दुल्लूको ऐतिहासिक सभ्यता जोगाइ राख्छौं : मेयर भण्डारी

बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू नगरपालिका खस राज्यको शितकालिन राजधानी हो । तत्कालिन खस राज्यको राजधानी जुम्लाको सिंजा उपत्यका र शितकालिन राजधानी दुल्लूमा रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख छ । विभिन्न शिलालेखहरुमा समेत यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख गरीएको छ । मानव उत्पत्तिसँगै खस भाषा र सभ्यताको विकासपछि जुम्लाको सिंजा र दैलेखको दुल्लूक्षेत्रको ऐतिहाँसिक सभ्यता पनि विश्वमै फरक छ । तर नेपाल एकिकरणपछि दुल्लूको ऐतिहासिक सभ्यता ओझेलमा पर्दै गएपनि संघीय संरचनापछि यस क्षेत्रको विकास तिब्र गतिले अघि बढेको छ । दुल्लू नगरपालिका प्रमुख घनश्याम भण्डारी समृद्ध दुल्लू नगरपालिकाको परिकल्पना सहित यहाँको पूर्वाधार विकाससंगसँगै दुल्लूको ऐतिहाँसिक सभ्यता पनि जोगाइ राख्ने बताउँछनन् । प्रस्तुत छ, उनीसँग गरीएको कुराकानी साराशं ।
घनश्याम भण्डारी
(मेयर, दुल्लू नगरपालिका, दैलेख)

दुल्लूको ऐतिहासिक सभ्यता के हो ?

पुर्खाको पालादेखि दुल्लू एक छुट्टै राज्य थियो । यहाँ आफ्नै अलिखित कानून लागू हुन्थ्यो ।

दुल्लू राज्यका राजा पनि शक्तिशाली थिए । मानव उत्पतिसँगै जुम्लाको सिंजाबाट खस भाषा र सभ्यताको पनि विकास भयो । त्यही खष भाषा र सभ्याताको विकास गर्ने व्यक्तिहरु ६ महिना दुल्लू र ६ महिना सिंजामा बस्थ्ये ।

त्यतिबेला यो राज्य आफैमा आत्मनिर्भर थियो । नेपाल एकिकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएता पनि वि.सं. २०१८ सम्म यो छुट्टै राज्यको रुपमा रहेकै थियो ।

तत्पश्चात दुल्लू राज्य विघठन भएर दैलेख जिल्लामा गाभिएको थियो । पछि दुल्लू राज्यका सबै दराहरुलाई बाँडेर तत्कालिन गाउँ पञ्चायत बनाइयो । पछि वि.सं. २०७१ बैसाख २५ गते दुल्लू आसपासका ६ वटा गाविसहरु समायोजन गरी दुल्लू नगरपालिका घोषणा भई २०७१ जेष्ठ ५ गते विधिवत रुपमा स्थापना भयो ।

यसरी राज्य पुनरसंरचनाको क्रममा २०७३ साल फागुन २७ गते साविकका चार गाविसहरु समायोजनगरी दुल्लू नगरपालिकाको क्षेत्र विस्तार भयो । यसरी आफ्नै इतिहाँस बोकेको दुल्लू नगरपालिकालाई आगामी दिनमा पनि एक छुट्टै पहिचानसहितको नगर निर्माणमा लागेका छौँ ।

तपाइँ निर्वाचित भएपछि नगरको विकासका लागि के–के गर्नुभयो ?

यो हामिले भन्नुभन्दा जनताले बुझ्ने कुरा हो । यसको परिणाम आगामी निर्वाचनले पनि देखाउने छ । यदी हामीले राम्रो गरेका रहेछाैँ भने आगामी चुनाव अवश्य जित्छौँ ।

तर जनताको न्यूनतम अपेक्षा पनि पूरा गर्न सकिएन भने हामी आफैँ फेल र हुने हो । तै पनि म निर्वाचित हुनु पूर्वको नगरपालिका र अहिलेको नगरमा धेरै फरक छ । म निर्वाचित भएपछि १३ मध्य हालसम्म १२ वटा वडा कार्यालय स्थापना गरेर सेवा दिन सुरु गरेका छौँ । स्थास्थ्य चौकी निर्माण भएका छन् ।

प्रदेशमै पहिलो पटक आफ्नै अस्पताल सञ्चालनमा ल्याएका छाैँ । पहिलेको एकसय २२ किलोमिटर सडक काटिएकोमा अहिले दुई सय ५० किलोमिटर सडक बनाएका छौँ । प्रदेशकै ठुलो पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लूमा स्थापना गरेर कोर्ष सुरु भएको छ ।

प्राकृतिक स्रोत व्यवस्थापन विश्वविद्यालय स्थापनाको लागि काम अन्तिम चरणमा पुगेको छ । आगामी आर्थिक वर्षबाट बिएसी एजीको कक्षा सञ्चालन गदैछौँ । यसरी म निर्वाचित पछि भएका धेरै परीवर्तनले जनतामा पनि उत्साह जागेको मेरो ठम्याई छ । ६ वटा ठुला र ४० वटा मझौला खालका खानेपानी आयोजना सञ्चालनमा छन् ।

कर्णालीको पानी तानेर स्थानीयलाई खुवाउने गरी प्रदेश सरकारको सहयोगमा थप दुई ठुला खानेपानी आयोजना निर्माणको काम टेण्डर प्रक्रियामा छ । जातीय विभेद, बाल बिवाह घट्दै गएको छ । छाउगोठ भत्काउने अभियान जारी छ ।

अहिले नगरपालिकाका सबै वडा सडकको पहुँचमा छन् त ?

नगरपालिकामा सबै भन्दा छिटो सडककै पहुँच बृद्धि भएको छ । १३ वटै वडामा सडक पुगेको छ । चार वटा राष्ट्रिय राजमार्गले छोएका छन् ।

यसरी हाम्रो नगरपालिका भित्रमात्रै करिव २ सय ५० किलोमिटर सडक काटिएको छ । जसमा पुस्पलाल मध्यपहाडी लोकमार्गको १६ किलोमिटर सडक वडा नम्बर ८ र ९ क्षेत्रभित्र पर्छ । कर्णाली राजमार्गको करीब २२ किलोमिटर सडक वडा नम्बर १,२ र ३ भित्र पर्दछ ।

नेपाल सरकारले राष्ट्रिय राजमार्गको रुपमा घोषणा गरेको तल्लो डङ्गेश्वर, दुल्लू, पिपलकोट राजमार्गको ३० किलोमिटर सडकखण्ड वडा नम्बर १,५,७ र ८ मा पर्छ । संघीय सरकारको माथिल्लो डुङ्गेश्वर, व्याउली नाग्म सडक खण्डको ३० किलोमिटर सडक वडा नम्बर ५,६,८,११ र १२ मा पर्छ ।

यो सहित सबै वडामा नगरपालिका र जिल्लाले बनाएको २ सय ५० किलोमिटर सडकको ट्रयाक खुलेको छ । यी सबै सडक स्तोरोन्नती र कालोपत्रेको काम गर्ने योजना छ । यसरी सबै वडामा सडक पुग्दा एम्बुलेन्स तथा सवारी सञ्चालनमा सहज भएको छ । तर कच्चि सडक भएकाले वर्षामा हिलाम्य हुदाँ सकस हुन्छ ।

कृषि र मासुजन्य क्षेत्रमा नगरपालिका आत्मनिर्भर छ की छैन ?

कृषिजन्य वस्तुमा हामि धानमा मात्रै आत्मनिर्भर छैनौँ । तरकारी, फलफुल, मकै, गहुँ निर्यात गर्ने अवस्थामा छाैँ ।

कृषि क्षेत्रका संम्भावना र अवसरका आधारमा केही नयाँ कार्यक्रम सञ्चालन गरीरहेकोले केहि बर्षभित्र हामी कृषिमा पनि पूर्ण आत्मनिर्भर हुन्छाैँ जस्तो लाग्छ । तर मासुजन्य क्षेत्रमा हामी आत्मनिर्भर छौँ ।

बोईलर र खसिबोकाको व्यवसायिक पालनले नगरपालिका मासुमा पूर्ण आत्मनिर्भर बनेको हो । नगरबासी पनि जेमा फाईदा हुन्छ, त्यही व्यवसाय अपनाउन थालेपछि मासु उत्पादन बढेको छ ।

दुग्द्यजन्य पदार्थ उत्पादनका लागि पनि हामीले पशुपालनमा जोड दिएका छौँ । भने बजारको माग अनुसार केरा, सुन्तला लगाएतका फलफुल पनि उत्पादन भइरहेका छन् । व्यवसायिक खेतिले युवालाई स्वरोजगार बनाएको छ ।


कामका लागि भारत छिर्ने युवाहरुको संख्या पनि धेरै भएकाले हामी यसलाई पनि कसरी रोक्न सकिन्छ भन्ने बिषयमा छलफलमै छाैँ ।

दुल्लू पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । तर पर्यटन पूर्वाधार विकास हुन सकेको छैन, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पर्यटकका लागि कर्णाली प्रदेशकै घुम्नैपर्ने ठाउँ दुल्लू क्षेत्र पनि हो । त्यसैले पर्यटन पूर्वाधार विकासमा हामीले जोड दिएका छौँ ।

दुल्लू ज्वाला सभ्यता र सिंजा सभ्यताको केन्द्र भएकाले यहाँ आउने पर्यटक पनि बढ्दै गएका छन् । हामिसँग पञ्चकोशी ज्वाला क्षेत्र पनि छ ।  भाषाको पहिलो अभिलेख छ । भने ३२ वटा जातजातीको उद्गम स्थल पनि दुल्लूक्षेत्र भएकाले पर्यटकीय सम्भावना त धेरै छन् ।

तर यसलाई व्यवस्थापन गर्न पूर्वाधार विकासमा हामिले जोड दिएका छौँ । पर्यपर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, द्वोन्द्व पर्यटन र जल पर्यटनको सम्भावना भएकाले दुल्लू सांस्कृतिक संग्राहलय र पर्यटन सांस्कृतिक संग्राहलय निर्माणको चरणमा छाँै । दुई वटा होमस्टे सञ्चालन गरेका छाैँ ।

भने पर्यटकको संख्या बढेका थप होमस्टे सञ्चालन गर्नेछाैँ । दुल्लूमा पेट्रोल उत्खनन् गर्न अन्वेषण पनि भइरहेको छ, यसले नगरपालिकालाई के के फाइदा पुग्ला ?

यो अनुसन्धान र अन्वेशण मात्रै हो । पेट्रोल उत्खनन् होला जस्तो लाग्दैन । तत्कालिन राजा वीरेन्द्रले पनि त २०४२ मा पेट्रोल उत्खनन्को लागि अन्वेशण गरेका थिए ।

२०५१ मा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसादले पनि पेट्रोल उत्खनन्का लागि अन्वेशण गराए । तर यो अन्वेशणमै सिमति भयो । त्यसैले यो पटक पनि अन्वेशणपछि पेट्रोल उत्खनन् होला जस्तो लाग्दैन ।

यो अध्ययनको काम मात्रै हो । यदी पेट्रोल उत्खनन् भयो भने नगरपालिकाका धेरै युवाले रोजगार पाउनेदेखि नगरपालिकाको आन्तरिक आम्दानी पनि बढ्छ ।

बेरुजु रकम पनि भ्रष्टाचार हो भनिन्छ, दुल्लूमा यसको अवस्था के छ ?

आरोप लगाउने कुरा त्यो आफैमा गलत छ । भ्रष्टाचार के हो भन्ने कुरा नबुझी बेरुजुलाई भ्रष्टाचार भन्ने चलन छ ।

तर दुल्लू नगरपालिकाको कोही पनि जनप्रतिनिधिले भ्रष्टाचार गरेका छैनन् । हामि विधिको शासनमै चलेका छाैँ । यहाँ ८६ जना जनप्रतिनिधि छन् ।

उनीहरुको तलब मात्रै दुई करोड २२ लाख पुग्छ । साविकको गाविसमा कार्यरत कर्मचारी हामिसँग यथावत छन् । उनीहरुको तलब मात्रै ६२ लाख पुग्छ ।

यसरी नगरपालिकाले भर्ना गरेका कर्मचारीको तलबलाई पनि बेरुजु देखाउँछ । भने के लाई भ्रष्टाचार भन्ने ?
कर्मचारी नराखी सुख छैन । भएका कर्मचारी हटाउने हो, भने काम हुदैन ।

लोकसेवाबाट नयाँ कर्मचारी आएका छैनन् । अर्को कुरा उपभोक्ता समितिले डोजर लगाएर खनेका बाटोको भ्याट बिल छन् । त्यसलाई पनि बेरुजु देखाएको छ । त्यसैले बेरुजु र भ्रष्टाचार फरक हो ।

यसलाई भ्रष्टाचार भन्न मिल्दैन । यो जायज हो । करार सेवामा कर्मचारी नराखी काम हुने सम्भावना छैन । सरकारले स्थायी कर्मचारी पठाउँदैन । तर सैद्धान्तीक बेरुजु भने घटाउँदै जानुपर्छ ।

त्यसैले कर्मचारी र जनप्रतिनिधिले लोभ राखेनन् भने भ्रष्टाचार पनि र काम गर्न पनि सहज हुन्छ र नागरिकले प्रभावकारी सेवा पाउँछन् । हामि यहि विकल्पसहित अघि बढेका छौ ।

अन्तमा, केही भन्नु छ ?

विकासका लागि गर्न पर्ने काम त कहिल्यै अन्त्य हुँदैन । समय र आवाश्यकताका आधारमा काम गर्दै जानुपर्छ ।

नागरिकका आधारभुत आवाश्यकतासँग जोडिने सबै क्षेत्रमा सुधार ल्याउने काम जारी रहनेछन् । सबै वडावडाका सडक कालोपत्रे गरीने छ । संस्कृति संरक्षण गर्दै दुल्लू नगरपालिकाका मूर्त, अमूर्त कला संस्कृति, सभ्यता र पुरातात्तिक सम्पदा संरक्षण गरीनेछ ।

मेरा गतिविधि नगर प्रमुख हुदाँ र नहुदाँ पनि जारी राख्नेछु । त्यसैले नागरिकले पनि अधिकार माग्नुका साथै कर्तव्य पनि पालना गर्नुपर्छ । सँधै हाम्रो स्थानीय सरकार र जनप्रतिनिधि खराब भनेर मात्रै हुदैन । त्यसैले सोच परीवर्तन गरौ । नागरिकको साथविना कुनै पनि काम गर्न सकिदैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार