कुष्ठरोगका बिरामी तिरस्कृत

सुर्खेत : सिमिकोट गाउँपालिका– ८ हुम्लाकी गोला शाही कुष्ठरोग लागेपछि समाजबाट तिरस्कृत भइन् । शरीरमा कुष्ठरोग झाङ्गीदै गएपछि परिवार र समाजबाट लखेटिइन् ।

आफन्तले अरुलाई पनि सर्नसक्ने भन्दै गाउँबाट लखेटे। हुम्लाकै लालबहादुर बोहोरालाई पनि कुष्ठरोगले च्यापेपछि समाजले बहिस्कार गर्न थाल्यो । कुष्ठरोगले छोएपछि उनलाई समाजले बारम्बार तिरस्कार गर्न थाल्यो ।

अति नै भएपछि समाजमा नबस्ने निधो गरे । दुर्गमका नागरिकले अझै पनि कुष्ठरोगको उपचार हुन्छ भन्ने जानकारी पाएका छैनन् । जनचेतना अभावका कारण कुष्ठरोगीलाई समाजले पूर्वजन्मको पापका रुपमा लिने गरेका छन् ।

साइनिङ अस्पताल सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशका दश जिल्लामध्ये जाजरकोटमा सबैभन्दा बढी कुष्ठ रोगका विरामी भेटिएका छन् । तथ्याङक अनुसार जाजरकोटमा चालु आर्थिक वर्षमा १८ जना नयाँ कुष्ठ रोगी भेटिएका छन् ।

सुर्खेतमा १७, रुकुमपश्चिममा १४, सल्यानमा १३, दैलेखमा ११, डोल्पामा २, हुम्लामा २, जुम्लामा ५, कालिकोटमा १० र मुगुमा ३ जना नयाँ कुष्ठरोगका विरामी भेटिएका छन् । मुलुक कुष्ठरोगमुक्त भइसक्दा पनि कर्णाली एक हजार व्यक्तिमा चार जना कुष्ठरोगको संक्रमित छन् ।

एक हजार व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा चार जनामा कुष्ठ रोगको संक्रमण भेटिने गरेको क्षय कुष्ठरोग अधिकृत पदम केसीले बताए । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको तथ्यांक अनुसार गत पाँच आर्थिक बर्षमा मात्रै कर्णालीमा पाँचसय ४६ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् ।

६७ औं कुष्ठरोग दिवसको अवसरमा विहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो तथ्यांक सार्वजनिक गरीएको हो । तथ्यांक अनुसार अधिकांश कुष्ठरोगका विरामी उपचाररत छन् । स्वास्थ्य निर्देशक रीता भण्डारी (जोशी)ले कर्णालीमा कुष्ठरोगीप्रति गरीने व्यवहार अन्त्य तथा रोग न्यूनिकरणका लागि स्वास्थ्य निर्देशनालयले विभिन्न कार्यक्रम गरीरहेको बताइन् ।

तपाईको प्रतिक्रिया