अटोमाथी निगरानी

पछिल्लो सयम अटोरिक्सा बढेका छन् । छोटो दुरीको यात्राका लागि सहज र प्रभावकारी भएका कारण पनि अटोको संख्या बढेको हो ।

सहर, बजार र गाउँमा पनि अटोको संख्या बढेको छ । सडक पुगेको ठाउँमा यसको सुविधा उपलब्ध छ । सार्वजनिक यातायातको साधनहरु मध्ये अटोरिक्सा लोकप्रीय पनि बन्दै गएको छ ।

यो लोकप्रीय हुनुको मुख्य कारण भनेको समयमै उपलब्ध हुनु, चाहेको स्थानसम्म लैजान सकिने र छोटो दुरीका लागि प्रभावकारी भएकाले पनि यसमा यात्रा गर्नेहरुको संख्या धेरै छ । विशेषगरी नगरभित्र यसको उपयोगिता धेरै भइरहेको छ ।

अटोरिस्क्सा सञ्चालनमा आएपछि सर्वसाधारणले यसैबाट यात्रा गर्ने गरिरहेका छन् । यसले सर्वसाधारणलाई यात्रामा सहज र छरितो पनि बनाएको छ । तर पछिल्लो समय यही अटोरिक्सामा गलत कार्यहरु पनि हुन थालेका छन् । जसले अटोप्रतिको विश्वासमा दाग लाग्न थालेको छ ।

लाइसेन्सविना चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दो छ भने जथाभावी सञ्चालन हुने अटोका कारण केही सास्ती पनि हुन थालेको छ । त्यतिमात्र होइन, अटोमा एक्लै पनि यात्रा गर्न मिल्ने भएकाले विशेषगरी किशोरी र महिलाहरु असुरक्षित भइरहेका छन् ।

गत पुस ९ गतेको घटना हो । वीरेन्द्रनगरस्थित बांङ्गेसिमल नजिक अटोरिक्सामै किशोरीमाथि बलात्कार भयो । नगरभित्रै किशोरी अटोभित्रै बलात्कारमा परिन् । चालकले नै बलात्कार गरे । चालकको विश्वास गरेर गन्तव्यमा पुग्न नपाउँदै ति किशोरीले आफ्नो अस्मिता जोगाउन सकिनन् ।

एक्लोपनको मौका छोपेर उनीमाथि बलात्कार भयो । गत असोजमा आफूमाथि सामुहिक बलात्कार भएको भन्दै ११ वर्षीया बालिकाले प्रहरीमा उजुरी दर्ता गरिन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेर मुद्दा चलायो । सो घटनाका दुई जना आरोपितहरु अहिले पनि फरार छन् ।

प्रहरीलाई दिएको उजुरीमा पीडित बालिकाले आफूलाई अटोमा लिएर चालकले नै सामुहिक बलात्कार गराएको उल्लेख गरेकी छन् । यी त प्रहरीमा दर्ता भएका घटना मात्र हुन् । पछिल्लो समय यस्तो धेरै घटना भएका छन् । जो लुकाइएका छन् । अर्थात प्रहरीसम्म पुग्न सकेका छैनन् ।

प्रहरी अधिकारीहरुका अनुसार पनि पछिल्लो समय अटोरिक्सामा अपराधिक क्रियाकलाप हुने गरेका छन् । पछिल्लो घटनाले पनि अटोरिक्सा महिला र किशोरीका लागि सुरक्षित नभएको निष्कर्ष निकाल्न सकिन्छ । अटोरिक्सामै बलात्कारका घटना हुनु जघन्य अपराध नै हो ।

अब अटोमाथि निगारानी आवश्यक छ । श्रृंखलावद्ध रुपमा अटोरिक्सामा भइरहेका बलात्कारका घटना रोक्न र यसलाई नियन्त्रण गर्न अब अटोलाई वीरेन्द्रनगर उपत्यका बाहिर चल्न प्रतिबन्ध नै लगाउन आवश्यक छ । उपत्यकाबाट बाहिरिने तीन वटा नाका बांगेसिमल, कपासे र सुब्बाकुनाबाट कुनै पनि अटो रिक्सालाई बाहिर जान रोक्ने हो भने पनि यस्ता घटना रोक्न सकिन्छ । उपत्यका बाहिर जंगल र एकान्तमा लैजाने र अटोभित्रै बलात्कार गर्ने प्रवृत्ति रोक्न प्रहरीले अटोमाथि अब निगरानी बढाउनै पर्दछ ।

तपाईको प्रतिक्रिया