दैलेखमा भत्काइए दुईसय छाउगोठ
दैलेख : गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ ।
गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो ।
दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।
त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी दुईसय ४१ छाउ गोठ भत्काइएको उहाँले जानकारी दिए ।
जिल्लामा सामाजिक कु–संस्कारका रूपमा व्याप्त प्रथा उन्मूलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम गरेको भए पनि मनको छाउ नभत्केको नारायण नगरपालिका– १ दैलेखका समाजसेवी मनोज थापा बताउँछन् ।
पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तक्र्रिया र छलफल गरिएपछि दैलेखमा छाउगोठ भत्काउने अभियान थालिएको हो ।
छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका छन् । तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पूर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा छाउगोठ भत्काइएको छैन ।
