विकास पर्खदै छरिएका बस्ती

कालिकोट : जिल्लाका ९ स्थानीय तहमा भौगोलिक विकटता र छरिएको वस्तीका कारण घर घरमा विकास पु‍¥याउन समस्या भएको छ ।

एक्लो घर भएका ठाउँमा विकासका सबै पूर्वाधार निर्माण गर्न समस्या हुने गरेको जनप्रतिनिधिको गुनासो छ । ‘बस्तीदेखि टाढा भएका घर विकासको मुल प्रवाहमा जोड्न निकै सकस छ’, रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले भने, ‘भौगोलिक रुपमा विकट बस्ती अहिले विकासको मुख्य बाधक बनेको छ ।’

उनले रास्कोेटका १ देखी ९ वडासम्मका हरेक बस्तीका विकासका सबै पूर्वाधार लान समस्या भएपछि प्रदेश सरकारको सहयोगमा एकीकृत बस्ती निर्माणको थालनी गर्न लागेको बताए ।
‘रास्कोट ७ कर्कलेचाका भन्ने ठाँउमा ९० घर निर्माण गरेर एकीकृत बस्ती निर्माणको अभियान सुरु गरेका छौँ’, बरालले भने, ‘जसको प्राविधिक तयारी अनुसार ४० करोडको लगानी लाग्ने छ ।

प्रदेशकै एकीकृत नमुना बस्ती रास्कोटको कर्कलेचाकाबाट सुरु भएको छ ।’ यिनलाई व्यवस्थित बनाउनका लागि रास्कोट नगरपालिकाका ९ वटै वडामा १३ वटा नमुना एकीकृत बस्ती बनाउँछौँ । कुन वडामा कहाँ बस्ती बनाउने भनेर सम्भाव्यता अध्यायन गरी १३ ठाँउहरु छनोट गरिएको छ।कुनै वडामा जनसंख्याका आधारमा एकदेखि तीन वटासम्म एकीकृत बस्ती निर्माण हुनेछन् ।

विकास निर्माणका पूर्वाधार तयार गर्न ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेको छ । ‘हाम्रो गाउँपालिकामा सडक पुगेको छैन्।सबै बस्तीमा खानेपानीको सुविधा पुगाउन सकिएको छैन्’, शुभकालिका गाँउपालिका अध्यक्ष खडानन्द चौलागाईं भन्छन्, घरहरु यत्रतत्र छरिएका छन् । छरिएको बस्ती विकासको मुख्य बाधक बनेको छ ।’

जिल्लाका अन्य स्थानीय तहमा पनि समस्या उस्तै छ।छरिएर रहेका वस्तीमा विकासका पूर्वाधार लान समस्या रहेको पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

तपाईको प्रतिक्रिया