अब बिहेका लागि नागरिकता देखाउनु पर्ने

सल्यान : के तपाइ आफ्ना छोराछोरीको विवाहका लागि जैशी र पुरोहितकहाँ चिना या साइत हेराउन जाँदै हुनुहुन्छ ?

यदि जाँदै हुनुहुन्छ भने एकपटक सोच्नुस के आफ्ना छोराछोरी विवाह गर्ने उमेर (२० वर्ष पुरा) का भए ? यदि भएका छन् भने मात्र जैसी, परोहित र पास्टरका घरमा जानुस अन्यथा तपाईका छोराछोरीको चिना साइत हेर्ने छैनन् । सल्यानका जैसी तथा पुरोहितहरूले अबदेखि जन्मदर्ता तथा नागरिकता देखाएर २० वर्ष पुरा भएका युवायुवतीको मात्रै चिना र साइत हेर्ने निर्णय गरेका छन ।

जिल्लामा बालविवाह र यसरी भएको वैवाहिक जीवन व्यवस्थित नहुँदा आत्महत्याको दर बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयको सक्रियतामा जिल्लाभर बालविवाह न्यूनीकरण अभियान सञ्चालन भइरहेको छ । अभियानकै शिलशिलामा जिल्लामा रहेका जैसी र पुरोहितले जन्मदर्ता तथा नागरिकता अनुसार विवाह गर्ने उमेर पुगेरनपुगेको निश्चित भएपछि मात्रै चिना र साइत हेर्ने प्रतिवद्धता जनाएका छन् ।

उनीहरुले जन्मदर्ता तथा नागरिकता हेरेर मात्र लगन र साइत जुराउने, चिना हेर्ने काम गर्ने बताएका छन्न् । कानुनी रुपमा दण्डनीय रहेको बालविवाह न्यूनिकरणका लागि आफूहरुको पनि साथ सहयोग हुने छत्रेश्वरी गाउँपालिका १ दमाचौरका पुनराम जैसीले बताए ।

सानो उमेरमा नै लगन हेर्ने र साइत जुराउनेजस्ता कार्य बालविवाहलाई प्रोत्साहन तथा सहयोग गर्ने कार्य भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उमेर नपुग्दै बालविवाह गरे गराए वा उक्त कार्यमा संलग्न भएको पाइए तीनवर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुने खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!