विदेश गएका सात हजार युवा बाकसमा फर्किए

काठमाडौं : सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा नेपालबाट काम खोज्दै ३८ लाख ५८ हजार ४६५ जना नेपाली युवा विदेसिए । त्यसमध्ये ७ हजार ३८४ जनाको जीवनलिला विदेशी भूमिमै समाप्त भयो ।

अवैध बाटो भएर विदेश पुगेका र श्रम स्वीकृति नवीकरण नगरी बसेकामध्ये कतिले उतै ज्यान गुमाए भन्ने विवरण यो तथ्यांकले समेटेको छैन । वैदेशिक रोजगार विभागकाअनुसार जति नेपाली विदेशिन्छन्, त्यही मात्रामा मृत्युदर घटबढ हुने सिलसिला चलिरहन्छ ।

तीन वर्षयता विदेशिनेको संख्या घट्दा मृत्युदर पनि घटेकै देखिन्छ । सरकारी अभिलेख हेर्दा पनि आर्थिक वर्ष २०६६/०६७ यता श्रम बजारमा आएका नयाँ युवामध्ये औसतमा दैनिक एक हजार ५८ जना विदेश लागेको देखिन्छ । त्यसमध्ये औसतमा दैनिक दुई जना काठको बाकसमा फर्किन बाध्य छन् ।

अवैध हैसियतमा विदेशमा रहँदा बितेकाहरु पनि जोड्ने हो भने यो संख्या औषत दैनिक तीन जना पुग्ने श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् । विदेशमा गम्भीर प्रकृतिको बिरामी, घाइते र अंगभंग भएर फर्किने नेपाली युवाको संख्या लाश भएर आउनेको भन्दा बढी छ ।

बढी कामदार विदेश गएको वर्ष यो संख्या त्यही अनुपातमा बढ्ने गरेको पाइन्छ । गएको १० वर्षमध्ये आव २०६६/०६७ मा सबभन्दा कम ४१९ जना नेपाली कामदारको मृत्यु विदेशमा भएको थियो । त्यो वर्ष विदेसिनेको संख्या दुई लाख ८४ हजार थियो । आव २०७१/०७२ मा सबभन्दा बढी एक हजार ६ जना नेपाली युवा बाकसमा फर्किए । त्यो आवमा पाँच लाख १२ हजार कामदार विदेसिएको तथ्यांक छ ।

गत १० वर्षका बीचमा सबभन्दा धेरै पाँच लाख २७ हजार नेपाली आव २०७०/०७१ मा विदेसिएका थिए । त्यो वर्ष ८७७ जना कामदारले विदेशमै ज्यान गुमाए ।

कुन वर्ष कति ?

गत आव (२०७५/०७६) मा आठ सयभन्दा बढी नेपाली कामदार काठको बाकसमा घर फर्किए ।

वैदेशिक रोजगारीमा जानेको मृत्यु हुँदा क्षतिपूर्ति दिलाउने वैदेशिक रोजगार बोर्डको सचिवालयले एक वर्षका बीचमा ७५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको देखिन्छ ।


अवैध रुपमा विदेश गएर मृत्यु हुने कामदारको संख्या पनि जोड्दा मृतक संख्या आठ सयभन्दा माथि पुग्ने अनुमान छ ।
बोर्डको तथ्यांकअनुसार गत अवमा ७३० पुरुष र २३ जना महिला कामदारले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाए ।

यो संख्या आव २०७४/०७५ को भन्दा अलिकति थोरै हो । त्यो वर्ष विदेशमा आठ सय पुरुष र २१ जना महिलाको मृत्यु भएको थियो । कामदारको धेरै मृत्यु हुने देशमा मलेसिया अगाडि देखिन्छ । गत वर्ष मलेसियामा २२९ जना नेपाली कामदारले ज्यान गुमाए ।

त्यसभन्दा अघिल्लो वर्ष यो संख्या २८९ थियो । मृतक संख्या घटे पनि नेपाली कामदारको लागि असुरक्षित गन्तब्य सूचीको मलेसिया पहिलो नम्बरमा छ । यो वर्ष निकै कम कामदार मलेसिया गएकाले मृत्यु संख्या घटेको हो । गत वर्ष वैदेशिक रोजगारीमा जाने कुल नेपालीको संख्यामा ३३ प्रतिशतले गिरावट आएको थियो ।

मृत्युको कारण

विदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ (हृदयघात)का कारण ज्यान गुमाएको तथ्यांकले देखाउँछ । वर्षौंदेखि नै यो समस्या छ ।

दिनभर बाहिर गर्मीमा काम गरेर कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेको कार्डियोलोजिष्ट मिलन प्रकाश श्रेष्ठ बताउँछन् ।

त्यसैगरी, मादक पदार्थका रुपमा विभिन्न केमिकल मिसाएर खाने, एकैपटक धेरै रक्सी सेवन गर्ने लगायतका कारण पनि हृदयाघात हुने गरेको डा. श्रेष्ठको भनाइ छ । ‘कामको दबाब, मानसिक तनाव, असन्तुलित दैनिकी आदिका कारण पनि राति ठीकठाक सुतेकाहरु विहान मृत भेटिन्छन्’, उनी भन्छन् ।

त्यस्तै, ट्राफिक नियम जान्न र पालना गर्न चासो नदिने आनीबानीले गर्दा पनि नेपालीहरुले सडक दुर्घटनामा मृत्यु अंगाल्नुपरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार