एउटा लडाई जिते, अर्को युद्ध बाँकी छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तवादविरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताएका छन् । आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणासभा तथा सपथ ग्रहण समारोहमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘हामी अझै एकताबद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धी प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ ।’

जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रम मात्र हुन जाने उनको भनाई थियो । उनले भने, ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ ।’


अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिबीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताए । उनले अगाडि भने, ‘तर कम्युनिस्टहरुले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जुवाहरु र साम्राज्यवादीहरुले भनेको भन्दा विल्कुल फरक कुरा हो । यही निर कहिले काँही बुद्धिजीविहरु पनि भ्रममा पर्ने गर्दछन् ।’

जातीय हक अधिकार साप्रदायिकताको बिषय नभई मुक्ति र समानताको बिषय भएको बताउनुहुँदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको प्रचण्डले स्पष्ट पारे । ‘जबसम्म वर्गीय मुक्ति र जातीय मुक्तिको ठीक ढंगले परिभाषित गरेर अगाडि बढिदैन, न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ’ प्रचण्डले भने ‘त्यसकारण कम्युनिस्ट पार्टीको निम्ति र माक्र्सवादीहरुको निम्ति निकै ठूलो सैद्धान्तिक र रणनैतिक महत्वको प्रश्न हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार