सम्पादकीय : पारिवारिक विखण्डन

सम्बन्ध प्रगाढ र बलियो हुनु पर्दछ । चाहे त्यो साथीको होस् या पेशागत । सम्वन्धले एक अर्कोमा विश्वास र सदभाव पैदा गर्नु पर्दछ । त्यसमा पनि विहेपछिको सम्बन्ध प्रेमिल र सुखमय होस् भन्ने चाहना हरेक जोडीको हुन्छ । अझ प्रेम विवाह गरेका जोडीले विहे पछिको सम्बन्धलाई रंगिन् बनाउने कसम नै खाएका हुन्छन् ।

त्यसकारण पनि विवाहित जोडी र उनीहरुका आफन्तका लागि सम्बन्धविच्छेद अर्थात् (डिभोर्स) अप्रीय घटना हो । तर पछिल्लो समय सम्बन्धविच्छेदका घटनाहरु बढेका छन् । अदालत र प्रहरीको तथ्याकंलाई केलाउँदा पनि यसलाई पुष्टी गर्दछ । अदालतमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दाको चाङले पनि समाजमा पारिवारिक सम्बन्ध कस्तो रहेछ भन्ने देखाएको छ ।

समाज जति आधुनिक र शिक्षित बन्दै गएको छ, त्यति नै अपराध पनि बढ्दो छ । आधुनिकताको नाममा हतारमा विहे गर्ने र फुर्सदमा पछुताउने जोडीको संख्या पनि बढ्दो छ । विशेषगरी प्रेम विवाह गरेका जोडीले नै डिभोर्स माग्दै अदालतमा धाउनेक्रम बढेको पाइएको हो । सम्बन्धविच्छेद बढेपछि अधिकांश परिवार टुक्रिन थालेका छन् पनि उनीहरुका बालबालिका अलपत्र परिरहेका छन् । यसले अपराध पनि बढाइरहेको छ ।

विगतमा महिलालाई मात्र डिभोर्सका लागि उजुरी अर्थात निवेदन दिने व्यवस्था थियो । तर पछिल्लो समय पुरुषका लागि पनि कानुनले डिभोर्सका लागि निवेदन दिने बाटो खोलिदिएको छ । योसँगै जिल्ला अदालत सुर्खेतमा डिभोर्स माग्दै जाने पुरुषहरुको संख्या पनि बढेको पाइएको छ । अदालतका अनुसार विहे गरेको तीन महिना वित्न नपाउँदै अधिकांश जोडीले डिभोर्स गर्ने गरेका छन् । वर्षौंसम्म प्रेममा रहने र विहे गरेको तीन महिनामै नटिक्ने अवस्था कसरी आउँछ त ? अर्थात संगै बाँच्ने कसम खाएका जोडीहरु बिचमै किन अलग हुन थाले त ? यसको उत्तर खोज्न जरुरी भइसकेको छ ।

डिभोर्सका कारण पारिवारिक विखण्डन आउन थालेको छ । एकले अर्कोलाई नबुझ्दा जोडीहरु अलग हुने र बालबालिकाको भविश्य अलपत्र बनाउने काम भइरहेको छ । यसले क्षणभरका लागि डिभोर्स गर्ने जोडीहरुलाई खुशी मिल्ला । तर कलिला बालबालिकालाई सजाय दिनु राम्रो होइन । यसले बालबालिकालाई अपराध गर्न उत्प्रेरित गरिरहेको हुन् ।

अधिकांश पुरुषले आफ्नो श्रीमती सम्पर्कमा नआएको, विदेशबाट पठाएको पैसा अपचलन गरेको, अर्कैसँग हिँडेको र अवैध सम्वन्ध राखेकोजस्ता आरोप लगाएर डिभोर्स माग्दै अदालतमा मुद्दा दर्ता गर्न थालेका छन् । यस्तै महिलाले पनि हिंसा गरेको, मदिरा सेवन गरेर दुख दिएको र अर्कै महिलासँग सम्बन्ध बढाएको आरोप लगाउँदै डिभोर्स गर्ने गरेका हुन् । झट्ट हेर्दा दुबैका दाबी सही लाग्न सक्छन् ।
तर जोडिएको सम्बन्ध टुट्नु राम्रो पक्कै होइन ।

विहेअघि आफैले मन पराएको मान्छे विहेपछि किन मन पर्दैन त ? यसको एउटै कारण हो, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु । एकले अर्कोको भावनालाई सम्मान गर्न सकेमा यो समस्या समाधान हुन सक्छ । यसकारण समाजलाई एकिकृत बनाउन र पारिवारिक मिलन कायम राख्नका लागि त्यही प्रकारकारे शिक्षा र कानुन आवश्यक छन् ।

तपाईको प्रतिक्रिया