शेर्पालाई हराउँदै थ्रीस्टार शीर्ष तीनमा

ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक  ‘ए’ डिभिजन लिग फुटबकलको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो ।

थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले एक गोल फर्काए । तुलनात्मक कमजोर टिम शेर्पाविरुद्ध खेलको छैटौं मिनेटमा शुसिलले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाएका थिए ।

भारतीय खेलाडी लालरम्मावियाले उपलब्ध गराएको पासमा शेर्पाका डिफेन्डरले क्लियर गर्न नसक्दा शुसिलले गोल गरे । पहिलो हाफमा थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई १–१ को बराबरीमा ल्याए ।

तर, त्यसको एक मिनेटपछि सन्जोगले गोल गर्दै पहिलोहाफमा थ्री स्टार २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा निशान खड्काको पासमा शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गर्दै हाजमतले उत्कृष्ट हेड गोल गर्दा थ्री स्टारले ३१ को सहज जित निकाल्यो ।

खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अंक जोडको छ । शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया