालबालिकालाई घर भित्रै राख्न आग्रह गर्दछु ।’ डिएसपी रावलले करिब एक दर्जन जतिलाई पक्राउ गरेको जानकारी दिएका छन् । घाइते भएका बालक नेपालीलाई अभिभावकको जिम्मा लगाइएको छ भने उपचार खर्च सरकारले व्यहोर्ने उनको भनाई छ ।

हेर्नुहाेस भिडीयाे

 

तपाईको प्रतिक्रिया