विकास परिषद् बैठक पञ्चवर्षीय योजना वस्तुनिष्ठ बनाउन सुझाव

सुर्खेत  : प्रदेश योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षिय योजना मस्यौदालाई अझै वस्तुनिष्ठ बनाउनसुझाव दिइएको छ ।

वीरेन्द्रनगरमा शुक्रबार बसेको प्रथम विकास परिषद्का सदस्यहरुले मस्यौदा मुलभूत रुपमा सही भए पनि अझै वस्तुनिष्ठ बनाउन उनीहरुले सुझाव दिएका हुन् । बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेका थिए ।

आधार पत्रमा कर्णालीमा अबको पाँच वर्षमा सञ्चालन गर्ने योजनाहरु समावेश गरिएको छ । ठूला आयोजनाहरु सञ्चालन गर्दा कस्ता–कस्ता रणनीति अपनाउने भन्ने उल्लेख छ । आधारपत्रले सडक, जलविद्युत, सिँचाइ, कृषि, स्वास्थ्य, शिक्षा लगायतको विषय समेटेको छ ।

बैठकमा बोल्दै परिषद् अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीवाशी बनाउने दायित्व सबैको भएको बताए । मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण वनाउन सरकार गम्भीरतापुर्वक लागेको बताउदै पाँच वर्षमा एकहजार एकसय ४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार एकसय डलर पु¥याउने लक्ष्य सरकारको रहेको उल्लेख गरे ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको बताए । जिल्ला सदरमुकाम सम्म सडक नै नपुगेको बेला जलमार्ग, हिमाली एयरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजनाहरु काल्पनिक देखिने धारणा शाहीले राखे ।

वैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरु, कर्णाली प्रदेश भित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया