‘पैसा हुन्थेन, अरुले छाडेका किताव जम्मा गर्दै पढ्थें’ : टोपबहादुर मल्ल

कालिकोटमा जन्मिएका टोपबहादुर मल्ल गरिब र वेसहारा बालबालिकासँगै रमाउँछन् । उनीहरुको शिक्षाका लागि निरन्तर लागि परेका छन् । कालिकोटको विटक महावै गाउँपालिका–२ ओदामा बाल्यकाल विताएका मल्लले गरिबी र अभावको निकै समना गरे । एक वर्षको हुँदा बुवा र दश वर्षकै उमेरमा आमा गुमाएका मल्लले बाल्यकालमा धेरै पीडा भोगे । अभिभावकको ममता र बाल्यकालमा आफूले दुख भोगेका मल्लले हाल वीरेन्द्रनगरमा कोपिला भ्याली समाज सेवाबाट विद्यालय सञ्चालन गरिरहेका छन् । जहाँ यस क्षेत्रका आर्थिक अवस्था कमजोर भएका र वेसहारा बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिन्छ । आजको जम्काभेट उनले आफ्नो भोगाइ साँटेका छन् । प्रस्तुत छ कुराकानीको साराशं :

टोपबहादुर मल्ल
(अध्यक्ष) कोपिला भ्याली समाज

 

अभावै अभावमा बाल्यकाल

धर्तीमा पाइला टेकपछि सन्तानलाई अशल र ज्ञानी बनाउने चाहना हरेक अभिभावकको हुन्छ ।

म परिवारको चौथो सन्तान हुँ । मेरा दुइ दिदी र एक दाजु हुनुहुन्छ । जेठो दिदी उपचार नपाएरै म सानो हुँदा वित्नु भएको हो । बाबा भन्न नपाएरै एक वर्षको उमेरमा मैले बुबालाई गुमाएँ ।

अभावै अभावमा मैले जिन्दगी विताएँ । म जति बढ्दै जान्थे उति धेरै समस्याहरु सिर्जना हुन्थे । विकट गाउँमा ऊबेला खान र लाउनकै समस्या हुन्थ्यो । बाल्यकालमा मैले चाहेको जस्तो भएन । अभावमै वित्यो ।

आठ कक्षामा नै पढाइको ब्रेक

पढेर अशल मान्छे बन्ने सपना बुन्थेँ म । तर घरको स्थितिले सोचेका सपना भताभुंग हुन्थे । पढ्न जान्थेँ, तर किताव र कापी किन्ने पैसा हुन्थेन ।

गाउँकै देव प्राथमिक विद्यालयमा पढ्न जान्थेँ । जेनतेन प्रावि तहसम्मको पढाइ पूरा गरेँ । निम्न माध्यमिक तह पढ्न थालेँ । सँगै पढ्ने साथीहरुले पास भएपछि छाडेका किताव र लेखेका कापीहरु संकलन गरेर पढथेँ । साथीहरुले लेखेका कापी र कितावका खाली पाना संकलन गरेर भातको माँडले टालेर कापी बनाएर पढ्न जान्थेँ ।

त्यसरी पढ्दा पनि कक्षामा सधै प्रथम हुन्थेँ । पढ्दा पढ्दै आमा वित्नुभयो । दिदी पनि गुमाएँ । जिन्दगी रित्तो भयो । अघि बढ्ने हिम्मत भएन । आठ कक्षामा नै पढाइको ब्रेक लाग्यो ।

१२ वर्षमै कालापहाड

हगाउँका अधिकांश मान्छेहरु कमाउनका लागि भारत (कालापहाड) जान्थे । कमाएर घर फर्किदा उनीहरुको परिवारमा बेग्लै खुसी छाउँथ्यो ।

नयाँ कपडा लगाएर छरछिमेकका छोराछोरी रमाउँथे । मेरो पनि बुवा भइदिएको भए मलाई पनि नयाँ कपडा ल्याउनुहुन्थ्यो होला भन्ने लाग्थ्यो । भारत नै कमाउने ठाउँ रहेछ भन्ने लाग्यो । भारत गएर फर्कनेहरुसँग सोध्थेँ ‘कसरी जान्छन् भारत ?’ उनीहरुले सहजै भन्थे, ‘दैलेख, सुर्खेत, नेपालगञ्जबाट भारतको रुपैडिया भएर रेल चढ्नुपर्छ ।’

उनीहरुले भनेका कुरा मैले कापीमा टिप्थेँ । पढ्न नपाएपछि कमाउन भारत जाने निर्णय गरेँ । गाउँबाट तीनसय ऋण खोजेर १२ वर्षकै उमेरमा भारत लागेङेँ ।

१७ वर्षमै विहे १

रुपैडियाबाट हरिद्वार पुगेँ । दैनिक ३५ भारु कमाउँथें । खाना नास्ता खर्च गरेर मैले २० रुपैयाँ भारु बचाउँथेँ ।


चार पाँच महिना काम गरेँ । एक हजार आठसय भारु कमाएँ । भारत जाँदा लगेको तीनसय ऋण पनि तिर्न सक्ने भएपछि मैले घर फर्कने निधो गरेँ । भारतमै परिवारका लागि चाहिने सबै कपडा किनेर कालिकोट फर्किएँ ।
पहिलो कमाइले परिवारका सबै सदस्यलाई कपडा ल्याएर दिँन पाउँदा खुशी लाग्यो । घर फर्केपछि पनि पढाइलाई निरन्तरता दिन सक्ने स्थिति भएन । फेरि कमाउन भारत नै जानेक्रम जारी रह्यो । १७ वर्षकै उमेरमा विवाह गरेपछि पनि कमाउन भारत गएँ ।

म्यागीसँगको पहिलो भेट

अमेरिकामा उच्च शिक्षा सकेर खाली समयमा म्यागी डोयन भारतमा मैले काम गर्ने संस्था (बालगृह) ऋषिकेश आएकी थिइन् ।

उनी त्यहाँ आएपछि बालबालिकाहरुसँग खेल्ने, सरसफाइमा गर्ने जस्ता काम गर्दा त्यहाँ पढ्ने बालबालिका पनि अति खुसी भएँ । म त्यहाँ काम गर्दा आफ्नै गाउँका अनाथ बालबालिकाहरुलाई लिएर पढाइरहेको थिएँ । एकदिन म्यागीले सुझाव दिइन्, ‘तपाईँ नेपालबाट यसरी बालबालिका यति टाढा ल्याएर पढाउनुभन्दा उतै यस्तै बालगृह खोल्नुहोस् न ।’

२०५८ सालमा मैले म्यागीलाई नेपाल जाँउ, त्यहाँको वास्तविक चित्र हेरेपछि केही सोचौला भनेँ । उहाँ आउन मान्नुभयो । त्यो बेला हामी कालिकोट पुगेर फर्कियौं । हामी झण्डै एक महिना नेपाल घुमेर फेरि भारत गयौं । त्यसपछि म्यागी र मेरो सल्लाह अब नेपालमै केही ग¥यौं भन्ने भयो ।

उहाँ अमेरिका गएपछि फेरि सम्पर्क भयो । नेपालमै गरिब र असाहाय बालबालिकाका निम्ति म काम गर्न तयार छु भन्ने म्यासेज आयो । १२ वर्षसम्म भारतमा त्यहीँ क्षेत्रमा काम गरेको मेरो अनुभव थियो । कमाएको झण्डै ११ लाख रुपैयाँ मेरो र म्यागीले अमेरिका रहँदा खुत्रुकेमा जम्मा गरेको झण्डै तीन लाख रुपैयाँ लिएर नेपाल फर्कियौं ।

कोपिला भ्यालीको शुरुवात

नेपाल आएपछि कसरी काम गर्ने भन्ने अन्यौल थियो । म्यागी र म बसेर संस्थाको नाम छनौटमा कयौं छलफल भयो । अन्ततः कोपिला भ्याली समाज संस्था दर्ता ग¥यौं ।

शुरुमै स्कुल सञ्चालन गर्न सक्ने स्थिति थिएन । खोर्के खोलामा गिट्टी कुटिरहेका परिवारका बालबालिकालाई पढाउँने अभियान शुरु ग¥यौं । केही बालबालिकाहरु जम्मा गरेर होराइजन स्कुलमा संस्थाको लगानीमा पढाउन थाल्यौं । बालबालिकालाई पूर्ण निगरानी गर्दै हेरचाह गरेपछि विस्तारै हामीप्रतिको विश्वास बढ्दै गयो । पहिलो वर्षमा २५ जना विद्यार्थी पढाएका थियौं ।

पछि संख्या बढ्न थालेपछि कक्षा ८ सम्म अनुमति लिएर विद्यालय सञ्चालन गर्ने निधो ग¥यौं । मुख्यगरी आमा–बुवा दुवै नभएका वा आमा–बुवा मध्ये एक भएका र अति गरिब परिवारका बालबालिकाहरु मात्रै पढाउने नियम बनाएर अघि बढ्यौं । ०६७ सालमा कोपिला भ्याली स्कुल सञ्चालन गरेर आफै पढाउन शुरुवात ग¥यौं । हाल विद्यालयमा चारसय २२ जना विद्यार्थी छन् । एक सय १८ जनाले रोजगारी पाएका छन् ।

तीन विगाह जमिनमा संरचना निर्माण गरेर बालबालिकालाई पढाइरहेका छौं । कक्षा ८ मा पढ्ने बालबालिकाहरुमा बचत गर्ने वानीको विकास गर्न र बालविबाह नगरुन भन्ने हेतुले संस्थाले दश हजारको बचत खाता सञ्चालन गरिदिएका छौं । प्लस टू सम्म निःशुल्क शिक्षा दिँदै आएका छौं ।

अन्त्यमा

कामको अन्त्य कहिल्यै हुदैन । मैले जिन्दगीमा चुनौतीको सामना नगरेको भए यो स्थानमा पुग्ने थिएन । गरिब छु भनेर कहिल्यै हिम्मत हार्नु हुँदैन । जस्ता सुकै परिस्थितिलाई पनि सामना गर्दै अघि बढ्ने हो भने सफलताको शिखरमै अवश्य पुगिन्छ ।

अबको लक्ष्य भनेकै यहाँ आउने बालबालिकालाई राम्रो शिक्षा दिएर रोजगारी पाउन् भन्ने खालको शिक्षा दिने हो । कोपिलामा पढेको हुँ भनेर गर्व गर्न लायक विद्यार्थी उत्पादन गर्नु मेरो संघर्ष हो । यसैमा म आफूलाई सर्मपित गर्नेछु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार