अटोरिक्सामै हुन्छ किशोरी र महिलामाथि बलात्कार !

सुर्खेत : घटना १
गत पुस ९ गतेको घटना हो । वीरेन्द्रनगरस्थित बांङ्गेसिमल नजिक अटोरिक्सामै किशोरीमाथि बलात्कार भयो ।

रोकी राखेको अटोरिक्सा प्लाष्टिकले छोपेको अवस्थामा थियो । अटो हल्ली रहेको देखेपछि गस्तीमा गएको प्रहरीको टोली त्यहाँ पुग्यो । जहाँ एक अशक्त किशोरीमाथि अटो चालक अम्मरबहादुर विकले बलात्कार गरिरहेका थिए ।

प्रहरीले विकलाई पक्राउ गरेर मुद्दा दर्ता ग¥यो । अनुसन्धानका क्रममा पीडित किशोरीले पिउने पानीमा वेहोस हुने औषधी खुवाएर आफूलाई अटोमै बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना २
सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकामा गत साउनमा दुई युवकले स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरे । बिरामी अवस्थामा रहेकी ती युवतीलाई ‘ज्वरोको औषधी हो खाउ’ भन्दै उनीहरुले यौन उत्तेजना बढाउने औषधि खुवाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारको यो घटना पनि हाल प्रहरीमा दर्ता भएको छ ।

घटना ३
वीरेन्द्रनगरको कालुञ्चोकमा पनि सामुहिक बलात्कारको घटना भयो । दुइ युवाले एक युवतीलाई होटलमा लगेर सामुहिक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको छ । उजुरीमा पीडितले आफूलाई प्रलोभन देखाएर होटलमा बलात्कार गरेको उल्लेख गरेकी छन् ।

घटना ४
गत असोजमा आफूमाथि सामुहिक बलात्कार भएको भन्दै ११ वर्षीया बालिकाले प्रहरीमा उजुरी दर्ता गरिन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेर मुद्दा चलायो । सो घटनाका दुई जना आरोपितहरु अहिले पनि फरार छन् । प्रहरीलाई दिएको उजुरीमा पीडित बालिकाले आफूलाई अटोमा लिएर चालकले नै सामुहिक बलात्कार गराएको उल्लेख गरेकी छन् ।

माथि उल्लेखित घटनाहरु जिल्लामा भएका बलात्कारका प्रतिनिधिमुलक घटना हुन् । बढ्दो शहरीकरण र आर्थिक प्रलोभनका कारण बलात्कारका घटना बढ्दै गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सामान्य चिनजानबाट विस्तारै नजिकीने र त्यसपछि बलात्कृत हुने घटना भइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो समय अटोरिक्सा नै किशोरीका लागि असुरक्षित बनेको प्रहरीको भनाइ छ । अटोमा चढाउने र एक्लै भएको मौकामा निःशुल्क घुमाइदिने बहानामा चालकले नै जंगल र एकान्तमा लगेर बलात्कार गर्ने घटना बढेको प्रहरीले जनाएको छ ।

अटोरिक्सामा चढाएर वीरेन्द्रनगर नजिकका जंगलमा पु¥याएर बालिका, किशोरी र महिलामाथि बलात्कार गर्नेक्रम बढेको प्रहरीको भनाइ छ । चिनेजानेका, आफन्त, नक्कली प्रेमी र कतिपय अवस्थामा परिवारका सदस्यबाटै बालिका तथा किशोरीहरु बलात्कृत हुने गरेको अनुसन्धानले देखाउँछ ।

सामाजिक संजालको दुरुपयोग र विवाह गर्ने बहनामा पनि बालिका र किशोरीमाथि बलात्कार भइरहेको तथ्य प्रहरीसँग छ ।

६ महिनामा बलात्कारका ४८ घटना

सुर्खेतमा पछिल्लो समय जवर्जस्ती करणी र उद्योगका घटनाहरुमा बढेका छन् ।

पछिल्लो साढे तीन वर्षको अवधिमा मा दुइ सय चार वटा बलात्कार सम्वन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । यी घटनामा दुइ सय ६ जना अभियुक्त पक्राउ परेका छन् । आर्थिक वर्ष ०७३/०७४ मा सुर्खेतमा ३४ मुद्दामा ३२ जना आरोपित पक्राउ परेका छन् ।

यी मध्ये जवर्जस्ती करणीतर्फ २६ र जवर्जस्ती करणी उद्योगतर्फका आठ मुद्दा हुन् । यस्तै आर्थिक वर्ष ०७४/०७५ मा ३६ मुद्दामा ३७ जना पक्राउ परेका छन् । जसमध्ये जवर्जस्ती करणीका २३ र उद्योगतर्फ १३ मुद्दा छन् । आर्थिक वर्ष २०७५/०७६ मा ८६ मुद्दामा ८६ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ४८ मुद्दामा ५१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अटोरिक्सामा निगरानी बढाएका छौं

रवी रावल,
डीएसपी, जिल्ला प्रहरी कार्यालय सुर्खेत

बलात्कारका घटना एकपछि अर्को गर्दै बढ्नुको प्रमुख कारण चिनजान र आर्थिक कारण जोडिन्छ । आर्थिक प्रलोभनमा पारेर बालिका, किशोरी र महिलामाथि बलात्कार हुने गरेको अनुसन्धानबाट देखिन्छ ।

बलात्कारका घटना न्यूनिकरण गर्न हामीले पनि विभिन्न जनचेतनामुलक अभियानहरु सञ्चालन गरिहेका छौं । कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी पनि भएकाले सबैको सहयोगमा अभियान जारी राखेका छौं ।

बालिका, किशोरी र महिलाहरुलाई यौनजन्य हिंसाबाट जोगाउने र सुरक्षित राख्न घटना भएमा वा नभएको बेला पनि प्रहरी कटिवद्ध छ । श्रृंखलावद्ध रुपमा अटोरिक्सामा बलात्कारका घटना बढेपछि अहिले प्रहरीले वीरेन्द्रनगर उपत्यका बाहिर चल्न रोक लगाइएको छ ।

उपत्यकाबाट बाहिरिने तीन वटा नाका बांगेसिमल, कपासे र सुब्बाकुनाबाट कुनै पनि अटो रिक्सालाई बाहिर जान नदिनका लागि हामीले सर्कुलर नै जारी गरिसकेका छौं ।

तपाईको प्रतिक्रिया