क्रिकेटरको तलब बढाउने तयारी
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने तयारी गरेको छ ।
क्यानले आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बनाउने गृहकार्य थालेको छ ।
गत महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो । तर, खेलाडीको तलबमा कति वृद्धि गर्ने भन्ने बिषयमा अर्को बैठकको छलफलबाट टुंगो लाग्नेछ ।
‘खेलाडीको नयाँ ग्रेडिङ गर्दै तलब बढाउन पर्छ भनेर यस अघिको बैठकमा छलफल भएको छ,’ क्यानका एक पदाधिकारीले भने, ’हामीले मात्र चाहेर हुँदैन । यसमा आईसीसीको सहमति पनि चाहिन्छ । अबको बैठकले वृद्धि गर्नेबारे छलफल हुनेछ ।’ अमेरिका र ओमानसँगको खेल अघि भने खेलाडीको तलबमा वृद्धि गर्ने
बिषयमा छलफल हुने छैन । क्यान निलम्बन फुकुवापछि पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अफिसियल खेल आयोजना गर्ने जिम्मा पाएको क्यान सिरिजलाई सफल पार्न चाहान्छ ।
