कोरोना भाइरसबाट चीनमा ८१ को मृत्यु

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले ८१ जनाको मृत्यु भएको र झण्डै तीन हजार भन्दा बढी संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राती सो आयोगले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ। यस कोरोना भाइरसबाट निको भएर एक हजार भन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएका छन् । घर फर्किएकाहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।

उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसीमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ ।

सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।

सङ्क्रमणले नेपालसहित अमेरिका, अष्ट्रेलिया, क्यानडा, सिंगापुर, जापान, भियतनाम, मलेसिया, फ्रान्स, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको छ । यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ ।

चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ । उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया