सरकारले निजामति स्कूल खोल्नुुपर्छ

धनप्रसाद शर्मा पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका लेखाअधिकृत हुन् । बुवा पुरीचन्द्र शर्मा र आमा नानी शर्माबाट पहिलो सन्तानका रुपमा २०३९ असार २२ गते जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ रणखानामा उनको जन्म भएको हो । विकट र कृषक परिवारमा जन्मिएका शर्मा सानै उमेरदेखि संघर्षमा रमाए । कष्टपूर्ण बाल्यकाल, कमजोर आर्थिक अवस्थाले सानोमा सधै अफ्ठेरोसँग लुकामारी खेलिरहनु प¥यो । तर संघर्ष र परिश्रमबाट हारेनन् । यही निरन्तरको मेहनतले नेपाल सरकारको सातौं तहको अधिकृत हुने अवसर पाए । नेपालको निजामति क्षेत्र र आफ्नो संघर्षपूर्ण जीवनकहानी उनले यसरी साँटे :
धनप्रसाद शर्मा
(लेखा अधिकृत) पशुपंक्षी विकास निर्देशनालय

पढाइमा एकपटक मात्र प्रथम भएँ

अध्ययनका क्रममा जीवनमा एक पटक मात्रै (कक्षा १ मा) प्रथम भएँ । घरमा घाँसदाउरा र मेलपात गर्नुपर्ने भएका कारण बाल्यकालमा पढाइलाई राम्रो बनाउन सकिन । दिनमा आठ घण्टा मात्रै (बिहान विद्यालय जाँदा विद्यालयबाट घरफर्कदासम्म) मात्रै कापी कितावसँग भेट हुन्थ्यो ।

विद्यालय बन्द भएको दिन कापी किताव छुनसम्म पाउँथिन । औपचारिक शिक्षा २०४७ सालबाट विद्यालय गएँ । गाउँकै रोग्नी जनजागृति प्राथमिक विद्यालयबाट कक्षा तीनसम्म अध्ययन गरेँ । प्राथमिक विद्यालयमा चुलेलगाउँबाट चार र पाँच र ६ देखि एसएलसीसम्म अध्ययन भैरव माध्यमिक विद्यालय नराकोट पुरा गरेँ ।

६ वर्षपछि परिवारसँग भेट

२०५६ मा एलएलसीपछि आर्थिक अवस्था कमजोर भएकै कारण एक वर्ष पढाई रोकेँ । एक वर्षको अन्तरालपछि महेन्द्र बहुमुखी क्याम्पसबाट स्नात्तकसम्मको अध्ययन पुरा गरेँ । तर कहिल्यै पनि कक्षामा गएर पढ्न पाइन ।

अध्ययनका लागि ६ महिना भारतका विभिन्न ठाउँमा गएर गलैचा, राडीपाखी (कपडाहरु) बच्ने काम गर्थेँ र ६ महिना नेपालगञ्ज आएर अध्ययन् गर्थेँ । उबेला युवाहरु गाउँमा बस्न सक्ने वातावरण थिएन तत्कालिन माओवादीले थालेको शसस्त्र बिद्रोहका कारण गाउँमा बसे माओवादी हुनुपर्ने बाधात्मक अवस्था थियो ।

जसले गर्दा २०५७ देखि ०६३ सम्म परिवारसँग भेट हुने अवसर पनि पाइएन । त्यो बेला निकै संघर्ष गरेर क्याम्पस पढियो । घरको मायाले निकै सताउँथ्योे । कहिलेकाँही हुलाकबाट घरमा चिठ्ठी पठाउँथेँ । रेडियो नेपालबाट देशप्रदेश कार्यक्रममा फोन गरेर म आरामै छु, गाउँका आफन्त र परिवारलाई सम्झेको छु भन्थेँ । रेडियो सुनेका दाजुभाइले घरसम्म खबर पु¥याउँथे । शान्ति प्रक्रियापछि मात्रै घर पुगेँ ।

घर पुगेको दुई दिनमा जागिर

२०६२/०६३ को जनआन्दोलनपछि २०६३ साल साउन ३ गते घर गएँ । घर पुगेको थाहा पाएपछि स्थानीयले गाउँमै पढाउन सल्लाह दिए । घर पुगेको दुई दिनपछि गाउँमै जागिर मिल्यो ।

२०६३ साउन ५ गतेबाट मालिका मावि खिचनेमा अध्यापन गराउन थालँे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै घरमा आएर शिक्षक बन्न अनुरोध गरेपछि मासिक चार हजार तलवमा शिक्षक भएँ । २०६३ चैत्र ९ गतेबाट २०७० कार्तिक १० गतेसम्म मालिमा मावि धापामा पढाएँ । घर हुने र सुरुमा दुई हजार बढी तलव पाएपछि मैले खिचने विद्यालय छोडेर धापा आएको थिएँ ।

स्थायी जागिरका लागि निजामति रोजेँ

२०५६ सालमा तत्कालिन गृहमन्त्री गोविन्दराज जोसीले कर्मचारी मिलन केन्द्रको उद्घाटन गरेको देखेँ । तर निजामति कर्मचारी के हो भनेर थाहा पाएन । धेरै समयपछि निजामतिको सेवा सुविधा र अवसरको बारेमा बुझेँ । २०६७ सालसम्म मलाई निजामति कर्मचारीको लागि ट्यूसन पढाइ हुन्छ भन्ने थाहा पाएँ ।

श्रीमतिले आफन्तहरुबाट निजामतिको जागिर र सेवा सुविधाबारे बुझेकी रहेछिन् । त्यही अनुसार मैले निजामति सेवातर्फ रुची राखेँ । उबेला शिक्षक सेवा आयोग खुल्ने पनि निश्चित थिएन । शिक्षकभन्दा निजामति कर्मचारीलाई समाजले सम्मान गर्ने भएका कारण स्थायित्वका लागि शिक्षक पेशा त्यागेर निजामतिमा प्रवेश गरेँ।

एकैवर्ष चार ठाउँमा नाम निस्कियो

२०६९ सालको पुस र माघमा विद्यालयमा चिसो विदा भयो । त्यही चिसो विदाको मौकामा लोकसेवाको तयारीका लागि काठमाडौँ पुगेँ । त्योभन्दा पहिले विद्यालय निरीक्षकको अध्ययन पनि गरेको थिएँ ।

२०६९ फागुन १० गते किताव किनेर लोकसेवा आयोगको तयारी गरेँ । २०७० साल कार्तिकमा नावय सुब्बा उत्तीर्ण भएपछि डिभिजन सहकारी कार्यालयबाट औपचारिक रुपमा निजामति सेवामा प्रवशे गरेँ ।
२०७२ मंसिरसम्म जुम्लामै बसेँ । २०७० सालमा बैशाख लोकसेवा, जेठमा शिक्षक सेवा र असारमा जिल्ला विकास समितिको आलेप शाखा प्रमुखमा र सलेपमा गरी चार ठाउँमा परीक्षा दिएँ ।

संयोगबस चार ठाउँमा नाम निस्कियो । लोकसेवामा उत्तीर्णपछि कात्तिकमा सुब्बामा जागिर खाएँ । मंसिरमा शिक्षक सेवा आयोगको मावि शिक्षकमा नाम निस्कीयो । त्यही समय आलेप शाखा प्रमुखमा र सलेप उत्तीर्ण भएँ । तर कोही समान तह र कोही सुब्बाभन्दा तल्लो भएका पद भएका कारण अन्य जागिर रोजीन । जागिरको सिलसिलमा जिल्ला स्वास्थ्य कार्यालय मुगु, कोष तथा लेखा नियन्त्रण मुगु, प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौडापछि सुर्खेतमा कार्यरत छु ।

आफ्नै प्रदेश रोजेँ

कर्णाली प्रदेश भौगोलिक हिसावले विकट छ । विकटताकै कारण कर्मचारीहरु आउन मान्दैनन् । म पनि कर्मचारी समायोजनामा बागमती प्रदेशको हेटौडामा गएको थिएँ ।

तर कर्णालीका नेताहरु जनार्दन शर्मा, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नरेश भण्डारी लगायतका नेताहरुले कर्णालीका कर्मचारीहरु कर्णालीमा फर्किनुपर्छ, आफ्नै प्रदेश सेवा गर्नुपर्छ भनेपछि सुर्खेत आएको हुँ । अहिले पशुपन्छि विकास निर्देशनालयमा कार्यरत छु ।

निजामति स्कूल खोल्नुपर्छ

अन्य देशहरुको तुलनामा नेपालका निजामति कर्मचारीहरुको सेवा सुविधा निकै कम छ । बढ्दो महगींकै कारण तलवले परिवार पाल्नसमेत मुस्किल हुन्छ । जसकाकारण केही कर्मचारीहरुमा भ्रष्टाचारमा डुबेका छन् ।

कतिपय लोभी मनका कर्मचारीहरु र खर्च धान्न नसक्दा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको छ । तर अब सरकारले जसरी निजामति कर्मचारीका लागि भनेर निजामति अस्पताल खोलेको छ । ठिक त्यसैगरी कर्मचारीको छोराछोरी अध्ययन गर्न निजामति स्कूल खोल्नुपर्छ । कर्मचारी जुन जिल्लामा सरुवा हुन्छ त्यही जिल्लामा छोराछोरीलाई पढाउने वातावरण बनाउन सकिन्छ ।

अहिले कर्मचारी सरुवा हुने वित्तिकै छोराछोरीलाई कहाँ पढाउने भन्ने चिन्ता हुन्छ । पैसा तिर्नु परे पनि निजामित स्कूल खोलियो भने कर्मचारीलाई छोराछोरी कसरी पढाउँ भन्ने चिन्ता हुँदैन । यसका साथै पावर लगाएर हुने सरुवा बढुवाको अन्त्य हुनुपर्छ । पूर्वानुमान् योग्य सरुवा, आवासको सुविधा र आगामी निजामति ऐनमा कर्मचारी जुनसुकै ठाउँमा सरुवा हुन पाउने प्रावधान ल्याउनु आवश्यक छ । कर्मचारीले पनि हामी जनताका सेवक हौं भनेर काम गर्नुपर्छ ।

आत्मकथाको पुस्तक निकाल्ने छु

जीवनमा खासै दुःख परेको छैन । तर व्यापारका गर्न २०५७ सालमा दार्जलिङ गएको थिएँ । त्यहाँ एक जना व्यक्तिले म भन्सारको कर्मचारी हुँ ।

भन्सार छुटाउन कार्यालयमा आउनु भनेर एक भारी सामान लियो । पक्राउ परिने डरले करिव आठ हजार बढीको सामान छुटाउन गइन । त्यो घटना नै दुःखको क्षण हो । किनकी त्यो आठ हजारको सामान मेरो जीवन धान्ने माध्यम थियो । २०७२ सुब्बा र पछि लेखा अधिकृतमान उत्तीर्ण हुँदा जीवनमा सबैभन्दा खुशी मिल्यो । अवकासपछि जीवनको आत्मकथाको पुस्तक निकाल्ने धोको छ ।

तपाईको प्रतिक्रिया