विपदबाट हुने नोक्सान घटाउन जुट्यो प्रदेश सरकार

सुर्खेत : प्राकृतिक प्रकोप र विपद् पूर्व सूचना दिएर आउँदैनन् । अर्थात् यस्ता घटनालाई नियन्त्रण नै गर्न सकिदैन । तर मानवीय प्रयासबाट यस्ता विपद्लाई न्यूनिकरण र क्षतिलाई कम गर्न सकिन्छ । विपद्जन्य घटनाले मानविय र भौतिक रुपमा ठूलो नोक्सान हुन थालेपछि कर्णालीमा प्रदेश सरकारले विशेष रणनीति बनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा बाढी, पहिरो, आगलागी, असिना, हावाहुरी, महामारी जस्ता विपद्का घटनाबाट हुने क्षति न्यूनिकरण गर्न दशवर्षे रणनीतिक कार्ययोजना तयार पारेको हो । उक्त कार्ययोजनामा सन् २०२० देखि सन् २०३० सम्म गर्नुपर्ने रणनीति र लक्ष्यहरु समावेश छन् । सन् २०२२ सम्म अल्पकालिन, २०२५ सम्म मध्यकालिन र २०३० सम्म दीर्घकालिन लक्ष्य कार्ययोजनाले समेटेको छ ।

मुख्यगरी विपद्बाट मृत्यु हुनेको संख्या, प्राभावित हुने परिवार, घाइते हुने व्यक्ति, भवन तथा आर्थिक क्षति र आधारभूत सेवा तथा महत्वपूर्ण पूर्वाधारहरुको प्रवलिकरण गर्ने कार्ययोजनाको लक्ष्य छ । केन्द्र, प्रदेश र पालिकाहरुको समन्वयमा विपद् जोखिमलाई न्युनिकरण गर्ने योजना प्रदेश सरकारको छ । विगतमा भएका विपद्का घटनाहरुको तथ्याङ्कका आधारमा प्रदेशमा पूर्ववत् तयारीमा तीव्रता दिइएको मन्त्रालयले तयार गरेको मस्यौदामा उल्लेख छ ।

१० वर्षसम्म विपद् जोखिम न्यूनिकरण गर्न योजना आयोग, सबै मन्त्रालय तथा पालिकाहरुले कार्ययोजना अनुसार लेखाजोखा, अनुगमन, प्रभावकारी सूचना प्रणाली, अध्ययन, अनुसन्धान र सचेतना अभिवृद्धिका कामहरु प्राथमिकतामा साथ अघि बढाउने छन् । कार्ययोजनाले विपद् अघि र विपद्पछि गर्नुपर्ने सम्पूर्ण तयारीलाई समावेश गरेको छ । प्रदेशमा विपद् पूर्वतयारी र न्यूनीकरणलाई प्रभाकारी बनाइने तथा खोज, उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्मालाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी मन्त्रालयले कार्ययोजना बनाएको हो ।

यही कार्ययोजनालाई मुर्तरुप दिन मन्त्रालयले मस्यौदामाथि सुझाव संकलन गरिरहेको छ । मन्त्रालयले विपद्को जोखिम न्यूनिकरण गर्न १० वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथि सुझाव संकलन गरिरहेको छ । विपद्को सामाना गर्न रणनीतिक कार्ययोजना अनुसार काम अघि बढाउने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको भनाइ छ । मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्दै कर्णालीका सबै स्थानीय तहमा दमकल उपलव्ध गराउने र हरेक वडाहरुमा हेलीप्याड पनि निर्माण गरिने जनाएको छ ।

बाढी र आगलागीका घटना धेरै

पछिल्लो तथ्याङ्कका अनुसार कर्णालीमा आगलागी र बाढीका घटना धेरै हुने गरेको देखाएको छ । नौ वर्षको अवधिमा तीनसय ८७ वटा आगलागीका घटना भए ।
त्यसबाट पाँचसय १८ घरमा क्षती पुगेको छ ।

यस्तै बाढीका एकसय २८ घटनामा चार हजार तीनसय ११ घरमा क्षति पुगेको छ । भूकम्पबाट तीन हजार ८३, पहिरोबाट चारसय १३, भिषण वर्षाबाट दुईसय सात, चट्याङ्गबाट १८, डढेलोबाट १६ घरमा क्षति पुगेको छ । गतवर्ष मात्र बाढीपहिरो र वर्षाबाट ८८, आगलागीबाट ९२ र चट्याङ्गबाट दुई घरमा क्षति पुगेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

सात वर्षमा ११ अर्बको क्षति

विपद्का घटनाबाट कर्णालीमा सात वर्षमा १० अर्बभन्दा बढीको आर्थिक क्षति भएको छ । सन् २०११ देखी २०१८ सम्मको तथ्याङ्कक अनुसार कर्णालीमा १० अर्ब ८५ करोड ४२ लाख १६ हजार ६ सय ३१ रुपैयाँको बराबरको क्षति भएको हो ।

सबैभन्दा बढी आर्थिक क्षति सुर्खेतमा भएको छ । सुर्खेतमा १० अर्ब २१ करोड ८७ लाख १७ हजार ६८ रुपैयाँ बराबरको क्षति भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । सन् २००९ देखी २०१८ सम्ममा प्रदेशमा एक हजार एकसय १३ वटा विपद्का घटना भए ।

ति घटनामा कर्णालीमा आठसय ८७ जनाको मृत्यु भएको छ । यस्तै १९ हजार तीनसय ५५ परिवार प्रभावित भए । विपद्का घटनाबाट एकसय ९७ जना वेपत्ता भएका छन् । त्यसैगरी आठ हजार आठसय ६१ भवनमा क्षति पुगेको छ ।

गत आर्थिक वर्षमा मात्रै दुईसय ४६ ठाउँमा भएका विपद्का घटनाबाट ४१ जनाको मृत्यु भयो भने ७४ जना घाइते भए । भौतिक संरचनातर्फ पूर्णरुपमा एकसय ८२ र आंशिक रुपमा ६८ घर क्षति भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विनोदकुमार गौतमले जानकारी दिए ।

विपद्मा ज्यान गुमे दुईलाख

विपद्का घटनामा नागरिकको ज्यान गुम्न थालेपछि प्रदेश सरकारले विपद्सँग जुध्न विभिन्न योजना अघि सारेको छ । प्राकृतिक विपद्बाट कर्णालीका नागरिकको मृत्यु भएमा प्रदेश सरकारले मृकतका परिवारलाई दुईलाखका दरले राहत स्वरुप उपलब्ध गराउनेछ ।

विपद् बीमा अन्तर्गत यो राहत उपलब्ध गराइने छ । यसअघि एकलाख भनिए पनि अब दुईलाखका दरले राहत दिनेगरी कार्यविधि संशोधन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । प्रदेश सरकारले नै प्रदेशका सबै नागरिकको विपद् बीमा गरिदिएको छ ।

यस्तै अब कर्णालीमा काम गर्ने कर्मचारीको विपद्मा मृत्यु भएमा उनीहरुका परिवारले पनि प्रति व्यक्ति दुईलाख रकम पाउनेछन् । यसअघि कर्णालीबासीलाई मात्र भनिए पनि अब प्रदेश बाहिर स्थायी घर भएका तर कर्णालीमा काम गर्ने कर्मचारीलाई पनि राहत दिने सरकारले जनाएको हो । विपद्को सामना गर्न प्रदेशका दश हजार घरको बीमा गर्ने कार्यक्रम लागुगर्ने तयारीमा रहेको मन्त्री भण्डारीले जानकारी दिए ।

हरेक पालिकामा जनभकारी स्थापना गर्न लागेको बताएका मन्त्री भण्डारीले भने, ‘जनभकारीमा आवश्यक पानी, खाद्यान्न राहत सामग्री लगायतको प्याकेज अनिवार्य रहनेछ ।’ विपद्को सामाना गर्न सबै पालिकामा विपद् व्यवस्थापन दुत परिचालन गर्ने, झटपट झोला र पारिवारिक विपद् सुरक्षा योजना कार्यक्रम पनि लागु गर्न लागेको मन्त्री भण्डारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया