आठलाख घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत : जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्षका श्रीमान् चन्द्रबहादुर बस्नेत आठ लाख घुससहित पक्राउ परेका छन् ।

गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको रकम भुक्तानीको लागि घुस माग गरेका थिए । समितिबाट रकम भुक्तानीका लागि घुस माग गरेको सूचनाका आधारमा अख्तियारले रंगेहात उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार अध्यक्ष केसी वीरेन्द्रनगर–७ कटकुवा नजिकबाट घुस रकमसहित पक्राउ परेको जानकारी दिए । उनी कर्णाली विकास परिषद्को बैठक र राष्ट्रियसभाको मतदानका लागि सुर्खेत आएका थिए ।

समितिले घुस रकम दिने जानकारीपछि विकास परिषद्को बैठक चलिरहदा बैठक छोडेर कट्कुवा पुगेका थिए । उनी स्थानीय निर्वाचनमा पूर्व माओवादीबाट विजयी भएका हुन् । समाजको विकृत, भ्रष्टचार र घुसखोरीको बिरुद्ध बस्नेत तत्कालिन माओवादीले थालेको दशवर्षे बिद्रोहमासमेत पूर्णकालिन रुपमा सामेल भएका थिए ।

त्यस्तै उनीसँगै पक्राउ परेका बस्नेत जुनीचाँदे ११ मा रहेको जनता आधारभुत विद्यालयका शिक्षक हुन् । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यसैबीच निम्न माध्यामिक तह सामाजिक विषयको राहत शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा दैलेखबाट तीन जनालाई अख्तियारले पक्राउ गरेको छ ।

डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपलचौतारा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिका संयोजक भक्तबहादुर शाही, परीक्षामा सहभागी भई छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिकमा छनोट भएका दलबहादुर विकलाई अख्तियारले नियन्त्रणमा लिएको हो । वडा नम्बर ५ का सदस्यसमेत रहेका शाहीले शिक्षक परीक्षा हुनुअघि नै परीक्षार्थीलाई फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र पठाई शिक्षक छनौट गरेपछि पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया